आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

इन्डोर आर्चरीको उपाधिमा गण्डकीको वर्चस्व

इन्डोर आर्चरीको उपाधिमा गण्डकीको वर्चस्व


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८२, आइतबार

पोखरा/पोखरामा ७ औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप सम्पन्न भएको छ । गण्डकी प्रदेश आर्चरी संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा भएको प्रतियोगितामा गण्डकी प्रदेशको उपाधिमा वर्चस्व रह्यो ।

शनिबार भएको फाइनल खेलहरुमा कम्पाउण्ड मेन एकलतर्फ एपिएफका मीन गौचनले कुल १४० स्कोर ल्याउँदै स्वर्ण जिते । १२९ स्कोरका साथ गण्डकीका सुमन गुरुङले रजत जिते । आर्मीका पवन राईले कास्य पदक हासिल गरे ।

महिला एकलतर्फ गण्डकीकी मोनिका राना मगरले १३७ स्कोरका साथ स्वर्ण जित्दा उनकी प्रतिस्पर्धी एपिएफकी पार्षदा आचार्यलाई १३६ स्कोरका साथ रजत जितिन् । एपिएफकै निर्मला काङबाङले कास्य हासिल गरिन् । स्ट्याण्डर्ड महिला एकलतर्फ गण्डकी प्रदेश टीम ‘ए’ की रिना गुरुङले गण्डकी ‘ए’कै स्नेहा केसीलाई ६–० को सेटमा हराउँदै स्वर्ण जितिन् । यस्तै निता केसीले कास्य हासिल गरिन् । पुरुषतर्फ नेपाल पुलिसका निकेश देशारले गण्डकीका मोहन घर्तीलाई ६–२ को सेटमा हराउँदै स्वर्ण जिते । आर्मीका बसन्तराज काफ्लेले कास्य पदक हासिल गरे ।

स्ट्याण्डर्ड मिक्सतर्फ गण्डकी ‘ए’ ले त्रिभुवन आर्मीलाई ५–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्यो । नेपाल पुलिसले कास्य पदक हासिल ग¥यो । स्ट्याण्डर्ड पुरुषतर्फ गण्डकी ए ले नेपाल पुलिसलाई ५–३ ले हराउँदै स्वर्ण हासिल गर्दा गण्डकी रजतमा सिमित भयो । एपीएफले कास्य पदक जित्यो ।

रिकर्भ महिला एकलतर्फ नेपाल पुलिसकी आइसा तामाङले त्रिभुवन आर्मी क्लबकी मित्र राईलाई ६–४ ले हराउँदै स्वर्ण जितिन् । आर्मीकी मन्जु बजगाईले कास्य जितिन् । रिकर्भ पुरुष एकल तर्फ नेपाल पुलिस क्लवका तिलक पुनले स्वर्ण जिते । उनले त्रिभुवन आर्मीको रोशन नगरकोटीलाई ६–२ सेटमा हराएका हुन् । नेपाल पुलिसका पवन सिरीषले कास्य पदक जिते ।

रिकर्भ मिक्स टीमतर्फ नेपाल पुलिसको तिलक पुन र आइसा तामाङको जोडीले त्रिभुवन आर्मीको रोशन नगरकोटी र मित्र राइको जोडीलाई ५–१ सेटमा हराएर स्वर्ण पदक जिते । गण्डकी ‘ए’ कास्यमा चित्त बुझायो । रिकर्भ पुरुष टीम तर्फ त्रिभुवन आर्मीले गण्डकी ‘ए’ लाई ६–२ को सेटमा हराउदै स्वर्ण जित्दा गण्डकी रजतमै चित्त बुझायो । गण्डकी ‘बी’ ले कास्य पदक हासिल ग¥यो ।

प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७ टिमका ७० जना खेलाडीहरूको सहभागिता रहेको थियो । जसमा महिला खेलाडीहरुको संख्या २२ र पुरूषहरुको संख्या ४८ जना रहेको थियो ।

प्रतियोगितामा रिकर्व महिला÷पुरुष, रिकर्व टिम इभेन्ट, रिकर्व मिक्स इभेन्ट, कम्पाउण्ड महिला÷पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला÷पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा भएको केन्द्रिय सचिब समेत रहेका प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । उनले पोखराको इतिहासमै पहिलो पटक इन्डोर आर्चरी भएको सुनाए । यसले खेलाडीको प्रदर्शनीको परीक्षण गर्ने मौका मिलेको समेत सुनाए ।

उनका अनुसार तीन वर्ष अघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात यो नै पहिलो राष्ट्रिय खेलकुद भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक बजेट विनियोजन नगरिदिदाँ खेल संघहरुको मात्रै बलबुतामा ठुला प्रतियोगिता गर्न असम्भव रहेको उनले सुनाए । ‘यसपटक पनि हामीले गण्डकी प्रदेश स्तरीयमात्रै गर्न खोजेका थियौं तर, राखेप र प्रदेश खेलकुद परिषदको साथ पाएपछि राष्ट्रिय स्तरको गरेका हौं’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->