पोखरा रंगशाला निर्माणमा संघसँग समन्वय गर्ने
पोखरा/गण्डकी प्रदेश सरकारले पुनः प्रदेशको लगानीमा बनाउने भनेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको योजना अघि सार्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक नीति तथा कार्यक्रममा प्रदेशमा क्रिकेट रंगशाला निर्माणको कार्यलाई अघि बढाउने भनिएको छ ।
‘नेपाल सरकारसँगको समन्वयमा पोखरा रंगशालाको स्तरोन्नति गरिनेछ । गण्डकी प्रदेशमा क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाइनेछ । राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गनेृ खेल समूहलाई उत्कृष्ट प्रर्दशनका लागि लागि विशेष प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममा छ । यो सँगै प्रदेशको लगानीमा बनाउने भनिएको गौरवको योजनालाई पनि पुनः अघि सारिएको छ ।
गण्डकी प्रदेश सरकारले स्थापनाकाल देखी नै यसका लागि बजेट समेत विनियोजन गरि डिपिआर तयार भइसकेको अवस्थामा बिचका केही वर्ष यो योजना परेको थिएन । यस पटक भने प्रदेशले योजनामा राखेको हो ।
यस्तै संघ सरकारले मुस्ताङमा निर्माण गर्ने उच्च पर्वतीय खेलकुद रंगशाला निर्माणमा समेत साझेदारी गर्ने भएको छ । प्रदेशमा खेलकुद प्रबद्र्धन गर्न, खेलकुद पूर्वाधार निर्माण खेलाडी सम्मान र खेल पर्यटन विकास गरिने भएको छ । संघ, प्रदेश, स्थानीय तहको साझेदारीमा मुस्ताङ जिल्लामा उच्च पर्वतीय खेलकुद रंगशाला निर्माण कार्यलाई अगाडि बढाइने नीति र कार्यक्रममा छ ।
करीव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको थियो । रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा केन्द्र सरकारबाट प्राप्त भइसकेको थियो, यद्यपी उक्त स्थानमा सेती नदीले कटान गरेपछि परियोजना नै अन्योलमा परेको हो ।
१८ हजार दर्शक क्षमताको रंगशालामा टी–२०, एक दिवसीय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्न सातवटा पीच तयार पारिने डीपीआरमा उल्लेख छ । मैदानमा सात वटा पीच, भीभीआईपी, भीआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायत संरचना बन्ने योजना थियो ।





