पोखरा/नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा आज गण्डकी प्रदेशले उपाधिका लागि डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालको सामना गर्दैछ । गण्डकी प्रदेश ६ खेलमा अपराजित टिम हो भने हेल्प नेपाल गण्डकीसंग लिगचरणमा हारेको टिम हो । गण्डकी प्रदेश लगातार जितसहित तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गर्दा हेल्प नेपाल उपविजेता रहँदै फाइनलमा प्रवेश ग¥यो । दुवै टोलीले आ–आफ्नो एक खेल बाँकी रहँदा नै फाइनलको यात्रा तय गरिसकेका थिए ।
फाइनल खेलमा यी दुई टिमको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान छ । लिग चरणमा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकीले ३–२ को सेटमा जित हासिल गरेको थियो । पहिलो सेट गण्डकीले आफ्नो पक्षमा पार्दा दोस्रो र तेस्रो सेट गुमाउन पुगेको थियो । चौथो सेटमा पुनः खेलमा फर्किएको गण्डकीले पाँचौ सेट समेत आफ्नो पक्षमा पार्दै जित हासिल गरेको थियो । गण्डकी प्रदेश तीन पाकिस्तानी खेलाडीको भरमा खेलिरहेको छ । गण्डकीका लागि ऐमल खान मुख्य खेलाडी हुन् । गण्डकीको फाइनलको यात्रामा उनको योगदान महत्वपूर्ण छ । प्रमुख स्पाइकरको भूमिकामा रहेका पाकिस्तानका पुर्व राष्ट्रिय टिमका कप्तान समेत रहेका भेट्रान ऐमलले हेल्प नेपाललाई समेत उपाधि दिलाएका थिए । सातौं एनभिएमा ऐमलले नै हेल्प नेपाललाई उपाधि दिलाएका थिए । अर्का खेलाडी अदनान खान सेटरको भूमिकामा छन् । आउटसाइड हिटर वाकर मुहम्मदले आवश्यक पर्दा निकै उत्कृष्ट प्रदर्शनी गरेका छन् । जुन कुरा प्रशिक्षक रेमश केसी, कप्तान सन्जु विक्रम शाहलेसमेत स्विकार गर्दै आइरहेका छन् । गण्डकीको मुख्य कम्जोरी ब्लक र रिसिभमा देखिन्छ । कप्तान शाहले टिममा रिसिभमा समस्या रहेको बताउछन् । हेल्प नेपाल विरुद्धकै खेल पश्चात उनले भनेका थिए, ‘हाम्रो मुख्य समस्या नै रिसिभमा देखिएको छ । हामीले रिसिभ गर्न सकिरहेका छैनौं ।’
त्यतिमात्र होइन ऐमल खानलाई ब्लक गर्दा टिपटपले दोस्रो सेटमा जित हासिल गरेको थियो । यसले पनि स्पष्ट हुन्छ कि गण्डकीका ऐमललाई रोक्न सकेको खण्डमा हेल्प नेपालले उपाधि रक्षा गर्न सक्नेछ । गण्डकीलाई हेल्प नेपालको पनि पाकिस्तानी खेलाडीको डर छ । वालिद खान, मुवासर राजा र माजर अलिको प्रर्दनी निकै उत्कृष्ट छ । उनीहरुको खेलले गण्डकीलाई भारी पर्न सक्छ । यता सन्जु चल्न सकेको खण्डमा र हिमाल सुनारी र इन्द्र विक पनि चल्न सकेमा भने गण्डकीले जित हासिल गर्नेछ ।
महिलातर्फ डायमण्डलाई पुलिसको चुनौती
उता महिला तर्फ न्यु डायमण्डलाई नेपाल पुलिसको चुनौति छ । महिलातर्फको फाइनलमा अनुभवि खेलाडी सम्मिलित पुलिसको सामना गर्दैछ युवा खेलाडीले भरिएको डायमण्डले । पुलिस लिग विजेता बन्दै फाइनलमा प्रवेश गर्दा डायमण्ड उपविवेता टिम हो । लिगचरणको खेलमा पुलिसले डायमण्डलाई ३–० को सोझो सेटमा हराएको थियो । पुलिसले २५–१९, २५–१८ र २५–२१ को सहज जित निकालेको थियो । डायमण्डमा अनुभवको कमी भएका खेलाडीको वर्चस्व हुँदा सम्हालिएर खेल्नु पर्ने हुन्छ ।
पुलिसले लिग चरणमा एक खेल पनि हारेको छैन भने डायमण्डले एक खेल मात्रै हारेको छ । महिलातर्फ कुल पाँच खेल खेल्दा ५ जितका साथ पुलिस १४ अंक बटुल्न सफल हुँदा डायमण्डले १२ अंक बटुलेको थियो । प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ पाउनेछन् । यस्तै तेस्रो हुने टोलिले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।





