
सूर्यबहादुर घर्ती
अध्यक्ष
निसीखोला गाउँपालिका
समृद्द निसीखोला कसरी संभव छ ?
निसीखोला गाउँपालिकाको भूगोल, श्रमजिवी पालिकाबासी र मध्यपहाडी लोकमार्गले ल्याएको अबसरबाट कृषि उत्पादनबाट मात्रै समृद्दि संभव छ । भुगोल र हावापानीले पनि कृषि उपजलाई नै सघाउने देखिन्छ । हामीले पनि ठूला कुरा गरेका छैनौं, बरु कृषि क्षेत्रमा हरेक किसानलाई कसरी जोड्ने, उत्पादन कसरी बढाउने ? किसानको हातमा कृषि फसलबाटै कसरी पैसा पार्ने भन्ने हाम्रो ध्यान छ ।
यो क्षेत्रमा अहिले पनि शिक्षा र स्वास्थ्यको विषय कमजोर छ । तसर्थ गुणस्तर बढाउने कुरामा पनि ध्यान त दिएकै छौं । त्यो धेरै वर्षपछि प्रतिफल पाइने विषय भयो, तत्कालका लागि भने किसानले बेसाहा खान नपर्ने गरी उत्पादन बढाउने नै हो ।
समृद्द निसीखोलाका लागि अहिले के के काम गरिसक्नुभयो ?
प्रारम्भिक चरणका धेरै काम भएका छन् । आधारभूत खानेपानी सबै घरमा लैजाने काम भएको छ । नेवा लगायतका गैरसरकारी संस्थाले पनि पालिकामा साथ दिएका छन् । एक घर एक धाराको अभियानमा हामी लगभग सफल जस्तै भैसक्यौ । त्यस बाहेक युवालाई सीपमुलक तालिममा जोडेका छौं । हरेक वडा र ठूलो बस्ती भएको स्थानमा स्वास्थ्य संस्थाहरु स्थापना गरेर आधारभूत स्वास्थ्य सेवा प्रवाह गरेका छौं । गुणस्तरीय स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्यमा सुधार भैरहेको छ । हिजोका दिनमा निसीखोलाको शिक्षा र स्वास्थ्यमा अहिले आएको सुधार पनि ठूलो उपलब्धी हो भन्ने लाग्छ ।
कृषि फसलका लागि भने युवा उद्यमीहरुलाई प्रोत्साहनका कार्यक्रम भैरहेका छन् । अब उनीहरुको उत्पादनलाई बजारमा जोड्ने हो । विद्युतीकरण अभावमा कतिपय स्थानमा चाहेर पनि संकलन केन्द्र बनाउन सकिएको छैन । त्यसमा पनि चासो राखेका छौं ।
गाउँपालिकाको मुख्य समृद्दिको आधार के हो त ?
सडक पुर्वाधार नै महत्वपुर्ण रहेछ । किनकी कृषिलाई मुख्य समृद्दिको आधार मान्दै गर्दा पनि पहिला किसानको घरदैलोमा सडक पुग्नुपर्ने रहेछ । मध्यपहाडी लोकमार्गले त हामीलाई लाउनसम्मको गुन लगाएको छ । अझै बस्ती तहमा सडक लैजान सकिएको छैन । पालिकाको सानो बजेटले हामी पुर्वाधारमा अगाडि बढ्न कठिन छ । तर पनि अहिलेसम्म विद्यालय, स्वास्थ्य चौकी लगायतका भवन बनिसकेका छन् । पालिका पनि आफ्नै घरमा बस्न थालेकोले सडक स्तरीय बनाउने, गुणस्तरीय स्वास्थ्य सेवा दिने काममा लाग्दैछौं । निर्माणाधिन आधारभूत अस्पताल पुरा गर्नेगरी बजेटको मागमा छौं । सानो कामबाट पनि जनता खुसी बन्छन् । त्यसैले समृद्दिको मुख्य आधार सडकलाई मानेर सबै नागरिक त्यो सडकमा जोडिने वातावरण बनाइरहेका छौं ।
नीति एकातर्फ काम अर्कोतर्फ भैरहेको भनिन्छ नि ? निसीखोलामा कस्तो छ ?
हो, नीति हाम्रा राम्रा छन् । तर बजेट अभावले सोचेझै कार्यक्रमहरु बनाउन सकिंदैन । भौगोलिक कठिनाइले सदरमुकाम आसपासमा बन्ने संरचना त्यहीं अनुसार ग्रामीण क्षेत्रमा बन्न सक्दैन । तसर्थ हामीले आफ्नै परिवेश अनुसार काम गर्न पाउनुपर्छ । नत्र नीति र कार्यक्रमले मेल खाँदैन । विकासलाई लयमा हिंडाउन पनि सकिंदैन ।
पर्यटनलाई हामीले पहाडी संस्कृतिमा जोड्न खोजेका छौं । पोखरा वा काठमाण्डौंको जस्तो पर्यटन खोजेर होइन । किनकी यहाँका परम्परागत गीत संगीतलाई मेला महोत्सवको रुपमा प्रचार गरेर पर्यटक बढाउने हो । धार्मिक आस्थाका पहाडमा पर्यटक र भक्तजन लैजाने हो । त्यो प्रकृतिको नीति र कार्यक्रम मेल खाने बनाउनुपर्छ ।
आवस्यकता एकातिर लगानी अर्कोतर्फ पनि भएको छ नि ?
हो आवस्यकता त शिक्षा र स्वास्थ्यमा बढी नै छ । आधारभूत अस्पताल समयमा बनिसके धेरै स्वास्थ्य समस्याहरु समाधान हुन्थे । अहिलेसम्म विविध कारणले पुरा भएको छैन । त्यतिमात्र हैन, मध्यपहाडी लोकमार्ग नहुँदो हो हामीले पालिकाको सबै बजेट खन्याएर पनि यो परिस्थिति निर्माण गर्न सक्थेनौं । अहिले पनि वडा नं. ७ मा लोकमार्गले छोएको छैन । त्यहाँ हामीले ग्रामीण सडकमार्फत काम चलाएका छौं । त्यहाँ पनि ठूलो लगानी गर्न सक्ने अवस्था छैन । संघिय लगानी भित्राउन चाहिने पहुँचबाट हामी बञ्चित छौं । यातायात बिना अरु विकासको संभावना नै छैन । त्यसैले आम जनसमुदायको माग अनुसार सडक सहज बनाउने काममा अलमलिएका छौं । जतिबेला सडकको आवस्यकता पर्दैन, त्यतिबेला मात्र हाम्रो लगानी देखिने गरी विकास हुन्छ । नत्र आवस्यकता अनुसार प्रतिफल पाउन सकिंदैन ।
विकासमा राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीको एकरुपता भएन भनिन्छ नी ?
निसीखोलामा केन्द्रीय तहका नेता छैनन् । स्थानीय र जिल्ला तहका नेताहरुको सहभागिता र सल्लाहबाटै नीति कार्यक्रम र विकासका योजना बनाइरहेका छौं । तसर्थ समन्वय छैन भन्न मिल्दैन । तरपनि नीति मात्र हामीले बनाउने हो, कार्यान्वयनको पाटो कर्मचारीमै निहित छ । कर्मचारी संवेदनशिल भैदिए भने धेरै प्रतिफल देखिन्छ । नत्र हामी फेरी पछि पर्छौ । अहिले हामीले चनाखो प्रमुख प्रशासकीय अधिकृत पाएका छौं । जसले गर्दा कामले तीब्रता पाएको छ । करोडौं बेरुजु घटाउन सकियो । त्यस बाहेक विकास योजनामा पनि कसरी अगाडि बढ्ने भन्ने राम्रो सल्लाह पाएका छौं । जनप्रतिनिधिहरुले पनि मिलेरै काम गरेका छौं । समानुपातिक बिकासमा पनि प्रयास भएको छ ।
अझै गर्न नसकेको र प्रयास भएका क्षेत्र के के हुन् ?
विकास निर्माणमा जति गरेपनि अभाव नै हुन्छ । पर्याप्त हुँदैन । तर पनि सामुदायिक विद्यालयहरुमा दरबन्दी अभाव छ । ३ करोड बढी बजेट शिक्षकको तलबमा लगानी गर्न बाध्य छौं । त्यस बाहेक ५ वटा सामुदायिक स्वास्थ्य इकाइ छन् । घर भाडादेखि कर्मचारी, उपकरण जस्ता काममा लगानी गर्दा धेरै बजेट सकिन्छ । त्यसैले बाहिर देखिनेभन्दा नदेखिने विकासमा धेरै खर्च छ । त्यो बुझाउन गाह्रो परेको छ । पर्यटकीय क्षेत्र पहिचान भएका छन् तर ती क्षेत्रमा लगानी गर्न भन्दा धेरै सडकले जोड्न खर्च लाग्छ । त्यसैले प्रयास गर्दागर्दै प्रतिफल देखाउन सकिएको छैन ।





