पोखरा/टाइगर ग्रुप अफ पोखरा नेपालले छैटौं संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको आयव्यय सार्वजानिक गरेको छ । माघ १२ देखि २० गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतियोगितामा सबैभन्दा बढी आम्दानी टिकटबाट गरेको छ ।
टिकटबाट मात्रै टाइगरकपले ५७ लाख ३९ हजार चार सय ४६ रुपैयाँ आम्दानी गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयव्यय सार्वजानिक गर्दै टाइगरकपबाट कुल एक करोड ७१ लाख, ८९ हजार पाँच सय ७१ रुपैयाँ आम्दानी गरेको छ । यस्तै एक करोड ५० लाख ८८ हजार पाँच सय ६५ रुपैयाँ खर्च हुँदा २१ लाख एक हजार ६ रुपैयाँ बचत भएको छ । बचत रकमबाट एक लाख ५० हजार रुपैयाँ खेलाडी अक्षय कोषका लागि प्रदेश खेलकुद परिषद्लाई प्रदान गरेको अध्यक्ष शर्माले जानकारी दिए ।
सो अवसरमा अध्यक्ष शर्माले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई आगामी छैटौं संस्करणको प्रतियोगिताको स्विकृतीको पत्र हस्तान्तरण गर्दै माघ ९ देखि १७ गतेसम्म आयोजना हुने जानकारी गराए । मिति घोषणासँगै तयारीसमेत सुरू गरिएको अध्यक्ष शर्माले बताए । छैटौं संस्करणको मिति घोषणा गर्दै अध्यक्ष शर्माले प्रतियोगिता आउटडोरमा नै आयोजना गर्ने बताए ।
उनले भने, ‘अहिले इन्डोर हलमा एनभिए कप आयोजना भइरहेको छ । तर, हामी इन्डोरभन्दा आउटडोरलाई प्राथमिकता दिन्छौैँ । दर्शकहरुको क्षमताका आधारमा पनि आउटडोरमा नै प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता छ ।’
टाइगर कप भलिबलले देशमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा समेत उत्तिकै चर्चा पाइरहेको बताए । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।





