पोखरा/पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कीले १ खेल अगावै फाइनलको ढोका खोलेको छ । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।
नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनी ७ र वर्षा सुनार शुन्यमा अविजित रहे । मोनिका लामिछाने २२, धनकुमारी क्षेत्री ८, लिजा गुरुङ शुन्य, श्रेया शर्मा ४, आयुषा चापागाईँ ३, पुर्णिमा सुनार ७ र वर्षा सुनार शुन्यमा आउट भइन् ।
कास्कीका लागि चन्द्रमाया बराल २ तथा श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले समान १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । कास्कीका लागि रचना चौधरीले २५ र चन्द्रमाया बरालले १५ रनको अविजित पारि खेले । कप्तान सिर्जना पौडेल २७ रनमा आउट भइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । श्रद्धा गुरुङ ८, शिखा दवाडी १५, रेखा तामाङ २ रनमा आउट भइन् ।
नवलपुरका लागि यमुना पंगेनीले २ तथा श्रेया शर्मा र आयुषा चापागाईँले समान १÷१ विकेट लिए ।उता दोस्रो खेलमा पर्वत र स्याङ्जाले वर्षाका कारण खेल रोकिएपछि अंक बाडेका छन् । १४६ रनको विशाल लक्ष्य पाएको पर्वतले १.१ ओभरमै २ विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । लगातार वर्षाभएपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाडेका हुन् । वर्षा हुनुअघि ओपनर शुसिला भट्टराई ३ रनमा अविजित रहँदा योगिता केसी क्याचआउट भइन भने जिविका क्षेत्री शुन्यमा रनआउट भइन् । स्याङ्जाका लागि निरु जिटीले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनायो । स्याङ्जाका लागि सिमाना केसीले ३३ रनको योगदान दिइन् । उनले ३८ बलमा २ चौका प्रहार गरिन् । श्रेया शाह १९, सलिना सेन १३ रनमा आउट भइन् । ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन् । कुशुम गोदार ४ र निरु जिटी ४ रनमा नटआउट रहिन् ।
पवर्तका लागि दिपिका सापकोटाले २ तथा प्रतिभा खड्काले १ विकेट लिइन् । कास्कीको २ खेलबाट २ जितका साथ ४ अंक बटुल्दै समूहको शीर्षस्थानमा रहेको छ । समान खेलमा १ जित १ हार व्यहोर्दै २ अंकका साथ नवलपुर दोस्रो स्थानमा रहँदा स्याङ्जा र पर्वतको भने समान २ खेलमा १ हार सहित १÷१ अंक रहेको छ ।
अब कास्कीले अन्तिम खेल पर्वतसँग खेल्ने छ । कास्की हारेको खण्डमा समेत फाइनल प्रवेश गर्नेछ भने नवलपुर र स्याङ्जालाई जित्नै पर्ने दबाब छ । तर, नवलपुरलाई भने खेल रोकिएको खण्डमा समेत फाइनलको ढोका खुल्ला हुने अवस्था छ ।





