पोखरा/पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै विजयी सुरुआत गरेको छ ।
दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लब विजयी भयो । पहिलो खेलमा पुलिसले २५–२१, २७–२५ र २५–१७ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लबले एभरेष्ट क्लबलाई २५–११, २५–१८ र २५–१० को सोझो सेटमा हराउन सफल भयो ।
प्रतियोगिताको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेलामा भलिबललाई मन्त्रिपरिषद्बाट राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्दै त्यसपछि देशभित्र भलिबल खेलको महत्व अझ बढेको जिकिर गरे ।
‘नेपालको भुगोल, संस्कृति, हावापानी र नेपालीजनसँग मेल खाने खेल भएकाले मन्त्रिपरिषद्बाट निर्णय गरेको गरिएको हो,’उनले भने,‘ त्यसपछि भलिबलको मान्यता राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा बढेको र पदक जित्ने सुरुआत भएको हो ।’
आफ्नो प्रधानमन्त्रीकालमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तथा योजना कार्यक्रमहरु बनाउने पहल गरेको जिकिर उनको थिष्यो ।
‘नेपाली खेल क्षेत्र विकसित हुँदै गएको छ । मैले नीतिगत मात्र होइन खेलकुद क्षेत्रको नेतृत्वमा सफल व्यक्तिहरु ल्याएका कारणले अहिले नेपाली खेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा निकै स्थापित भएको छ,’ उनले भने ।
खेलकुद परिषदका सचिव टंकलाल घिसिङले खेलाडीले खेल खेलेरै आफ्नो जीवन निर्वाह गर्ने वातावरण बनेको जिकिर गरे ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरामा निरन्तर भइरहेका विभिन्न खेलकुदका प्रतियोगिताका कारणले पोखरा भ्रमण वर्ष २०२५ सफल बनेको बताए ।
आयोजक नेपाल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले भलिबल खेललाई अझ लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगितामार्फत् महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए ।
अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले महासंघले वर्षभरीनै वृहत् खेलकुद महोत्सवका रुपमा विभिन्न खेलकुदका प्रतियोगिताहरु सञ्चालन गरिरहेको जानकारी दिए ।
यही जेठ ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिमहरू सहभागी छन् ।
प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र स्टेप रामपुर गरी छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको च्याम्पियन टोलीले छ लाख, उपविजेताले तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।





