बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युगकवि सिद्धिचरण श्रेष्ठलाई सम्झिदा

युगकवि सिद्धिचरण श्रेष्ठलाई सम्झिदा


  • याम बहादुर थापा मगर
  • जेष्ठ ९ २०८२, शुक्रबार

सिद्धिचरण शब्दको बीउ रोप्ने किसान हुनुहुन्थ्यो ।
माटो उहाँको कविता थियो, जसमा सामाजिक न्याय अंकुराउँथ्यो ।
राणाशासनको कालो आकाशमुनि, जब बोल्नै नपाइने दिन थियो,
त्यति बेलै उहाँको कलमले विद्रोह लेख्न थाल्यो ।
शब्द होइन, जागरण लेखियो ।

सिद्धिचरण-सिर्जनामा क्रान्तिको मुहान ।
उहाँका कवितामा राजदरबारको चकमक छैन,
जनताको आँसु छ, रगतको रेखा छ,
भोकको हुंकार छ, र बिरोधको बल छ ।
उहाँले लेखेको ‘ओखलढुंगा’ एउटा ठाउँ होइन,
त्यो त जनताको मुटु हो-जहाँ दुखाइ शब्दमा रूपान्तरण भएको छ।

साहित्य उहाँका लागि सौन्दर्य मात्र होइन,
सत्यमाथि उभिएको सङ्घर्ष थियो ।
उहाँले प्रेम गरे-प्रकृतिसँग,
राग गरे-वर्षासँग, चन्द्रमासँग, पहाडको हावासँग।
तर त्यो प्रेम पनि निष्क्रिय थिएन,
त्यो प्रेमभित्र विद्रोहको बीउ थियो ।

नेपाली कविता जहाँ परम्परागत छन्दमा निदाएको थियो,
उहाँले त्यसलाई झकझक्याउनुभयो ।
स्वतन्त्र भाव, नयाँ सोच, बोल्न डराउने आवाज लिएर ।
उहाँको कविताले नेपाली साहित्यको नयाँ बिहान ल्यायो,
जहाँ न कविता बाँधिएको थियो, न विचार ।

सिद्धिचरण क्रान्तिका प्रवर्तक मात्रै होइनन्,
उहाँ सामाजिक न्यायका पक्षधर,
प्रकृतिप्रेमी कवि, अनि
नयाँ युगका उद्घोषक हुनुहुन्छ ।

कोपिला र मेरो प्रतिविम्व कविता सङग्रह
कुहिरो र घाम तथा तिरमिर तारा लेखेर
बाँचिरहेके आवाज र प्रतिनिधि कविताहरु लेखेर
उर्वशी र आँसु खण्डकाव्य मार्फत
ज्यानमारा शैल र मगलमान किताब कोरेर
आज पनि उहाँका कविताहरू
कक्षा कोठामा होइन,
हाम्रो विवेकमा बजिरहेछन् ।
बोल्न नसकेका जनताको स्वर बनेर ।

बागलुङ १० भकुण्डे धौलेचउर बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->