आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा आजबाट प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट शुरु हुँदै

पोखरामा आजबाट प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट शुरु हुँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८२, शनिबार

पोखरा/तेस्रो गण्डकी प्रदेशस्तरीय टी २० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रादेशिक क्रिकेट संघ गण्डकी प्रतियोगिताको आयोजक हो ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले अहिले क्रिकेटको समय उचित नभए पनि बाध्यताले आयोजना गर्न लागिएको सुनाए । उनका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सर्दा समस्या उत्पन्न भएको पनि खुलासा गरे । ‘स्वभाविक रुपमा अहिले पानी परिरहेको छ ।

प्रतियोगिता अवधिभर पानी नपरोस् भन्ने कामना गर्दछौं तर हाम्रा केही नियमहरु छन् जसले गर्दा प्रतियोगिता गर्न सहज हुने विश्वास लिएका छौँ,’ उनले भने, ‘हामी खेलाडी विकासका लागि यो प्रतियोगिता आयोजना गरेका हौं । विशेषगरी दशौं राष्ट्रिय खेलकुद लक्षित गर्दै गर्नुपर्ने र क्रिकेटका लागि असोज कात्तिकको महिना उत्कृष्ट रहे पनि राज्यको व्यवस्थाका कारण अहिले गर्न लागेका हौं ।’

प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । समूह ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । आज समूह ‘ए’ तर्फका दुई खेल हुनेछन् । पहिलो खेल स्याङ्जा र म्याग्दीबीच हुनेछ भने दोस्रो खेल तनहुँ र बागलुङबीच हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपविजेताले ५० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई चार हजार रुपैयाँ, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई दुई हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिता संयोजक ऋषिराम गौतमले गण्डकी प्रदेश र स्थानीय पालिकाहरुले क्रीकेटमा बजेट नछुटयाएको र आगामी बजेटमा राख्नेमा आफूहरु आशावादी रहेको सुनाए । प्रदेश सरकारले प्रतियोगिता र पूर्वाधार विकासका लागि रकम विनियोजन गर्नुपर्नेमा उनको जोड थियो । ‘हाम्रो मात्र प्रयासले क्रिकेटको विकास सम्भव छैन । यसमा प्रदेश सरकारकोसमेत उत्तिकै दायित्व रहन्छ । हरेक वर्ष बजेट विनियोजन भएमा खेलाडी उत्पादन सहज रुपमा अघि बढ्छ,’ उनले भने ।

प्रतियोगिता असार ६ गतेसम्म सञ्चालन हुनेछ । समूह ‘ए’ र ‘बी’ को विजेताले उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->