पोखरा/गण्डकी प्रदेशस्तरीय पुरूष टी २० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले दोस्रो दिन पनि जीतको लयलाई कायम राखेका छन् । समुह ‘ए’ अन्तर्गत पोखरा क्रिकेट रंगशालामा जारी प्रतियोगितामा तनहुँले १७७ रनको जीत हासिल गर्दा दोस्रो खेलमा स्याङजाले ७८ रनले जित दर्ता गरेको हो ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरण अन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । म्याग्दीले टस जितेर पहिला फिल्डिङ रोजेपछि तनहुँले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२३ रनको विशाल योगफल खडा ग¥यो ।
२२४ रनको लक्ष्य पछ्याउन उत्रिएको म्याग्दी १४.४ ओभरमा जम्मा ४६ रनमा अलआउट भयो ।
दोस्रो खेलमा स्याङ्जाले उत्कृष्ट प्रदर्शन गर्दै बागलुङलाई ७८ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनायो ।
१७९ रनको लक्ष्य पछ्याउन उत्रेको बागलुङको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो । बाग्लुङले पूरै २० ओभरमा १०० रनमै सीमित रहँदा स्याङ्जाका बलरहरू हावी बने ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिता दुई समूहमा विभाजनमा गरी सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।





