गाउँसभाका सदस्यहरू,
१. जनताको घरदैलोको सरकारका रूपमा समर्पित यस बरेङ गाउँपालिकाको गरिमामय गाउँसभामा गाउँपालिका अध्यक्षको हैसियतमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी महसुस गरेको छु ।
२. यस अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना र देशभक्तिपूर्ण आन्दोलनमा देश र जनताको लागि प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, यस क्रममा घाइते हुनुभएका राष्ट्रप्रेमी व्यक्तित्व तथा उहाँहरूको परिवारजनहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।
३. हाम्रो सरकारले अवलम्बन गरेको “समृद्ध बरेङ सुखी बरेङवासी” को दीर्घकालीन सोच प्राप्तिका लागि समर्पित सम्पूर्ण जनप्रतिनिधीहरू, पूर्व जनप्रतिनिधिहरू, राजनैतिक दलहरू, कर्मचारीहरू, नागरिक समाज, संघसंस्थाहरू, पत्रकारहरू, सुरक्षाकर्मी लगायत सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु र आगामी दिनहरूमा समेत सोही प्रकारको सहयोगको अपेक्षा गर्दछु।साथै हाम्रो सरकारको वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा विभिन्न तह र तप्काबाट अमूल्य सुझाव प्रदान गर्नुहुने सम्पूर्ण बरेङवासी आमा, बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सबैप्रति हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछु ।
सभाका सदस्यहरू,
म अब गाउँपालिकाको दीर्घकालीन विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि गरिएका महत्वपूर्ण प्रयास, अवसर र चुनौतीहरू उल्लेख गर्न चाहन्छु ।
चालिएका कदम तथा महत्वपूर्ण प्रयासहरूः
१. हाम्रो सरकारको अन्तिम गन्तव्य बरेङवासी नागरिकहरूको सुख र समृद्धि हासिल गर्नका लागि उपलब्ध सीमित स्रोत साधनको अत्यन्तै विवेकपूर्ण प्राथमिकीकरण, कुशल विनियोजन र दक्षतापूर्ण कार्यान्वयनमा जोड दिइएको छ ।
२. गाउँपालिकाको न्यून आन्तरिक आयका कारण ठूला पूर्वाधारजन्य योजनाहरूको निर्माणमा संघ तथा प्रदेश सरकारसँगको साझेदारीमा जोड दिइएको छ ।
३. मानव विकास तथा सामाजिक विकासलाई केन्द्रविन्दुमा राख्दै ‘शिक्षामा प्रविधि बरेङमा समृद्धि’ भन्ने नाराको कार्यान्वयनका लागि बालविकास केन्द्रबाट नै प्रविधिमैत्री शिक्षण विधिको थालनी गरिएको छ ।
४. गाउँपालिकाको तत्कालीन र दीर्घकालीन योजनाहरूबीच सम्बन्ध कायम गर्नका लागि गाउँपालिकाको आवधिक योजना, वार्षिक योजना र मध्यमकालीन खर्च संरचनाबीच अन्तरसम्बन्ध स्थापित गरिएको छ ।
५. तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वय कायम गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप संघ र प्रदेश सरकारका वार्षिक नीति तथा कार्यक्रम, आवधिक योजनासँग गाउँपालिकाको नीति कार्यक्रम र बजेटबीच तादात्म्यता कायम गरिएको छ ।
६. सन्तुलित विकासको अवधारणा अवलम्बन गर्दै उपलब्ध प्रतिफल सबै बरेङवासी नागरिकाहरूमा पु¥याउँदै सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणको प्रयास गरिएको छ ।
७. निर्वाहमुखी र परम्परागत कृषि प्रणालीलाई क्रमशः आधुनिकीकरण र व्यावसायीकरण मार्फत आर्थिक विकास र समुन्नतिको प्रयास गरिएको छ ।
विकास र समृद्धिका अवसरहरूः
१. भौगोलिक हिसाबले कम क्षेत्रफल र कम जनसङ्ख्या भएकाले तुलनात्मक रूपमा विकास गर्न सहज,
२. मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसम्म सडकको पहुँच विस्तार,
३. पाल्पा, बुटवल, बागलुङ, पोखरा लगायतका महत्वपूर्ण सहरहरूसँग सडकको सहज पहुँच,
४. पर्याप्त कृषियोग्य जमिन र वर्षभरि बग्ने खोला नालाका कारण सिँचाइ व्यवस्था सहज,
५. पर्याप्त मात्रामा वनजङ्गलका कारण पर्यापर्यटन तथा वनपैदावार, जडीबुटी र वनजन्य व्यवसायको सम्भावना,
६. प्रसिद्ध साग्दी सत्यवती मन्दिर, भैँसेखोला झरना, बरेङ फनपार्कसहित विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू, स्वच्छ हावापानीका कारण आन्तरिक पर्यटनको सम्भावना,
७. सूचना प्रविधिको तिव्रतर विकास र त्यसको अभ्यास,
८. प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना,
९. बरेङको विकासप्रति नगारिकमा रहेको तीव्र चाहना, उत्साह एवम् राजनीति र प्रशासनबिचको सुमधुर सम्बन्ध ।
चुनौतीहरूः
१. भौगोलिक जटिलताका कारण पूर्वाधार विकासमा दिगोपन कायम गर्नु,
२. तीव्र रूपमा बढिरहेको बसाइँसराइ न्यूनीकरण गर्नु,
३. स्थानीय बासिन्दाहरूको अनुदानमुखी र उपभोगवादी प्रवृत्तिलाई निरुत्साहित गर्नु,
४. एकमुस्ट बजेट अभावका कारण हुने पटके विकास कार्य र लगानीको न्यून प्रतिफलको प्रतिकूल अवस्था,
५. खेतीयोग्य जमिनको बढ्दो बाँझोपना र न्यून उपयोगितालाई रोक्नु,
६. गाउँपालिकाको आन्तरिक आय न्यून हुनु,
७. दक्ष जनशक्तिको प्राप्ति र सम्भार,
८. संघ तथा प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय हस्तान्तरणको आकार घट्दै जानु ।
सभाका सदस्यहरू,
आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा लिइएका प्रमुख आधारहरू प्रस्तुत गर्न चाहन्छुः
–नेपालको संविधान,
–स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधित)
–राष्ट्रिय योजना आयोगको मार्गदर्शन,
–नेपाल सरकारको सोह्रौँ योजनाले परिलक्षित गरेका अवधारणाहरू,
–स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन,२०७४ (परिमार्जित)
–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
–अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
–संघ तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन,
–बरेङ गाउँपालिकाको आवधिक योजना,
–राजनैतिक दल, संघ संस्था, नागरिक समाज र बुद्धिजीविबाट प्राप्त सुझावहरू ।
सभाका सदस्यहरू,
म अब चालु आ.व २०८१।०८२ मा हालसम्म गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रमहरूमा निर्दिष्ट गरेका उद्देश्यहरू प्राप्ति र वार्षिक बजेट तथा योजना कार्यान्वयनलाई अन्तिम चरणमा पुर्याएको छ। चालु आ.व २०८१/०८२ मा हालसम्म गाउँपालिकाले सम्पादन गरेका केही महत्वपूर्ण कार्यहरू र उपलब्धिहरू यस गरिमामय सभामार्फत सबै बरेङवासी नागरिकहरूलाई जानकारी गराउन चाहन्छु ।
क. भौतिक उपलब्धि
१. प्रदेश र संघीय सरकारबाट हस्तान्तरित सबै योजनाहरू कार्यान्वयन गरिएको छ जसमध्ये केही ठूला र महत्वपूर्ण योजनाहरू यहाँहरुको बीचमा प्रस्तुत गर्न चाहन्छु ।
२. गाउँपालिकाको वडा नं. २ हुग्दिशिर र वडा नं. ३ बाटाकाचौरमा २४ वटा सडक सौर्यबत्ती जडान गरिएको छ ।
३. यस आर्थिक वर्षमा गाउँपालिकाको आफ्नै पहलमा सुदला मान्द्रेढुङगा नयाँबजार सडक खण्डमा १ हजार २ सय ५१ मिटर सडक कालोपत्रे र ३ सय ६ मिटर सडक ढलान सम्पन्न गरिएको छ ।
४. गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा गाँउपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का प्रकृया अगाडी बढाइएको छ।गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादाताप्रति हार्दिक आभार तथा सम्मान प्रकट गर्दछु ।
५. उर्लेनी पेरिवाङ सडकअन्तर्गत ७ सय ८० मिटर सडक ढलान गरिएको छ । जिमिरेघाटमा पक्की कल्भर्ट निर्माण भएको, १ हजार ६ सय मिटर सडक ग्राभेल भएको छ । बरेङ गा.पा २ हुग्दिशिरको बराहकोटमा मानिस तर्ने स्टिलपुल निर्माण गरिएको छ । ३ सय ५० घ. मि. प्लम वाल, ४ सय ४६ घ.मि.ग्याबिन वाल निर्माण गरिएको छ ।
६. विभिन्न वडाहरूमा जम्मा ५ दशमलव ७० कि.मि. नयाँ ट्रयाक खोलिएको छ, ३५ दशमलब ५ कि.मि. सडक सरसफाइ, १ दशमलव ५ कि.मि. सडक चौडा पारिएको छ, । ७ सय मिटर सडक ढलान, ४ सय मिटर पक्की नाली, २ वटा क्रस ड्रेन, १ सय ५० घ.मि. ग्याबिन वाल र ५ सय घ.मि. मेसिनरी वाल लगाउने काम सम्पन्न भएको छ ।
७. वडा न. ४ सल्यानको भैसेखोला झरना, बरेङ फनपार्क, सत्यवति मन्दिर, सुखौरा हरित पार्क लगाएतका पर्यटकीय स्थलहरूमा पूर्वाधार निर्माण तथा व्यवस्थापकीय कार्य सम्पन्न गरिएको छ ।
८. सिँचाइतर्फ १ हजार १ सय मिटर पक्की कुलो निर्माण, ४ सय ५० मिटर पाइपलाइन विस्तार भएको छ ।
९. खानेपानी तथा सरसफाइतर्फ दुधिलेखोला बरेङ खानेपानीसहित विभिन्न वडाहरूमा १६ दशमलब ४८ कि.मि. पाइपलाइन विस्तार, ८ वटा इनटेक, ५ वटा रिजर्भवायर टयाङकी निर्माण सम्पन्न भएको छ ।
१०. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाको समेत लागत साझेदारीमा १ सय ४० जनालाई ५० दिन बराबरको रोजगार प्रदान गरिएको छ । जसमा २ सय २२ मिटर पक्की सिँचाइ कुलो, ५ सय ७० मिटर पक्की पदमार्ग, मोटरबाटो ढलान ३७ मिटर, पक्की नाली १ सय ३० मिटर, प्रतिक्षालय, शौचालय, मोटरेबल कल्भर्ट, कल्भर्ट, मन्दिर, आमा प्रतिक्षा घर लगायतका योजना १६ वटा, मोटरबाटो कजवे २४ मिटर र ४० जनालाई मेसन सम्बन्धी सिप विकास तालिम दिइएको छ । विभिन्न देशको श्रम स्वीकृतमा ५१ जनालाई सहजीकरण गरिएको छ भने वैदेशिक रोजगार बोर्ड सम्बन्धी पारिवारिक स्वास्थ्य उपचारमा २ जनालई आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ ।
ख. आर्थिक तथा सामाजिक उपलब्धिः
समृद्धिको प्रमुख आधार आर्थिक विकास र बरेङको आर्थिक विकासको मेरुदण्ड कृषि तथा पशुपन्छी विकास भएकाले यस क्षेत्रलाई प्राथमिकता दिदै गरिएका प्रमुख उपलब्धिहरू निम्नानुसार छ्न् ।
११. किसानको उत्पादन, गाउँपालिकाको अनुदान अभियानअन्तर्गत ३५ जना विभिन्न कृषकहरू तथा उद्यमी समूहहरूलाई मेसिनरी औजार उपकरण तथा प्राविधिक सहयोग र प्रविधि हस्तान्तरण गरिएको, ८ जना कृषकलाई ७५ प्रतिशत अनुदानमा ग्रीन हाउस निर्माण, ४५ जना कृषकलाई निःशुल्क प्लाष्टिक टनेल वितरण, ८ जना कृषकलाई ५० प्रतिशत अनुदानमा ४० वटा मौरी घार र गोला वितरण गरिएको छ ।
१२. वडा नम्बर ५ सुखौरामा १५ जना कृषकलाई गोब्रे च्याउ खेती सञ्चालन गरी २ हजार ९ सय ४० किलोग्राम उत्पादन गरी बजारीकरण गरिएको छ । जसबाट कृषकहरूले रू. ५ लाख ८८ हजार आम्दानी गरेका छन् ।
१३. व्यावसायिक फलफूल विकास प्रवद्र्धन गर्ने उद्देश्यका साथ वडा नं १,२ र ५ गरी ९ सय बोट ओखर र २ सय बोट स्याउका विरुवा वितरण गरिएको छ ।
१४. मुख्यमन्त्री नवप्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत वडा नम्बर १ लिउँवामा २० रोपनी क्षेत्रफलमा १० वर्षको लागि सम्झौता गरी हाल १५ रोपनी जग्गामा ४ हजार ५ सय डल्ले खुर्सानी बेर्ना रोपिएको र ५ रोपनी जग्गामा बेसार खेती गरिएको छ । जसका लागि १६ ग्रीन हाउस, २ वटा नर्सरी टनेल र १ वटा प्रशोधन केन्द्र साथै खेती गर्ने जग्गा घेराबार समेत गरिएको छ ।
१५. परम्परागत कृषि प्रणालीबाट आधुनिक र व्यावसायिकतातर्फ रुपान्तरणका लागि अगुवा कृषकहरूलाई नजिकका स्थानीय तहहरूले गरेका असल अभ्यासहरूको स्थलगत अध्ययन अवलोकन गराइएको छ ।
१६. समाजमा व्याप्त गरिबी असमानता र वर्गीय विभेदलाई न्यूनीकरण गर्न कृषि र पशु विकासको क्षेत्रमा हेफर प्रोजेक्ट नेपाल र बिवाईसी बागलुङसँगको साझेदारीमा साना किसानसँग बरेङ कार्यक्रम सञ्चालन भइरहेको छ । जसले महिला, युवा र समाजमा पछाडी परेका समुदायको सशक्तिकरणमा समेत जोड दिएको छ ।
१७. पशु विकास शाखाअन्तर्गत ९ सय ५० कृषकहरूलाई पशु स्वास्थ्य उपचार सम्बन्धी औषधि वितरण, ७० कृषकहरूलाई महीमदानी वितरण, ३९ हजार माछामा भुरा वितरण, १५० सामुदायिक कुकुर तथा घरपालुवा कुकुरलाई खोप लगाइएको छ ।
१८. एक सय गाई गोरुलाई लम्फी स्कीन सम्बन्धी खोप, बंगुरको भुनी वितरण, ७ जना व्यवसायिक कृषकहरूलाई च्यापकटर वितरण, २ कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा गिरीराज चल्ला वितरण, नश्ल सुधारका लागि व्यावसायिक फर्महरूलाई ९ वटा बोयर र जमुनापारीका बोका वितरण लगायत कार्य सम्पन्न गरिएको छ ।
१९. कृषि उत्पादनको उचित बजारीकरणको लागि बरेङ बजारमा हाटबजार सञ्चालनको लागि पूर्वाधार तयार भएको छ ।
२०. उद्यमशीलता विकास तालिम अन्तर्गत प्राविधिक सिप विकास गर्न २९ जना युवालाई आलु चिप्स बनाउने तालिम, १० जनालाई अचार बनाउने तालिम र १० जनाको समूहमा रहेको बरेङ होजीयारी समूहलाई स्तरउन्नति तालिम र प्रविधि हस्तान्तरण एवं स्वरोजगार बन्न प्रोत्साहित गरिएको छ ।
स्वच्छ बरेङ स्वस्थ बरेङवासी अभियानमार्फत बरेङवासी नागरिकहरूलाई पर्याप्त आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गराउनका लागि सधैँ सचेत रहदै यस क्षेत्रमा गरिएका प्रमुख उपलब्धिहरूलाई यहाँ प्रस्तुत गर्न चाहन्छुः
१. बरेङको अभियान, स्वयंसेविकालाई सम्मान भन्ने नारालाई चरितार्थ गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि मोवाईल सेवा, निःशुल्क स्वास्थ्य विमा, आँखा स्वास्थ्य तालिम जस्ता कार्यक्रम सञ्चालन गरिएको छ।चालु आ.व को बैशाख मसान्तसम्म ७ हजार ८ सय ८ जना नागरिकहरूलाई प्रत्यक्ष सेवा प्रदान गर्ने सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदी बहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
२. नागरिकको पायक पर्ने स्थानमै बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नको लागि सबै वडाहरूमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जसमा ९ सय ११ जना नागरिकहरूले प्रत्यक्ष लाभ प्राप्त गर्नुका साथै उक्त स्वास्थ्य शिविरमा ३ सय ५४ जनाको भिडियो एक्सरे, ९ जनाको एक्सरे र २ सय १३ जनालाई ल्याव सेवा प्रदान गरिएको थियो भने ४ लाख भन्दा बढीको औषधी निःशुल्क रूपमा वितरण गरिएको छ ।
३. स्वास्थ्यकर्मीसँग, जेष्ठ नागरिक दंग भन्ने नारालाई कार्यान्वयन गर्दै सबै वडामा स्वास्थ्यकर्मीहरूलाई जेष्ठ नागरिकको घर घरमा स्वास्थ्य परीक्षण, उपचार र प्रेषण गर्ने कार्य गरिएको छ जसबाट ९ सय ९९ जना जेष्ठ नागरिकहरूलाई सेवा प्रदान गरिएको छ ।
४. स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला परीक्षण अभियानमार्फत २ सय ९३ जना ४० वर्ष माथिका नागरिकहरूको मृगौला, कलेजो, मधुमेह जस्ता परीक्षण गरिएको छ ।
५. विद्यार्थीहरूलाई वडाका स्वास्थ्यकर्मीहरू मार्फत पोषण, किशोरकिशोरी शिक्षा, महिनावारी स्वच्छता, सरुवा रोग, आत्महत्या न्यूनीकरण लगायतका विषयमा १ सय ५० ओटा भन्दा बढी स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गरिएको छ ।
६. बरेङको रहर, शुन्य मातृ शिशु मृत्यूदर भन्ने नारालाई चरितार्थ गर्न सुत्केरी व्यथा लागेदेखि डिस्चार्ज नभएसम्मको लागि बर्थिङ सेन्टरमै एक जना सहयोगी सहित खाने बस्ने व्यवस्था गर्ने, तालिम प्राप्त नर्सिङ कर्मचारीद्वारा गर्भवती महिलाको भिडियो एक्सरे गरिएको छ, जसबाट चालु आर्थिक वर्षमा पनि घरमा सुत्केरी हुने महिलाको संख्या शून्यमा कायम राख्न सफलता प्राप्त भएको छ । यसको लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
७. स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधीहरूको उपलब्धता कायमै राखिनुका साथै सामुदायिक औषधी कार्यक्रम मार्फत सुलभ दरमा औषधी वितरण गरिएको छ ।
८. क्यान्सर तथा मृगौला रोगीहरूको लागि मासिक ५ हजारका दरले औषधी उपचार खर्च उपलब्ध गराउनुका साथै घातक रोगको उपचार सहुलियत सिफारिस गरिएको छ ।
९. पाँच वर्ष मुनिका ६ सय ७१ जना बालबालिकालाई भिटामिन ए र ६ सय १ जना बालबालिकालाई जुकाको औषधी वितरण गरिनुका साथै विद्यालय जाने सबै विद्यार्थीहरूलाई जुकाको औषधी र सबै किशोरीहरूलाई आइरन फोलिक एसिड चक्की वितरण गरिएको छ । चालु आ.व को बैशाख मसान्तसम्ममा १७ हजार ४ सय ५३ जना नागरिकलाई सेवा प्रदान गरिएको छ ।
१०. ४ सय ३७ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप लगाइनुका साथै राष्ट्रिय खोप तालिका अनुसार सबै खोपहरू पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।
११. जेष्ठ नागरिकहरूका ज्ञान, अनुभव र भोगाइको आदानप्रदान गर्नुका साथै उचित सम्मान गर्ने उद्देश्यका साथ उमेर चौरासी सम्मान कार्यक्रमअन्तर्गत ११० जना ज्येष्ठ नागरिकलाई घर दैलोमा गई सम्मान गरिएको छ ।
१२. किशोरी सम्मेलन, महिला हिंसा न्यूनिकरण, बालविवाह, बालश्रम शोषण ,विभेद न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । महिला सशक्तिकरण कार्यक्रम अन्गर्गत वडा नं. ४ सल्यानमा ११ जनालाई अचार बनाउने तालिम दिइएको छ । वृद्ध वृद्धासँग नयाँपुस्ता दङ्ग कार्यक्रमअन्तर्गत सर्वोदय माविमा ज्येष्ठ नागरिक र विद्यार्थीहरूबिच अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
१३. ग र घ वर्गका अपाङ्गता परिचयपत्र भएका ९० जनालाई वार्षिक २ हजारका दरले भत्ता वितरण गरिएको छ । स्वास्थ्य शाखाको समन्वयमा विपन्न दीर्घरोगी स्वास्थ्य बिमा कार्यक्रम र एक घर एक महिला रोजगार कार्यक्रमबाट ४ जना लाभान्वित भएका छन् ।
संविधानतः स्थानीय सरकारको जिम्मेवारीका रूपमा रहेको माध्यमिक शिक्षाको विकासका लागि गरिएको प्रयासका कारण प्राप्त केही प्रमुख उपलब्धिहरू यस प्रकार रहेका छन्
१. प्राविधिक शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट एसईई उत्तीर्ण गरी विभिन्न विधाहरूमा प्राविधिक शिक्षा हासिल गरिरहेका गाउँपालिकाका विद्यार्थीहरूलाई चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि, पशु लगायत विभिन्न प्रकारका प्राविधिक धारका विषयमा अध्ययनरत १४ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति वितरण गरिएको। साथै दलित, विपन्न तथा जेहेन्दार १६ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
२. कार्यसम्पादन सूचकका आधारमा गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरी कूल १० वटा विद्यालयहरूको शैक्षिक, भौतिक, आर्थिक लगायत समग्र पक्षको मूल्याङ्कन तथा वर्गीकरण गरी प्रमाणपत्र र कार्यसम्पादनका आधारमा प्रोत्साहन रकम स्वरूप शारदा मावि बरेङ ३ बाटाकाचौरलाई रू. ३ लाख र महेन्द्र मावि बरेङ ५ सुखौरालाई रू. २ लाख रकम प्रदान गरिएको छ ।
३. कक्षा १–३ सम्म स्थानीय पाठ्यक्रम र सोको आधारमा कक्षा ३ सम्मको स्थानीय पाठ्यपुस्तक हाम्रो बरेङ लेखन कार्य सम्पन्न गरिएको, गाउँपालिकाको शैक्षिक प्रोफाइल तथा ५ वर्षे शैक्षिक योजना कार्यान्वयनको चरणमा रहेको, कक्षा १–८ सञ्चालित आधारभूत विद्यालय र माध्यमिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला, पुस्तकालय, स्यानिटरी प्याड तथा आईसिटी व्यवस्थापन गरिएको छ ।
४. कक्षा ६ का विद्यार्थीहरूका लागि दिवा खाजाको प्रबन्धबाट १ सय ८२ जना विद्यार्थीहरू लाभान्वित भएका छन् ।
५. असहाय र बेसहारा तथा अति विपन्न बालबालिहरूको संविधानले प्रदत्त गरेको मौलिक हकको कार्यान्वयन गर्नका लागि आवासीय विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृति गरी छनोट तथा सञ्चालन प्रक्रिया अघि बढाइएको छ ।
६. गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १८ वटा विद्यालयहरूमा पूर्वाधार विकासका अलवा क्ष्ऋत् व्यवस्थापन, एक कक्षा एक प्रोजेक्टर, स्वच्छ खानेपानी व्यवस्थापन जस्ता कार्यक्रम कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिइएको छ ।
७. गाउँपालिका स्तरीय सिकाइ उपलब्धि मापन परीक्षा सञ्चालन गरी उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, विद्यालय तथा अभिभावलाई पुरस्कार सहित प्रोत्साहन गरिएको साथै आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गर्ने १० जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।
८. गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको साथै विद्यालयहरूलाई अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन साथै परीक्षा सञ्चालन तथा व्यवस्थापन खर्च उपलब्ध गराइएको,
ग. संस्थागत उपलब्धी
१. आर्थिक वर्ष २०८०।०८१ को महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण प्रतिवेदनमा जिल्लाभरिमा सबै भन्दा कम रकम बेरुजु कायम भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
२. विकास र सेवा प्रवाहलाई सुदृढ र प्रभावकारी बनाउन कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास सम्बन्धी तालिम सम्पन्न गरिएको छ । सेवा प्रवाहलाई छिटो र छरितो बनाउन रिक्त दरबन्दीमा जनशक्ति व्यवस्थापन गरिएको छ ।
३. कानुन निर्माणतर्फ १६ वटा ऐन, र विभिन्न नियमावली, कार्यविधि, मापदण्ड र निर्देशिकाहरू गरी जम्मा ६७ वटा निर्माण गरिएको छ । गाउँपालिकाको त्रिवर्षीय क्षमता विकास योजना निर्माणका र न्यायिक समिति मार्फत स्थानीय विवाद मेलमिलाप तथा निरूपण सम्बन्धी कार्य सम्पन्न गरिएको छ ।
४. गाउँपालिकाको न्यून आन्तरिक आयको समस्या समाधान गर्नका लागि करदाता शिक्षाको व्यवस्था गर्नुका साथै घरदैलो कर सङ्कलन अभियान सञ्चालन गरी चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको आन्तरिक आय प्राप्ति गरिएको छ ।
५. सार्वजनिक सेवाप्रवाहलाई चुस्त, दुरुस्त, सहज र प्रभावकारी बनाउन विभिन्न सफ्टवयरहरूको व्यवस्था, नागरिक बडापत्रको व्यवस्था, सूचना प्रविधिको प्रयोग, नागरिक घरदैलो कार्यक्रम लगायत सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाइएको छ ।
६. सरकारी सम्पत्तिको संरक्षण, सदुपयोग र अभिलेखाङ्कनलाई व्यवस्थित गर्न पाम्स भि टु लाई पूर्ण रुपमा प्रयोगमा ल्याइएको छ ।
घ. वातावरणीय उपलब्धि
७. गाउँपालिकाभित्र विभिन्न समयमा हुन सक्ने विपद्जन्य घट्नाहरूलाई मध्यनजर गर्दै वडा नं ३ मा गाउँपालिकास्तरीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी सञ्चालनमा रहेको छ ।
८. हुग्दिखोला, मजुवा ठूलोखोला, खाल्लेखोला लगायत गाउँपालिकाभित्रका प्रमुख खोलाहरूमा विगतका वर्षहरूमा जम्मा भएका नदिजन्य पदार्थहरूका कारण हुन सक्ने जोखिमलाई समेत मध्यनजर गर्दै उक्त खोलाहरूबाट नदिजन्य पदार्थहरू सङ्कलन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी ठेक्का प्रक्रियाबाट हुग्दिखोलाको सुदला र घट्टमा कार्य अघि बढाइएको छ ।
९. वडा नं १ धुल्लुबास्कोट र वडा नं ३ बाटाकाचौरमा सबडिभिजन वन कार्यालयसँगको साझेदारीमा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । साथै मनसुनजन्य विपद् बाट प्रभावित नागरिकहरूको निजी आवास पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको छ ।जस अन्तर्गत ८ घरपरिवार लाभान्वित भएका छन् ।
सभाका सदस्यहरू,
अब म आ.व. २०८२।०८३ को क्षेत्रगत प्रमुख नीति र प्राथमिकता प्राप्त प्रमुख कार्यक्रमहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
बरेङको विकासको साधन र साध्य दुवै बरेङवासी नागरिक भएको तथ्यलाई मध्यनजर गरी बरेङको विकासमा स्वयम् बरेङवासीहरूको संलग्नता र प्राप्त विकासको प्रतिफल वितरणमा समन्यायिकता कायम गर्ने गरी वार्षिक नीति तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारण गरिएको छ ।
नेपालको संविधानमा उल्लिखित एकल र साझा अधिकारसूची, स्थानीय सरकारको जिम्मेवारी, संघ तथा प्रदेश सरकारको आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रमलाई समेत मध्यनजर गर्दै आर्थिक वर्ष २०८२।०८३ का लागि आत्मसात गरिएका केही प्राथमिकता प्राप्त प्रमुख कार्यक्रमहरू यहाँ उल्लेख गर्न चाहन्छु ।
क) आर्थिक क्षेत्र
कृषि तथा पशुपन्छी विकास
१.“कृषिमा यान्त्रीकरण, खेतीमा आधुनिकीकरण” अभियानअन्तर्गत क्षेत्र तथा भूगोल अनुसार हाते ट्याक्टर कुटानी पिसानी र कृषिसँग सम्बन्धित औजारहरू किसानको लागत साझेदारीमा उपलब्ध गराइनेछ । हावापानीका आधारमा कृषक समुह मार्फत नयाँ तरकारी पकेट स्थापना र विस्तार गरिनेछ ।
२. “बाली राखौं संकलन केन्द्रमा, लाभ लिऔं बजारमा” भन्ने नाराका साथ कृषकहरूको उत्पादनलाई बरेङ बजारमा साप्ताहिक रुपमा कृषि हाट बजार र हरेक वडामा कृषि संकलन सञ्चालन गरिनेछ । गाउँपालिकाभित्रका कृषकहरूलाई आफ्नो उत्पादित वस्तु बजारसम्म पुर्याउन ढुवानीमा अनुदान प्रदान गर्ने नीति अवलम्बन गरिने छ ।
३. ‘रासायनिक होइन, जैविक विषादी अपनाऔ, हरियाली खेतबारी, समृद्ध गाउँ बनाऔं’ भन्ने नाराका साथ कृषि उत्पादन वृद्धि गर्न एकीकृत बाली संरक्षण तथा जैविक विषादी कार्यक्रम सञ्चालन गरिनेछ ।
४. “प्रविधिको खेला, कृषकको मेला, अबको खेती फरक होला” भन्ने मूल नाराका साथ उत्पादित वस्तुको मूल्याङकन गरी कृषि मेला प्रर्दशनमा कृषकहरूलाई प्रोत्साहन गरिनेछ । परम्परागत र आधुनिक खेती प्रविधिविच कृषि उत्पादन प्रर्दशन कार्यक्रम सञ्चालन गरिने छ । वर्षे तथा हिउदे फलफुलका विरुवा वितरणमा अनुदानलाई निरन्तरता दिइनेछ ।
५. “घरमै गरौँ च्याउ खेती आत्मनिर्भर बनौँ अबदेखि’ भन्ने नाराका साथ बरेङ गाउँपालिका वडा नं ५ सुखौरामा च्याउ पकेट कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
६. “आफ्नै बारी, आफ्नै तरकारी, आत्मनिर्भर बरेङ हाम्रो जिम्मेवारी” भन्ने नारासहित बरेङलाई तरकारी खेतीमा आत्मनिर्भर बनाइने छ ।
७. ‘स्थानीय डल्ले खुर्सानी र बेसारको शक्ति, समृद्ध कृषक, आत्मनिर्भर बस्ती’ भन्ने नाराका साथ बरेङ गाउँपालिका वडा नं १ लिउवामा स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन प्रशोधन तथा बजारीकरण परियोजनालाई निरन्तरता दिइनेछ ।
८. हेफर प्रोजेक्ट नेपाल र बिवाईसी बागलुङसँगको साझेदारीमा सञ्चालित साना किसानसँग बरेङ कार्यक्रमलाई निरन्तरता दिइ बरेङलाई स्थानीय डल्ले खुर्सानी र अकबरे खुर्सानीमय बनाइ कृषि पर्यटन हबको रूपमा विकास गरिने छ । बरेङ गाउँपालिकाका ५ वटै वडामा अकबरे खुर्सानी खेती र आधुनिक कृषि प्रणाली अवलम्बन गरिने छ ।
९. “पाडापाडी फाल्न पाइन्न, मासु जान्छ चाइना” भन्ने अभियानका साथ पाडापाडी पालन सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
१०. मासुमा आत्मनिर्भर हुन बाख्रापालक कृषकहरूलाई नश्ल सुधारको कार्यक्रममा निरन्तरता दिइनेछ। खेर गइरहेको कुलो तथा नहरको पानीलाई सदुपयोग गरी माछा उत्पादन गर्न माछाका भुरा अनुदानमा वितरण गरिनेछ ।
११. कृषकहरुको आयआर्जन वृद्धि गरी गरिबी निवारणका लागि आगामी आर्थिक वर्षमा गाउँपालिकाभित्र बंगुरको पकेट क्षेत्र स्थापना गरि बंगुरमा नश्ल सुधार गर्न बंगुर पालक कृषकहरूलाई बंगुरका बिर तथा भुनी वितरण गरिनेछ ।
१२. “स्वस्थ मासु स्वस्थ दुध, आफ्नै आयु बढ्छ खुद” नाराका साथ पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने महामारीजन्य सङ्क्रामक सरुवा रोगको नियन्त्रण गर्न खोप अभियान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१३. “कोसे हिउदे डाले घाँस, बजारको दानाको छैन आस, आम्दानी हुन्छ बल्ल खास” नाराका साथ मौसम अनुसारका घाँसका बिउ तथा डाले घाँसका बिरुवा वितरण गरिनेछ ।
पर्यटन
१. ‘बरेङको सान, आन्तरिक पर्यटन’को मूल नारालाई निरन्तरता दिँदै पर्यटनलाई गाउँपालिकाको आर्थिक विकासको आधारका रूपमा विकास गरिनेछ ।
२. सञ्चार माध्यमसँगको सहकार्यमा गाउँपालिका भित्रका साग्दी सत्यवती मन्दिर, कालीलेक, सिद्धथान मन्दिर, कौडे डाँडा, छहरेखोला (भैंसेखोला) झरना, बरेङ फनपार्क, भित्रीवन देउराली, तमुखोला हरितपार्क, भातेपोखरा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र पूर्वाधार विकासलाई निरन्तरता दिइनेछ ।
३. गाउँपालिकाभित्र रहेका हरिया वनजङ्गल र जीवजन्तुहरूको प्रचुरतालाई मध्यनजर गरी सामुदायिक वन उपभोक्ता समितिहरूलाई जैविक पर्यटन विकास तथा जडिबुटी संरक्षण र प्रवर्धनको लागि प्रोत्साहन गरिनेछ ।
४. गाउँपालिकामा आउने पर्यटकहरूलाई शत प्रतिशत स्थानीय उत्पादनमा आधारित परिकार, स्थानीय स्तरमै उत्पादित मायाको चिनो व्यवस्था गर्दै स्थानीय उत्पादनलाई पर्यटन प्रवर्धन र प्रचारप्रसार गरी आर्थिक विकाससँग जोडिनेछ ।
उद्योग, उद्यमशीलता तथा सहकारिता
१. “बरेङको चिन्तन, उद्यमशिलता प्रवर्धन” को सोचसहित युवाहरूको बढ्दो वैदेशिक पलायनलाई रोक्ने र स्वदेशमै केही गरौँ भन्ने भावनाको विकास गर्न सिपमूलक तालिम र तालिम पश्चात निश्चित मापदण्डका आधारमा स्टार्टअप पुँजीको प्रबन्ध मिलाइनेछ ।
२. घरेलु तथा साना उद्योग स्थापनाका लागि प्रोत्साहन गर्नुका साथै हाल गाउँपालिकाभित्र सञ्चालित यस्ता उद्योग व्यवसायलाई संरक्षण र सहयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
३. स्थानीय कच्चापदार्थ, स्रोत साधन र जनशक्तिको परिचालन गरी जडिबुटी प्रशोधन तथा बाँकोको गुन्द्रुक उत्पादन तथा बजारीकरणमा सहजीकरण गरिनेछ ।
४. विगत वर्षहरूमा गाउँपालिकाद्वारा तालिम प्रदान गरी सञ्चालन गरिएका होजियारी, आलु चिप्स, अचार व्यवसाय आदिलाई आवश्यक सहयोग प्रदान गरी थप व्यावसायिक र व्यवस्थित बनाउन सहयोग गरिनेछ ।
५. युवा, महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, विपन्न र आर्थिक तथा सामाजिक रूपमा पिछडिएका व्यक्तिहरू र लक्षित वर्गहरूका लागि सिपमूलक एवम् आयमूलक तालिमको व्यवस्था गरी उद्यमशीलता प्रवर्धन र आत्मनिर्भरता विकासका लागि कानुनी, प्रशासनिक र प्रक्रियागत सहजीकरणका अतिरिक्त प्रोत्साहनको व्यवस्था गरिनेछ ।
६. गाउँपालिकाभित्र रहेका सहकारीहरूलाई नियमित रूपमा नियमन गर्नुका साथै सहकारी शिक्षा र सहायताका माध्यमबाट बरेङको अर्थतन्त्रमा योगदान गर्न सक्ने गरी सबल र सक्षम गराइनेछ ।
ख) सामाजिक विकास
शिक्षा, युवा तथा खेलकुद
१. विपन्न, दलित, जेहेन्दार तथा लक्षित वर्गहरूका लागि प्राविधिक अध्ययन छात्रवृत्ति तथा अन्य प्रोत्साहनमूलक छात्रवृत्ती उपलब्ध गराइनेछ ।
२. युवा क्लवहरूको सक्रिय सहभागितामा खेलकुद विकास कार्यक्रमहरू सञ्चालन, खेल सामग्री वितरण, साथै यस गाउँपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने उत्कृष्ट खेलाडी सम्मान जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
३. गाउँपालिका स्तरीय शैक्षिक कोषमार्फत सुत्केरी बिदामा सट्टा शिक्षक व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
४. शिक्षण सिकाइ क्रियाकलापलाई प्रयोगात्मक बनाउन शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ ।
५. आगामी आ.व. देखि गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरी विद्यार्थी र विद्यालयहरूकोबिचमा स्वच्छ प्रतिष्पर्धाको भावना र खेलकुद विकासलाई थप व्यवस्थित र सुदृढ बनाइनेछ ।
६. कक्षा ६ मा अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
७. विद्यालय र अभिभावकको लागत साझेदारीमा कक्षा ६–१० मा गणित, विज्ञान र अङ्ग्रेजी विषयको कम्तिमा तीन महिना अतिरिक्त कक्षा सञ्चालन गरी सिकाइ उपलब्धि थप वृद्धि गरिनेछ ।साथै विषय विशेषज्ञद्वारा नमूना कक्षा सञ्चालन तथा प्रविधिमैत्री कक्षा सञ्चालन गरी नतिजा सुधारमा जोड दिइनेछ ।
८. गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई आवासीय विद्यालय व्यवस्थापनसँग जोडिनेछ र नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क तथा अनिवार्य शिक्षाको पहुँचबाट कोहि पनि बञ्चित नहुन् भन्नका लागि विपन्न, बेसहारा, अभिभावकबिहिन तथा विद्यालय समायोजन हुँदाका बखत विद्यालयको दुरी टाढा भइ विद्यालय जान कठिन भएका बालबालिकाहरूका लागि सुविधा सम्पन्न आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन गरिने छ ।
९. शिक्षक, अभिभावक र विद्यार्थीलाई शिक्षण सिकाइमा प्रोत्साहन गर्ने उद्देश्यले सिकाइ उपलब्धि मापन परीक्षा सञ्चालन गरी उत्कृष्ट हुने शिक्षक, विद्यार्थी र अभिभावक तथा विद्यालयलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१०. विद्यार्थीको सिर्जनात्मक क्षमताको प्रस्फुटन र पहिचान गरी उत्कृष्ट प्रतिभाको कदर र प्रोत्साहित गर्ने कार्यलाई थप व्यवस्थित गरिनेछ ।
११. आगामी आ.व. मा स्थानीय पाठ्यपुस्तक (हाम्रो बरेङ) कक्षा ४ र ५ को पाठ्यपुस्तक तयार गरी विद्यालयमा पु¥याइनेछ ।
१२. मुलुकको शासकीय व्यवस्था र शासन प्रणालीको बारेमा प्रत्यक्ष अनुभूति प्रदान गर्न बरेङ गाउँपालिकाले आयोजना गर्ने गाउँसभा तथा गाउँ कार्यपालिका बैठकमा गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आमन्त्रण गरी सहभागी बनाइनेछ ।
१३. “एकदिन अभ्यासमा, जिन्दगीभर आत्मविश्वासमा” भन्ने नारासहित गाउँपालिकाभित्र सञ्चालित विद्यालयमा प्रत्येक महिनाको कम्तिमा एक दिन बुक फ्रि फ्राइडे कार्यक्रम लागू गरी परम्परागत ज्ञान सीप तथा आधुनिक प्रविधिको ज्ञान सीप प्रदान गरिनेछ । साथै गाउँपालिकाबाट विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक कक्षा सञ्चालनको व्यवस्था गरिनेछ ।
१४. बिगतमा विद्यालय अपरिहार्य भएका बखत विद्यालय स्थापनार्थ योगदान गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै न्यून विद्यार्थी संख्या भएका विद्यालयलाई नजिकका विद्यालयमा समायोजन गरी न्यून सहपाठीका कारण बालबालिकाहरू सामाजिक, मनोवैज्ञानिक र संवेगात्मक पक्ष तथा प्रतिष्पर्धात्मक भावनाको विकासबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिनेछ ।
१५. व्यवस्थापकीय कुशलता अभिवृद्धिका लागि प्रधानाध्यापकलाई व्यवस्थापकीय तालिम प्रदान गरिनेछ । हाल प्रधानाध्यापकलाई प्रदान गरिदै आएको थप प्रअ भत्तालाई नतिजामूखी बनाउन मासिक प्रतिवेदनका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरी निश्चित सूचक पूरा गरे पश्चात प्रोत्साहन स्वरूप उपलब्ध गराइनेछ ।
१६. शिक्षकहरूलाई कार्यसम्पादन क्षमता र विषय विज्ञताको आधारमा आन्तरिक सरुवा गरिनेछ । विज्ञ शिक्षकहरूको रोष्टम खडा गरी विद्यालय अनुगमन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ । साथै मितेरी कक्षा सञ्चालनको अवधारणा लागू गरिनेछ ।
स्वास्थ्य क्षेत्र
१. “सुरक्षित मातृत्व, सबैको दायित्व” भन्ने नारालाई चरितार्थ गर्न गर्भवती महिला र नवशिशूको स्वास्थ्य सुरक्षाको लागि घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्दै “पूर्ण संस्थागत सुत्केरी कार्यक्रम” निरन्तरता दिइनेछ र गाउँपालिकाभित्रका सबै बर्थिङ सेन्टरहरू र स्वास्थ्य संस्थाहरुको सुदृढिकरण र व्यवस्थापन गरीनेछ। साथै आमा प्रतिक्षा घरलाई थप व्यवस्थित बनाइनेछ ।
२. क्यान्सर, मृगौला, मुटु रोग, मधुमेह, स्वास प्रस्वास रोग जस्ता नसर्ने रोगको स्कृनिङ गरी समयमै उपचार तथा प्रेषण गर्न प्रयोगशाला सञ्चालनमा रहेका स्वास्थ्यचौकीहरूबाट दैनिक र अन्य स्वास्थ्यचौकीहरूबाट महिनाको १ दिन प्रयोगशाला परीक्षण गर्ने गरी “प्रयोगशाला परीक्षण अभियान” कार्यक्रम सञ्चालन गरिनुका साथै ४० बर्ष नाघेका सबै बरेङवासीहरूको निःशुल्क मृगौला परीक्षण गरिनेछ ।
३. स्वस्थकर जीवनशैली अपनाउन र योग ध्यानमार्फत निरोगिता प्राप्त गर्नको लागि नागरिक आरोग्य सेवा केन्द्र बरेङ मार्फत योग अभ्यास कार्यक्रम, सबै वडाहरूमा विस्तार गर्न “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” कार्यक्रम लागु गरिनेछ। नागरिक आरोग्य सेवा केन्द्रलाई थप व्यवस्थित र सेवामुखी बनाइनेछ ।
४. स्वास्थ्य संस्थाहरूबाट प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी, समय सापेक्ष र गुणस्तरीय बनाउन औषधी तथा औजार उपकरणले सु–सज्जित बनाईनुको साथै स्वास्थ्यकर्मीहरूलाई समयानुकुल तालिम र प्रोत्साहनको व्यवस्था गरिनेछ।गाउँघर क्लिनिक, खोप क्लिनिक तथा विद्यालय स्वास्थ्य शिक्षा र विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रमलई नियमित र व्यवस्थित गरिनेछ । प्रविधिमैत्री स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी बनाउन आवश्यक व्यवस्था गरिने छ ।
५. स्वास्थ्य संस्थाहरूबाट वितरण गरिने ९८ प्रकारका बाहेकका औषधी स्वस्थ्य संस्थामै अंकित मूल्य भन्दा २० प्रतिसत छुट मूल्यमा उपलब्ध गराउन स्वास्थ्यचौकीहरूमा सञ्चालित सामुदायिक औषधी कार्यक्रमलाई थप व्यवस्थित र जनमुखी बनाउनको लागि “मेरो स्वास्थ्य मेरो लगानी” कार्यक्रम लागु गरिनेछ । गर्भवती महिलाहरूको लागि क्याल्सियम चक्कीको वितरण, पाठेघर खसेका महिलाहरू र हाईड्रोसिल भएका पुरुषहरूको शल्यकृया र उपचारको लागि आवश्यक व्यवस्था गरिनेछ ।
६. घुम्ती मासिक बैठकलाई निरन्तरता दिइनेछ । स्वास्थ्य संस्था प्रमुखहरूबाटै निश्चित सूचकहरू तयार गर्ने र सबै भन्दा बढी अंक प्राप्त गर्ने स्वास्थ्य संस्थालाई पुरस्कृत गरिनेछ।सामाजिक सेवामा १० वर्ष बढी सेवा गरेका महिका सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक बिदाइको व्यवस्था गरिनेछ ।
७. “समयमै परीक्षण रोगको निदान, स्वस्थ समुदाय बरेङको अभियान” भन्ने नारासहित विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिनेछ ।
८. बालपोषण कार्यक्रम, स्वाश्थ्य संस्था सञ्चालन अनुदानम अश्यक्ष जनता स्वाश्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
९. “स्वास्थ्यकर्मी सँग, जेष्ठ नागरिक दङ्ग” कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम लागु गरिनेछ ।
१०. “बरेङवासीको बानी शुद्द पिउने पानी” नारालाई सार्थक तुल्याउन गाउँपालिकाभित्रै खानेपानी परीक्षण केन्द्र स्थापना गरी सबै मुहानहरूको खानेपानीको नमूना परीक्षण र खानेपानी शुद्दिकरणको लागि आवश्यक व्यवस्था गरिनेछ ।
११. स्थानीय बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकी प्रेषण भएका गर्भवती महिला र सडक दुर्घटनामा परी प्रेषण गर्नुपर्ने अवस्थाका अति विपन्न नागरिकहरूलाई यातायात खर्चको व्यवस्था गरिनेछ । अति विपन्न मानसिक रोगीहरूको लागि निःशुल्क रुपमा औषधी उपलब्ध गराउन पहल गरिनेछ।प्रत्येक ३ महिनामा गर्भवती महिलाहरूको भिडियो एक्सरे र निःशुल्क प्रयोगशाला परीक्षणको व्यवस्था गरिनेछ ।
१२. सुत्केरी महिला र नवशिशूको स्वास्थ्य परीक्षण गर्नको लागि नर्सिङ कर्मचारीद्वारा घरमा नै पुगी भेटघाट गर्नको लागि उत्तर प्रसुति स्वास्थ्य परीक्षण कार्यलाई व्यवस्थित र नतिजामुखी बनाइनेछ ।
१३. स्वास्थ्य संस्थाहरूबाट प्रवाह गरिने नियमित सेवाको अतिरिक्त आयुर्वेद इकाई, आँखा स्वास्थ्य इकाई, दन्त परीक्षण इकाई आदीको सेवा विस्तार गर्नको लागि प्रकृया बढाइनेछ ।
१४. समयमा नै रोग पत्ता लगाई “स्वस्थ बरेङ सुखी वरेङवासी” भन्ने नारालाई सार्थक तुल्याउन स्तन तथा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने शिविर, विध्यार्थी स्वास्थ्य परीक्षण, पत्रु खाना नियन्त्रण, महामारी पूर्वतयारी कार्यक्रम गरिनेछ ।
१५. सतप्रतिसत मृत्यूदर भएको कुकुर प्रजातीको जनावार वा शंकास्पद जनावरले टोकेमा लगाईने रेबिज खोप निःशुल्क गरिनेछ ।
१६. मानव तथा पशुपंक्षीमा गरिने प्रतिजैविक (एन्टीबायोटिक) को अनावश्यक प्रयोगका कारण मौजुदा प्रतिजैविक औषधीले काम गर्न छोडिसकेकोले औषधी पसल, पशुपन्छीको औषधी पसल, पशुपंक्षी फर्महरूको प्रभावकारी अनुगमन गरी प्रतिजैविक औषधीको न्यून प्रयोगमा जोड दिइनेछ ।
१७. आकस्मिक अवस्थाको व्यवस्थापनको लागि सबै स्वास्थ्य संस्थाहरूमा अक्सिजन सिलिण्डर र तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ । स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेखन र प्रतिवेदन प्रणालीलाई व्यवस्थित र निरन्तर गरिनेछ । पारिवारिक स्वास्थ्य प्रोफाईल अध्यावधिक गरिनेछ ।
१८. गाउँपालिकाभर कार्यरत सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवाको उच्च सम्मान गर्दै “बरेङको सान, स्वयंसेविकालाई सम्मान” कार्यक्रम अन्तरगत मोवाइल स्वास्थ्य सेवा, स्वास्थ्य बिमा, तालिम जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
१९. विपन्न, दीर्घरोगीहरूका लागि निःशुल्क स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइने छ ।
२०. “स्वस्थ मन, समुन्नत जीवन” भन्ने नारासहित मानसिक रोगीहरूका लागि औषधि उपचार खर्चको व्यवस्था गरिनेछ ।
श्रम तथा रोजगारी
१. श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रममार्फत श्रम सबैले अनिवार्य गर्नुपर्दछ र श्रमको सम्मान गर्नुपर्दछ भन्ने सूचनात्मक, सन्देशमूलक तथा वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिइनुका साथै श्रमिक सम्मान गरिनेछ ।
२. रोजगार संवाद मञ्च कार्यक्रमलाई निरन्तरता दिँदै समग्र गाउँपालिकाको रोजगारीको अवस्था विश्लेषण गर्ने, निजी संघ–संस्था, सहकारी, गैरसरकारी संस्था, निर्माण व्यवसायी, कृषक, राजनीतिक दलसँग अन्तक्र्रिया गरिनेछ ।निजी संघ सस्था र निर्माण व्यवसायीसँग समन्वय गर्नुका साथै रोजगार सिर्जना गरी सूचीकृतलाई प्राथमिकता दिइनेछ ।
३. वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको श्रम स्वीकृतिमा सहजीकरण गर्ने साथै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका, अलपत्र परेका व्यक्तिहरूलाई राहत, उद्दार गरी आर्थिक सहायतामा सहजीकरण गरिनेछ ।
४. “ऋण होइन, अवसर दिऔँ” भन्ने मान्यतासहित गाउँपालिकाभित्र रहेका अति विपन्न र सूचीकृत बेरोजगार नागरिकहरूलाई विभिन्न योजना तथा कार्यक्रमका साथै उपलब्ध अवसरहरूमा पहिलो प्राथमिकता दिइनेछ । साथै वडागत साझेदारीलाई निरन्तरता दिइनेछ ।
५. “हरेक हातलाई काम, खालीपेटलाई माम” मान्यतासहित विपन्न लक्षित सिपमूलक तालिम कार्यक्रम एकीकृत गरी एउटा व्यक्तिलाई एउटा सेक्टर छान्न लगाइ त्यसैमा सक्षम र आत्मनिर्भर बनाइनेछ । सिप प्रमाणीकरणका लागि सहजीकरण गर्नुका साथै श्रम बैंक स्थापना गरिनेछ ।
६. वैदेशिक रोजगारीका कारण सिर्जना भएका मनोसामाजिक समस्यालाई न्यूनिकरण गर्न स्वास्थ्य शाखासँगको सहकार्यमा समुदायस्तरमा मनोसामाजिक परामर्श सेवा प्रदान गरिनेछ ।
७. निरन्तर नियमन र निगरानी गरी बालबालिकाहरूमाथि हुने श्रम शोषणको अन्त्यका लागि बालश्रममुक्त स्थानीय तह कायम राखिनेछ ।
भाषा संस्कृती ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
१. मगर जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा मगर सँस्कृति र अन्य जातजातिहरूका समेत परम्परागत भेषभुषा, बाजा, भाँडाकुडा आदिलाई संरक्षण गर्न एक साँस्कृतिक घर्संग्राहलयको स्थापनाको लागि पहल गरिनेछ ।
२. प्रथा र परम्पराका रूपमा स्थापित सामाजिक कुसंस्कार र सबै किसिमका जातीय तथा लैङ्गिक विभेदको न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
३. विभिन्न कारण सम्बन्धविच्छेद भै बसेका गाउँपालिकाभित्रका एकल महिलाहरू जसले राज्यबाट कुनै पनि प्रकारको विशेष संरक्षण वा सुविधा प्राप्त गरेका छैनन् उनीहरूलाई मध्यनजर गर्दै सिपमूलक तालिम तथा सशक्तीकरण कार्यक्रममा सञ्चालन गर्ने नीति लिइनेछ ।
४. “लोक परम्परा, नाचगान र जात्रा, सामाजिक÷साँस्कृतिक रुपान्तरणमा बरेङको यात्रा“ अभियान अन्तर्गत गाउँपालिकाभित्रका विभिन्न स्थानीय मौलिक गीत संस्कृति, चाडपर्व, जात्रा, मेला, भेषभूषा लगायत परम्परागत जीवनशैलीलाई जीवन्त राख्न संस्कृति प्रवद्र्धन कार्यक्रम गरिनेछ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक
५. “समता र समानता बरेङको प्रतिबद्धता”को नारासहित महिला बालबालिका तथा ज्येष्ठ नागरिक दलित अपाङ्गता भएका व्यक्ति लगायत सबै लक्षित समूह र आर्थिक सामाजिक रुपमा पिछडीएका समुदायलाई राज्यको मूलधारमा ल्याउनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थाका अतिरिक्त लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको व्यवस्था मिलाइनेछ ।
६. समाजको प्रमुख समस्याको रूपमा बढ्दै गइरहेको लागुपदार्थ दुव्र्यसनलाई न्यूनीकरण तथा रोकथाम गर्न युवा लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
७. घरेलु हिंसालाई निरुत्साहित गर्न हिंसा लुकाउने छिपाउने प्रवृत्तिलाई रोक्न “हिंसा नगरौ हिंसा नसहौं” अभियान सञ्चालन गरी लैङ्गिक हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८. उमेर चौरासी सम्मान कार्यक्रम निरन्तरता दिदै घरदैलोमा पुगी ज्येष्ठ नागरिकका अनुभव भोगाइ र विगतका पुराना असल प्रथा एवम् प्रचलनहरुको सङ्कलन तथा संरक्षण गरिनेछ ।
९. बालबलिकाहरूको चौतर्फी विकास र बाल अधिकार संरक्षणका लागि आवश्यक व्यवस्था गर्दै बाल प्रतिभा पहिचान कार्यक्रमको माध्यमद्धारा बालबालिकाहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरिनेछ ।
१०. उज्यालो बालबचत कार्यक्रमलाई निरन्तरता दिदै बालमैत्री गाउँपालिकाका रूपमा रुपान्तरण गर्न बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालबालिका सम्बन्धी ऐन २०७५ ले निर्दिष्ट गरेका व्यवस्थाहरू कार्यान्वयनको प्रबन्ध मिलाइनेछ ।
११. ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूका लागि वितरण गरिदै आएको अपाङ्गता भत्ता बैङ्किक प्रणालीबाट उपलब्ध गराइने नीति अवलम्बन गरिनेछ ।
१२. गाउँपालिका अध्यक्ष सामाजिक सुरक्षा तथा बचाउ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
(ग) पूर्वाधार विकास
१. “सेवा प्रवाहको आधार सबल पूर्वाधार” भन्ने मान्यतालई आत्मसात् गरी गण्डकी प्रदेशको साझेदारीमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यलाई तीव्रता दिइनेछ । यहि गाउँसभाको कार्यकाल भित्रै गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गर्न स्रोतको सुनिश्चित गरिनेछ ।
२. बरेङ गाउँपालिकाको केन्द्रदेखि गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्र सम्म अर्थात गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने रणनैतिक महत्वको हुग्दिशिर नयाँबजार सडक संघीय सरकार र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति अर्थात कालोपत्रे गरिनेछ ।
३. १० शैयाको अस्पताल भवन निर्माणको लागि प्रदेश सरकार र संघीय सरकार समक्ष बजेट व्यवस्थापनको लागि आवश्यक पहलकदमी गरिनेछ ।
४. “मजबुत सुरक्षित पूर्वाधार, दिगो विकासको आधार” को मान्यता सहित गाउँपालिकाभित्रका सबै संरचनाहरूको गुणस्तर, दिगोपना र मजबुतीमा विशेष जोड दिँदै ठूला र दीर्घकालीन महत्वका पूर्वाधारजन्य योजना, निर्माण कार्य तथा संरचनाहरूको गुणस्तर परीक्षण (ल्याब टेस्ट) गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
५. गाउँपालिकाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेका, रणनीतिक महत्वका सडकहरू र गाउँपालिकाको सडक तथा पर्यटन गुरुयोजनाको प्राथमिकताका आधारमा अध्ययन गरी आवश्यक लगानी गरिनेछ ।
६. “हाम्रो पूर्वाधार सबैलाई बराबर” को नारासहित सार्वजनिक संरचनाहरूलाई बालमैत्री, अपाङ्गमैत्री, जेष्ठ नागरिक मैत्री र लैङ्गिकमैत्री बनाउँदै लगिनेछ ।
७. “हरित सडक सुरक्षित सडक” कार्यक्रमको व्यवस्था मार्फत गाउँपालिकाभित्रका प्रमुख सडकहरूमा ट्राफिक चिन्हहरू तथा अन्य जानकारीमूलक बोर्डहरूको व्यवस्था गरिनेछ । अति जोखिमयुक्त सडकहरूमा दुर्घटना न्यूनीकरणको लागि संरचनात्मक निर्माणको व्यवस्थाको गरिनेछ ।
८. छिमेकी स्थानीय तहहरूसँग समन्वय गरी भगिनी सम्बन्धका पूर्वाधारहरू निर्माण गर्न पहलकदमी गरिनेछ ।
९. विगतका वर्षहरूमा निर्माण सम्पन्न भइसकेका योजनाहरूको नियमित मर्मत सम्भार र सञ्चालनका लागि स्थानीय सरोकारवालाहरूलाई जिम्मेवार बनाइनुका साथै तुरुन्तै मर्मत सम्भार गरी थप क्षति हुन नदिनका लागि मर्मत सम्भार कोषको परिचालनलाई थप व्यवस्थित बनाइनेछ ।
१०. गाउँपालिकाभित्रका जीर्ण झोलुङ्गे पुल विस्थापित गरी नयाँ निर्माण गर्न प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिनेछ । साथै सामान्य मर्मतका कार्यहरूलाई गाउँपालिकाबाट बजेट विनियोजन गर्ने व्यवस्था मिलाइनेछ ।
११. विद्युत आपूर्तिको अनियमितता अन्त्य गर्न सामुदायिक विद्युतीकरण उपभोक्ता समितिहरू र नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरी काठका पोल विस्थापित गर्न पहल गरिनेछ ।
१२. फोहोरमैला व्यवस्थापनको लागि विगतका वर्षहरूमा निर्माण गरिएका डम्पिङ साइट , इन्सिनिरेटरलाई थप व्यवस्थित गरिनेछ । गाउँपालिका क्षेत्रभित्र फोहोरमैला सङ्कलन, पृथकीकरण, ओसारपसार, कम्पोष्ट प्लान्ट सञ्चालन सम्बन्धी कार्यहरू व्यवस्थापन तथा सञ्चालन गरिनेछ । सार्वजिनक स्थल र बजार क्षेत्रमा आवश्यकतानुसार सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
१३. सडकमा ढलान कार्य गर्दा दिगो हुने गरी डिजाइन, ईस्टिमेट गर्ने तथा सोही अनुरुप गुणस्तर कायम गरी निर्माण कार्य गरिनेछ । जटिल प्रविधिको प्रयोग गर्नुपर्ने तथा उपभोक्ता समितिबाट कार्यान्वयन गराउँदा लागतप्रभावी नहुने प्रकृतिका योजनाहरू ठेक्कापट्टा विधिमार्फत कार्यान्वयन गरिनेछ ।
१४. विपत प्रतिकार्य योजना बनाउने,साथै सरोकारवाला हरूसँग समन्वय गरि विपत सम्बन्धि सचेतनामुलक कार्यक्रम र तालिम सन्चालन गर्ने ।वर्षात पछिको सडक सरसफाइ कार्यलाई कार्यविधि बनाएर व्यवस्थित गरिनेछ ।
१५. नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गरी निर्माण गरिएका सडकहरूको निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
१६. उच्च ग्रेडका सडकमा नालीविना लुज ग्रावेल बिच्छाउने कार्यलाई बन्द गरी नाली निर्माण र कम्प्याकसनसहितको ग्रावेलिङ गर्ने नीति अवलम्बन गरिनेछ ।
(घ) वन, वातावरण तथा विपद व्यवस्थापन
१७. “हाम्रो गाउँ सुरक्षित बनाऔं” को नारासहित बाढी, पहिरो लगायतका विपद जोखिमयुक्त बस्तीहरू संरक्षण गर्न, खोला कटान नियन्त्रण गर्न बायो–इन्जिनियरिङ्गको प्रयोग व्यापक रूपमा अङ्गिकार गर्दै ड्रेनको कार्यहरू गर्नुका अतिरिक्त गाउँपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन र विपद् व्यवस्थापनका सबै चरणका पूर्वतयारी सम्बन्धी व्यवस्था मिलाइनेछ ।
१८. जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धमा अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपालले गरेका महत्त्वपूर्ण प्रतिबद्धता र राष्ट्रिय लक्ष्यहरूलाई अत्यन्त संवेदनशील रूपमा ग्रहण गर्दै अनुकूलन र न्यूनीकरणका क्रियापलापहरू ठोस रूपमा अघि बढाइनेछ ।
१९. उन्नत र सुधारिएको चुह्लोको प्रयोग, प्राङ्गरिक खेती, कुहिने फोहरबाट कम्पोष्ट मल, सडक किनारामा वृक्षरोपण, खेर गएको पानीको प्रयोग, प्रयोग गर्न सक्ने घरमा ग्याँसको सट्टा बढी मात्रामा ईण्डक्सन चुह्लो वा अन्य विद्युतीय चुह्लोको प्रयोग बढाउने, दैनिक जीवनमा ऊर्जा र पानीको प्रयोगमा किफायती बन्ने विषयहरूलाई प्रोत्साहन गर्दै नवीकरणीय ऊर्जा (सौर्य) को प्रयोगलाई समेत प्राथमिकतामा राखिनेछ ।
२०. विभिन्न प्रकारका विपद् बाट उत्पन्न हुन सक्ने सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन कोषमा थप बजेट व्यवस्था गरिनेछ ।
सञ्चार तथा सूचना प्रविधि
२१. “मेरो घर, गाउँपालिकाको नजर” भन्ने नारालाई सार्थक तुल्याउन डिजिटल प्रोफाइल अध्यावधिक गर्ने, डाटालाई एकीकृत गरी अभिलेख राख्ने र सबैको पँहुचमा पुर्याइनेछ ।
२२. गाउँपालिकाको कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीयता कायम गर्दै सूचना तथा प्रविधिको अधिकतम उपयोगमार्फत सेवाप्रवाह गरिनेछ । गाउँपालिकाका हरेक सूचना, कार्यक्रम, प्रगति विवरण, ऐन, कानुन, निर्देशिका, सम्पर्क विवरण अध्यावधिक गर्नुका साथै प्रकाशन गरिनेछ ।
२३. गाउँपालिकाको साप्ताहिक गतिविधि,सूचना, सन्देश प्रवाहका लागि रेडियो कार्यक्रम सञ्चालनमा ल्याइनेछ । गाउँपालिकाभित्र सञ्चालित एफएम रेडियो लगायत छापा माध्यमबाट सूचना प्रसारण गरी आम नागरिकालाई सुसूचित गर्ने सञ्चार माध्यमहरूलाई आवश्यकता र औचित्यका आधारमा सहयोग गरिनेछ ।
ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन
१. कर्मचारीको मनोबल उच्च बनाई कार्यसम्पादनमा शीघ्रता र गुणस्तरीयता अभिवृद्धि गर्नको लागि कार्यसम्पादनमा आधारित प्रोत्साहनको व्यवस्था गरिनेछ ।
२. सेवाग्राहीको सन्तुष्टि मापन गर्न, प्राप्त सल्लाह सुझाव अनुसार कार्यालयमा समयानुकुल सुधार गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक मत सर्वेक्षणको व्यवस्था मिलाइनेछ ।
३. जनप्रतिनिधी र कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन आवश्यक तालिमको व्यवस्था मिलाइनेछ ।
४. प्रदेश लोक सेवा आयोगबाट रिक्त दरबन्दीमा पदपूर्तिका लागि कर्मचारी सिफारिस भएर आएसँगै कार्यरत कर्मचारीहरूको कार्यसम्पादन क्षमता, दक्षता र कौशलताको आधारमा आन्तरिक सरुवा तथा जिम्मेवारी हेरफेर गरिने छ ।
५. गाउँपालिकाको संस्थागत सुदृढिकरणको लागि अस्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गरिनेछ ।
६. सरकारी खर्चमा मितव्ययिता कायम गर्न सार्वजनिक कार्यक्रममा खादा, आयातित फुल माला, ब्याच तथा मायाको चिनो जस्ता सामानहरूको प्रयोगलाई निरुत्साहित गरिनेछ ।
७. जिन्सी निरीक्षण मार्फत गाउँपालिकाको समग्र सार्वजनिक सम्पत्तिको अभिलेख तयार गरी सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (एब्ःक्) मा आबद्ध गरिनेछ र मर्मत तथा लिलाम गर्नुपर्ने मालसामानको कार्य प्रक्रिया अगाडि बढाइनेछ ।
८. खरिद प्रक्रियालाई व्यवस्थित बनाउनका लागि वार्षिक खरिद योजना बनाई लागु गरिने छ । साथै खरिद प्रक्रियालाई एकद्वार प्रणाली मार्फत सञ्चालनको व्यवस्था मिलाइने छ ।
९. उपभोक्ता हित संरक्षण र प्रवद्र्धनको लागि बजार अनुगमन कार्यलाई आवधिक रुपमा सञ्चालन गरी थप व्यवस्थित बनाइनेछ ।
१०. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षकको कार्यालय लगायतका संवैधानिक निकायबाट प्राप्त हुने सुझाव तथा निर्देशनहरूको पालना गरी भ्रष्टाचार र अनियमितता विरुद्ध शुन्य सहनशीलताको नीतिलाई निरन्तरता दिइनेछ ।
११. सेवा प्रवाहको एकीकृत मापदण्ड तथा आन्तरिक नियन्त्रण प्रणालीको विकास गरी सोको प्रभावकारी कार्यान्वयन मार्फत वित्तीय लेखाङ्कन प्रणालीलाई पारदर्शी र सुदृढ बनाउने, आन्तरिक र अन्तिम लेखापरीक्षणबाट औँल्याइएका कैफियत तथा सुझावहरूको कार्यान्वयन स्तरबाटै सुधार गर्दै बेरुजुको स्तरलाई शुन्यमा झार्न प्राथमिकता दिइनेछ ।
१२. गाउँपालिकाको विकासका लागि अन्य स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै भगिनी सम्बन्ध कायम गरी आर्थिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध विस्तारलाई निरन्तरता दिइनेछ ।
१३. सेवाग्राहीहरूको सहजताका लागि वडा कार्यालयमा नै योजना सम्झौता गर्ने कार्यलाई निरन्तरता दिइनेछ । उपभोक्ता समिति मार्फत सञ्चालन हुने विकास योजनाहरूको कार्यान्वयनलाई व्यवस्थित एवं गूणस्तरीय बनाउनको लागि अभिमुखिकरण कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
सभाका सदस्यहरू,
अब म आर्थिक वर्ष २०८२/०८३ को लागि राजस्व नीति प्रस्तुत गर्न चाहन्छु ।
राजश्व नीति
१. “राजस्वको दर होइन दायरा बढाउँ” भन्ने प्रमुख नीतिका साथ चालु आर्थिक वर्षको करको दरलाई यथावत राखी करको थप क्षेत्रको पहिचान गरी दायरा विस्तारमा जोड दिइनेछ ।
२. “गाउँपालिकालाई कर जनतालाई भर, कर तिर्न लाग्छ रहर” भन्ने वातावरण निर्माण गर्न व्यापक कर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ र आर्थिक वर्षको अन्त्य सम्ममा सबैभन्दा कर तिर्ने करदातालाई सम्मान गरिनेछ ।
३. आगामी आर्थिक वर्षमा एकीकृत सम्पत्ति कर लागू गर्नको लागि कार्यविधि निर्माण गरी सोको लगत सङ्कलन र अभिमूखिकरण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
३. टोल विकास संस्थाको गठन र परिचालनलाई प्राथमिकताका साथ घर बहाल कर सङ्कलन कार्यसँग आबद्ध गरिनेछ ।
४. बरेङ गाउँपालिका भित्रका सबै करदाताहरूको सुत्र प्रणालीमा लगत अद्यावधिक गर्न कार्ययोजना निर्माण गरी सबै वडाहरूमा घरदैलो अभियान सञ्चालन गरिनेछ । साथै सबै करदाताको अभिलेखलाई गाउँपालिकाको डिजिटल प्रोफाइलमा आबद्ध गरिनेछ ।
५. सम्पत्ती र भूमिकर (मालपोत) को लागि पौष मसान्तसम्म कर बुझाएमा १० प्रतिशत कर छुटको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
६. कर विकासमार्फत फर्किन्छ घर घर” भन्ने मान्यताका साथ सबै वडामा करदाता शिक्षा कार्यक्रम तथा घुम्ति कर सङ्कलन सप्ताह सञ्चालन गरिनेछ ।
७. धार्मिक पर्यटकीय क्षेत्र साग्दि सत्यवती मन्दिर परिसरमा सञ्चालन हुने अस्थायी पसल तथा व्यवसाय, पार्किङ संरचना, बरेङ फन पार्क तथा भैँसेखोला झरना जस्ता क्षेत्रलाई आवश्यकता अनुसार थप स्तरोन्नती गरी सो क्षेत्रलाई गाउँपालिकाको करको दायरामा ल्याइनेछ ।
अन्य क्षेत्रहरू
सुरक्षा व्यवस्थापन
१. गाउँपालिकाभित्र सुरक्षा संवेदनशील क्षेत्रहरूमा विगतमा व्यवस्था गरिएका सिसि क्यामेराहरूको नियमित मर्मत सम्भार गर्नुका साथै आवश्यकतानुसार थप गरिनेछ ।
२. गाउँपालिकाभित्र शान्ति सुव्यवस्था कायम गर्न जिल्ला र गाउँपालिकाभित्रका सबै सुरक्षा निकायहरूसँग समुचित समन्वय कायम गरिनेछ ।
निजी तथा गैरसरकारी संघ संस्थाः
३. गाउँपालिकाको समग्र क्षेत्रहरूमा सन्तुलित विकास गर्नका लागि निजी तथा गैरसरकारी संघ संस्थाहरूसँग सहकार्य गरिनेछ ।
४. निजी क्षेत्रसँग रहेको पुँजीलाई गाउँपालिका भित्र परिचालन गर्ने वातावरण निर्माण गरिनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्नेतर्फ उन्मुख गराइनेछ ।
“समृद्ध बरेङ, सुखी बरेङवासी” को दीर्घकालीन लक्ष्यमा पुग्न गाउँपालिकाले अवलम्बन गरेको वार्षिक नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, समाजसेवी, राजनैतिक दल, पत्रकार, सुरक्षाकर्मी, गैरसरकारी संघ संस्था तथा सबै विकासप्रेमी बरेङवासी नागरिकहरूको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।
कृष्ण प्रसाद शर्मा
अध्यक्ष





