आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनभिए कप भलिबल : पाकिस्तानी तीन खेलाडी जसले गण्डकीलाई अपराजित बनाइरहे

एनभिए कप भलिबल : पाकिस्तानी तीन खेलाडी जसले गण्डकीलाई अपराजित बनाइरहे


  • विजय नेपाली
  • जेष्ठ १० २०८२, शनिबार

पछिल्लो समय नेपाली भलिबलमा निकै बलियो टिम बनेको छ नेपाल पुलिस क्लब । गत माघमा पोखरामा सम्पन्न पाँचौ टाइगर कप भलिबलमा गण्डकी प्रदेशलाई फाइनलमा ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको थियो । हालै बैशाखमा पोखरामै सम्पन्न प्रथम लायन कपमा समेत पुलिस उपविजेता बनेको थियो ।

पुलिस बलियो टिम हो पोखरामा हाल नवौं संस्करणको पिएमकप एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिता चलिरहेको छ । जारी प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेशले शनिबार नेपाल पुलिसालाई ३–० को सोझो सेटमा हरायो । गण्डकीको जितमा तीन पाकिस्तानी खेलाडी ऐमल खान, अदनान खानल र वाकर खानको भूमिका महत्वपूर्ण रह्यो । पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट २५–२२ ले नै आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट भने निकै रोमाञ्चक बनेपनि गण्डकीले आफ्नै पक्षमा राख्यो । एक समय १९–१८ को स्थितिबाट पुलिसले अग्रता लिदैँ १९–२० को स्थितिमा पु¥याएको थियो । त्यसपछि खेल २३–२३ को बराबरीमा पुगेको थियो । तर गण्डकीले अन्तिममा पुलिसलाई रोक्दै २५–२३ को साथ सोझो सेटमा हराउन सफल हुँदा वाकर खान खेलको प्लेयरअफ दी म्याच समेत घोषित भए ।

ऐमल र अदनान यसअघि नै नेपाल आएर भलिबल प्रतियोगिता खेलिसकेका खेलाडी हुन भने वाकर नयाँ खेलाडी हुन् । वाकर बाहेक दुवै जना यसअघि हेल्प नेपालबाट खेलेका खेलाडी समेत हुन् । पाकिस्तानको राष्ट्रिय टोलीको कप्तानीसमेत गरिसकेका ऐमलले सातौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा हेल्प नेपाललाई च्याम्पियन बनाउँदा सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए । उनले माघमा पोखरामै भएको पाचौं टाइगर कप भलिबलमा पनि हेल्प नेपालबाट खेलेका थिए । उनी गण्डकीको प्रमुख स्पाइकरको रुपमा खेलिरहँदा उनलाई कप्तान सञ्जुविक्रम शाहले साथ दिइरहेका छन् ।

अदनान खान सेटरको भूमिकामा छन् । आउटसाइड हिटर वाकरले टिमको मिहेनतले नै पुलिस विरुद्ध जित हासिल गरेको सुनाए । ‘हाम्रो टिमले निकै मिहेनत गरेको छ त्यसैले हामीले जितेका छौं । हाम्रो ऐमल खानले अझ राम्रो खेले उनले टिमलाई निकै सहयोग गरे त्यसैले हामीले जितेका हौं’ उनले भने, ‘म पहिलो पटक आएको हुँ यहाँ आएपछि मलाई थाहा भयो की पाकिस्तानीलाई पनि कति माया गर्ने रहेछन् भनेर, म थोरै विस्तारै खेल्छु तर, खाली ठाउँ हेरेर हान्ने गर्छु । बाकी त खेलअनुसार खेल्छु र टिमका लागि अंक ल्याउने गर्छु ।’

आर्मी पनि बलियो टिम भएको उनले सुनाए । पुलिसले पछिल्लो समय यहाँको सबै खाले प्रतियोगिता जितिरहेको कारण त्यो टिमसंग अझ राम्रो खेल्नुपर्ने भएकाले आफुले पनि राम्रो खेलेको उनको भनाइ थियो । पुलिससंग राम्रो नखेलेको भए जित हासिल गर्न मुस्किल पर्ने उनले सुनाए । गण्डकीको यो लगातार तेस्रो जित हो । गण्डकीले यस अघि कोशी प्रदेश र आर्मीलाई हराएको थियो । राउन्डरोविन लिगको आधारमा खेलाइएको खेलमा हरेक टिमले कुल सात खेल खेल्नेछन् । गण्डकीले अझै चार खेल खेल्ने छ । लिगको फाइनलमा तालिकाको शीर्ष दुई टिमले सामना गर्नेछन् ।

पुरुषतर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द क्लबलाई ३–२ को सेटमा हराएको छ । पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो सेट २५–२३ ले जित्यो । तेस्रो सेट २५–२७ ले गुमाउँदा चौथो सेटमा २५–२२ को जित हासिल ग¥यो । पाँचौ सेटमा आर्मीले १५–१० को जित हासिल गर्दै पहिलो जित दर्ता गराएको हो ।

उता महिलातर्फ टिप टप न्यु डायमन्ड स्पोर्टस क्लबले लगातार दोस्रो जित निकालेको छ । डायमन्डले एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेट २१–२५ ले गुमाएको डायमन्डले दोस्रो सेटबाट लय समात्यो । रोमाञ्चक बनेको दोस्रो सेट २५–२३ आफ्नो पक्षमा पारेको डायमन्डले तेस्रो २५–१४ र चौथो २५–२२ ले हराउँदै पुनरागमन जित हासिल गरेको हो । एभरेष्टको यो दोस्रो हार हो । तीन खेल खेलेको एभरेष्टले १ जित हातपार्दा दुई खेलमा हार व्यहोरेको हो ।

त्यसअघि भएका खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो । एपिएफले २५–७, २५–२३ र २५–२० ले हराउँदै दोस्रो जित निकालेको हो । उता आर्मीको भने यो दोस्रो हार हो । एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो। आर्मीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा एभरेष्ट सँग पराजित भएको थियो । यस्तै पुलिसले कर्णालीलाई सोझो सेटमा हरायो । पुलिसले २५–५, २५–९ र २५–११ को सहज जित निकालेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->