सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

शहिद स्मृति पार्कमा ढकमक्क गुलमोहर (फोटो फिचर)

शहिद स्मृति पार्कमा ढकमक्क गुलमोहर (फोटो फिचर)


  • रामकृष्ण बोहरा
  • जेष्ठ २३ २०८२, शुक्रबार

बागलुङ/ढकमक्क फुलेको गुलमोहर फुलले बागलुङ नगरपालिका वडा नं. १ बाङेचौरस्थित शहिद स्मृति पार्क र मदन–आश्रित स्मृति पार्क परिसर गुल्जार बनेको छ । मा आर्कषण थपेको छ । रामरेखास्थित डिभिजन वन कार्यालयदेखि शहिद स्मृति पार्क परिसरमा फुलेको गुलमोहरले पार्कमा थप आर्कषण थपेको हो ।

निरन्तरको वर्षाले हराभरा बनेको पार्कलाई गुलमोहरले थप मनमोहक बनाएको छ । गुलमोहरले गुल्जार बनेको पार्कमा सेल्फी लिने र फोटो खिच्नेहरुको ताँती लाग्न नै थालेको छ । त्यसो त एशियाकै लामो झोलुङ्गे पुल ‘कालीगण्डकी गोल्डेन ब्रिज’ पार्क क्षेत्रमै पर्छ । सिंगल स्पानको झोलुङ्गे पुलमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो छ ।

मर्निङदेखि इभिनिङ वाक गर्नेहरु पुलहुँदै भगवान पार्वतीको जन्मभुमिका रुपले परिचित पर्वतको पाङस्थित अदुवाबारी घुमेर फर्किन्छन् । कोही सफा र शान्त पार्कमा सुस्ताउँछन् । कोही ध्यान र योगामा तल्लिन देखिन्छन् । शहरी कोलाहलबाट मुक्त हुन साँझको प्रहरमा युवापुस्तादेखि ज्येष्ठ नागरिक पार्कमा रहेका वरपिपल र स्वामीको छहरीमा टहलिन्छन् ।

गुलमोहर वर्षासंगै खुलेको आकाशमा मुस्कुराईरहेको भान हुन्छ । बसन्त ऋतुको आगमनसंगै ढकमक्क फुलेको गुलमोहरले पार्कको सुन्दरता बढाएको स्थानीय सामाजिक अगुवा सूर्य लामिछाने बताउनुहुन्छ । प्रसिद्व धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरदेखि बाङेचौर खेलमैदानसम्मको राष्ट्रिय राजमार्गमा गुलमोहरले सुन्दरता थपेको छ । सौन्दर्य बढाउने फूलको रुपमा लिईने यसलाई बगैँचा, सडक साइड तथा पार्कमा लगाइन्छ ।

बागलुङ नगरपालिकाका पहिलो जननिर्वाचित नगरप्रमुख ऋषिराम शर्माले परिकल्पना गरेको शहिद स्मृति पार्कमा रोपिएका गुलमोहरका रुख वर्षेनि मासिदै गएको देख्दा लामिछानेले मन दुखेको गुनासो पोख्नुहुन्छ । बागलुङ–पोखरा सडक स्तरोन्नति र बिजुलीका पोलका कारण रुखका हाँगा वर्षेनि कलमी गर्दा नासिने खतरा बढेको लामिछानेले बताउनुभयो ।

सदरमुकाम बागलुङ बजार नजिकै रहेको शहिद पार्कमा थपिएका संरचनाले यसको महत्व चुलिदै गएपनि संरक्षण भने कसैको ध्यान नगएको लामिछानेको भनाई छ । ‘‘पार्कमा सरसफाई, फुल र रैथाने प्रजातिका रुखहरु संरक्षणका लागि मालीको व्यवस्था गर्नुपर्छ’’ लामिछानेले भन्नुभयो, ‘‘शहरी कोलाहलबाट मुक्ति दिने पार्कलाई अझै व्यवस्थित बनाउन सके आन्तरिक तथा बाह्रय पर्यटक बढाउन सकिने संभावना छ ।’’

विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा आयुर्वेदिक अस्पतालले पार्क परिसरमा निर्माण गरेको खुला व्यायामशालाका उपकरण संरक्षण नहुँदा जीर्ण बनेका छन् । पार्कलाई थप आर्कषित र व्यवस्थित बनाउन सकेन थुप्रै लाभ लिन सकिने हुँदा स्थानीय सरकारले चासो दिनुपर्ने पुर्व जनप्रतिनिधि समेत रहनुभएका लामिछाने तर्क गर्नुहुन्छ ।

गुलमोहर रातो रंगका फुलहरू फुल्छन् । यसको जन्मभूमि मेडागास्करलाई मानिन्छ । फ्रांसीसीहरूले गुलमोहरलाई ‘स्वर्गको फूल’ भन्छन् । कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ । वैज्ञानिक नाम डेलोनिक्स रेगिया रहेको र काँडा नहुने यो फूलको वास्ना भने हुँदैन ।

१२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने भएपनि नेपालमा गाडा रातो रंगका मात्र छन् । नेपालको तराई, शिवालिक र दून उपत्यकामा १ हजार मिटर उचाइ सम्ममा गुलमोहर पाउन सकिन्छ ।

Gulmohar Photo Story

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->