पोखरा/प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबारदेखि तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रीकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ तर्फका दुई खेल सम्पन्न हुँदा स्याङ्जा र तनहुँले आ–आफ्नो खेलमा जीत हासिल ग¥यो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन स्याङजाले म्याग्दी जिल्लालाई ६ विकेटले हरायो । जीतका लागि ८९ रनको सामानय लक्ष्य पछ्याउने क्रममा स्याङ्जाले १२.४ ओभरमा ४ विकेट गुमाउँदै ९३ रन बनायो । स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी २३ रनमा नटआउट रहे । त्यस्तै अश्विनी रानाले २० रन जोडे । म्याग्दीका लागि हरि सुवेदीले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए भने सागर कटुवालले ३.४ ओभरमा ३० रन खर्चिएर २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको म्याग्दी १८.५ ओभरमा ८८ रनमा अलआउट हुन पुग्यो । म्याग्दीका लागि रोशन कार्कीले २७ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । दीनेश क्षेत्रीले २४ र सागर कटुवालले २० रन जोडे । अन्य ब्याटर भने खासै टिक्न सकेनन् । म्याग्दीका ६ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । स्याङ्जाका बलरहरू करण पंगेनी र सुजन गौतमले उत्कृष्ट प्रदर्शन गरे । दुवैले समान ३–३ विकेट लिए । तुलसीराम भण्डारी र अंकित न्यौपानेले १–१ विकेट हात पारे । सुजन गौतमले २.५ ओभरमा १३ रन दिँदै ३ विकेट लिएका थिए भने करण पंगेनीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे । उनी म्यान अफ दि म्याच बने ।
यस्तै दोस्रो खेलमा तनहुँले बागलुङलाई १० रनले हराएको छ । १३५ रनको लक्ष्य पाएको बाग्लुङ २० ओभरमा ६ विकेट गुमाउँदै १२४ रनमै सीमित हँदा तनहुँले जित हासिल गरेको हो । बाग्लुङका लागि बिबेक नेपालीले ४९ बलमा ३७ रनको अविजित पारी खेले भने आरस तामाङले १९ रन, चन्द्रदीप यादवले १७ रन र साहिल स्वर्णकारले १९ रन बनाए । वंश क्षेत्रीले २, चन्द्रकान्त पौडेलले २ तथा सन्दीप पराजुली र क्रिश ऐरले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको तनहुँले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनायो । तनहुँका वंश क्षेत्रीले अविजित ७० रनको अर्धशतकिय पारी खेले । उनले ५४ बलमा ८ चौका र १ छक्का प्रहार गरे । सुप्रिम सुनारले १९ रन, नरेश शाहीले १४ रन, र समीर कँडेलले १० रनको योगदान दिए । बाग्लुङका बलर विश्व कार्कीले ३ विकेट लिए भने अश्विन थापा र सञ्चार निउरेले समान २–२ विकेट हात पारे । वंश खेलको म्यानअफ दी म्याच घोषित भए । प्रतियोगिताको समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रतियोगिताको विजेता टिमले नगद १ लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषिराम गौतमले बताए ।





