बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बालविवाह

बालविवाह


  • माधव चापागाईं
  • असार २९ २०८२, आइतबार

एउटा दुर्गम गाउँमा एक गरिब परिवार थियो । बालविवाहको प्रचलन रहेको त्यो गाउँमा एउटा सानो र सुखी परिवार थियो । बाबूआमा श्यामबाबु र रुपा सधैं जसो कृषक पेशामा आवद्ध थिए । दुई छोराछोरी सुबोध र सुविधा विद्यालय पढ्थ्ये । छोरी सुविधा पढाईमा निक्कै अब्बल थिइन् । गाउँका मुखिया जो ऋणदाता भए पनि साउको ब्याज ब्याजको स्याज गणना गरेर धनको डरमा मान्छेको स्वाभिमान साट्ने प्रयत्न गर्छन् । सुझ्बुझपुर्ण श्यामबाबुको दैनिकीमा छोराछोरीले खुशी थपे पनि श्रीमती रुपाको व्यभिचारीपनले उनको जीवन थकित थियो । छिमेकी हिरा भाउजू र शिक्षकहरूको सकारात्मक दृष्टिकोणले सुबिधा छोरीको बालविवाहका वैपरित्यमा श्यामबाबुलाई उभ्याउन सफल भएको यहि पृष्ठभूमिका बिच नाटकले प्रारम्भ कालिन गति पाउछ । एक दिन बिहान सबेरै उठेर श्यामबाबु पिँढिमा बसेका थिए ।
रुपा : यी केटाकेटी घाम डाँडामा पुगन्जेल सुत्छन् । होइन ए बुढा के संस्कार सिकाउचन ए यिनका मास्टरले? (चर्को स्वरमा कराउछिन्)
श्यामबाबु : (खोक्दै) कति बोल्छेस् ए कति बोल्छेस् ! यी केटाकेटीलाई कति गाली गर्छेस् । उज्यालो भको छैन छोराछोरीलाई गाली !
रुपा : भओ भओ तिम्रा छोराछोरीलाई टाउकोमा चढाएर राख कुन दिन नाक काटेर हिड्छ अनि थाहा पाउछौ । बोल्नै हुन्न । म त!
श्यामबाबु : होइन के खाले आइमाई रछे भन्छु, हामी पाका मान्छे त बल्ल उठ्या छौं । ती केटाकेटी थाकेका होलान् । सुत्न देन एक छिन । अल्लि बेरा त उठिहाल्छन्नी ! तल्लारे साइलाले बा बिरामी हुनुहुन्छ भन्थ्ये के कसो छ एस्सो पुगेर आउन परो म त हिडे लौ! (पिढीबाट ओर्लिन्छन् )
रुपा : (च्याठ्ठिदै) जाउजाउ तिम्लाई के को पिर छर? घरा कति काम छ । उनलाई बिहानबिहानै साइनो लाउन पर्नि ।
श्यामबाबू : ए ! बुढी त्यहाँ गल्बन्दी कता छ एस्सो पुउन दे त आछ्छुछुछु कस्तो जाडो हो ।
रुपा : अँ अ तिम्रै लुओ दिन बसेकी हुम केरे अराउ काम, लौ तिम्रो कुसेत्रो ! (रिसाउदै फाल्दिन्छिन्)
श्यामबाबु : (च्याप्प समातेर) पुस पन्ध्र कमाउने माघ १५ घमाउने भन्थ्ये अहिले त के सारो चिसो हो ? (गलबन्दी बाधेर) ल! यतिभएसी कसो ज्यान नतात्लार ? (बुढीतिर फर्केर हास्तै) हुँ ल ल फत्फताइ राख ! अनि ए साँची आज छिट्टै गरेर भात पकाएस है केटारीको स्कुला कार्यक्रम छरे त्यता नि जानू छ ।
रुपा : ( कुचो समाटेर बढार्दै ) हुन्छ हुन्छ म कमारी छौन्जेल कस्लाई केको पिर । (गित गाउँदै, मेरो त जिन्दगी रुँदारुँदै गयो …….)
मुखीयाः श्यामे! ए! श्यामे कता गएछ यो ? घरा कोइ छैनन् कि क्याहो बोल्दैनन् त ।
रुपा : नमस्कार! है मुखिया बा नमस्कार ! कताट पाल्नु भओ त नि आज हामी गरिबका घरा?
मुखिया : अ कताट हुनु घरैट आए । (यताउता हेर्दै) श्यामे कता गओ ? त्या तल्लारे बुढा बिरामी छन रे येस्सो भेट्छु भनेर हिडेको ।
सुविधा : हाहा$$$$इ गरेर (आङ्तान्दै) बाहिर निस्किन्छे । (मुखिया बाले चस्मा माथिबाट हेर्छन्)
मुखिया : अ कतिआ पढ्छे यल्ले? अ हर्लक्कै भइछ ए यो त ! ब्या अर्नि भैच
सुबिधाः (रिसाउदै कापीकलम लिएर) आफै अरे हुन्चए ब्या खुब जान्ने हुनुपर्दो रच,
रुपाः होइन यो सुबोध अझै उठेन ? सुबोध! ए सुबोध! उठन ए केटा स्कुल जाने बेला भओ कति अल्छी अर्न सकेको ?
मुखिया : (सुविधातिर हेर्दै) नानी चाहिँ जाती रछे कति ज्ञानि कति, यस्लाई एउटो केटो खोजेर बिहे अर्दिन पाए राम्रो जस पाइन्तो होला ।
रुपा : आ$$$$ मुखिया बा! भन्या अस्तो खानदानी केटै नपाइने, पाए त दिएर उम्किन हुन्थ्यो नि क्यार्नु,
सुविधा : अँ मलाई नै अर्गेली देख्नु भइच्चनी (रिसाउँदै) आफै अर्नु हुन्न ब्या,
रुपाः हेर हेर मुखमुखे लाकी यो केटि अब बोल्तो त्या।
मुखिया : अ किन रिसाउचन यी आमाछोरी जाबो ब्या का कुरा हाहाहा (हास्छन्)

लेखक

श्यामबाबु : मुखिया बा ढोग अरे !
मुखिया : जिते रहो । (शिरमा हात देखाएर आशीर्वाद दिन्छन्)
श्यामबाबु : (बस्दै) के कति कामले हाम्रो घर पवित्र पार्नु भो मुखिया बा?
मुखिया : अ, कुरो के भने त्यो पोहोरको हिसाब किताब मिलाउन थियो। अ, एस्सो कुरो नि अर्दैनस् । अ, पैसो ल्याएसी फर्काउन तलाई पनि गाह्रै रच क्यारे!
श्यामबाबु : (सिर झुकाउदै घुडामाथी हात राखेर) सम्झिन त सम्झेओ छु मुखिया बा, विदेश जाने भनेर लिएको पैसो हो । दलालले सबै खाइदियो । आज आज भोलिभोली वर्ष दिन बित्यो, अब दसैंसम्ममा फर्काउला नि है!
मुखिया : अ, दसैं दसैं तिम्रा दसैं कति आउँछन् कति जान्छन् । अ, मलाई केको पिर (रिसाएर उठ्दै) अ, म एक हप्ताको मुहुरत दिन्छु । अ, तबसम्म मेरो साउब्याज नतिरे गोठै रित्ताएर वस्तुभाउ लान्छु । अ, विचार अरेस श्यामे (उठेर अल्लि पर जान्छन्)
रुपा : (रुन्छे स्वरमा) मैले उ बेला भनेकी होइन? उता नभए अर्को ठाउँ जाउ, भनेर अब तिर ऋण कसरी तिर्ने हो ।
श्यामबाबु : (रिसाउदै यताउता गरेर) तैलेइ त होनि सयकडा ३ मा भएनी ऋण खोज, जसरी हुन्छ जा, भनेको यो सब तैले अर्दा भको हो ।
रुपाः (पुट्पुटाउदै) अँअँ अब मलाई दोष, आफू जान सक्नु छैन, दुइपैसा कमार परिवार पाल्न नसक्नेले केको घुर्की?
श्यामबाबुः ल ल भयो अब ऋणको कुरा छोडदे ऋण लाओस् दिन नलाओस् भन्छन् । पाखुरा छदैछन् । गरेर खानलाई कस्ले रोक्छ र? त र म मिलेर काम गरेउ भने ऋण जाबो के होर?
रुपाः ल ल ठिक छ बल्ल तिम्रो घैटा घाम लाए ?
श्यामबाबुः भयो भयो अब बुद्धि सुद्धिको कुरा छोड्दै अब गइदैन विदेशसिदेस यहि तरकारी खेती गरेर आत्मनिर्भर भइन्छ । हिड खेतमा काम अर्नु छ । खै कोदालो पुउन दे म खेतमा जान्छु ।
रुपाः यि बुढाले काम मात्र लाउन जान्या छन् तिमी जाँदै गर म छोरालाई उठाएर आउँछु ।
श्याम बाबूः ल ल त्यसै अर त नि, (उनी कोदालो काधमा राखेर खेततिर हिड्छन्)
रुपा : सुबोध, ए सुबोध बाबु उठ त छिटो,
सुवोधः हजुररर आमा कति चिच्याउनु भएको आउँदै छु म (हाइ गर्दै दिदिको आडमा आएर बस्छ)
सुविधा : (भाइतिर फर्केर) ल पढ अब
सुबोध : (पेन समातेर चल्दै) कुखुरी का बासी भात खा खै बासिभात ……….
सुविधा : (भाइतिर फर्केर रिसाउदै) पढ्का खुरुखुरु नत्र…..
सुबोध : नत्र के तैलेइ पढ्दिनस् । सिकाउछे पढेर हात्ती ठूलो भएको होर? (दिदिको कपाल कुइयाउदै)
सुविधा : ऐय्या मरेनी आमा
रुपाः (दाउरा र बाउसो बिसाउदै रिसाएर) हेर हेर भाइसङ्ग चलेकी यति सानो भाइसित चल्न लाज लाग्दैन? ब्या अर्दिएका भए चाओटा केटारी पाउने बेला भओ यस्को गति यस्तो छ ।
सुविधा : भाइ आफैं चलेको हो । मैले के अरेइ छुर । आमाले नि मैलाई देख्नुहुन्छ ।
रुपा : त ठुली छस् भाइलाई फकाएर पढाउन सक्दिनस् । यत्री लाठे भएर?
सुबोध : (गिजाउँदै) हिहिही खुच्चिङ खुच्चिङ
श्यामबाबु : (पसिना पुछ्दै) ऐइय्या के सारो थकाइ लागेको पानी लेउ त छोरी,
सुविधा : (पानी ल्याएर दिदै) लिनुस बाबा पानी ।
रुपा : (नाङ्लोमा चामल हेर्दै) ए बुढा ! के कार्यक्रम राखेका रान स्कुला किन बोलाचन हाम्लाई?
श्यामबाबूः (आसिले बाउसाको बिड खुर्कदै) खै बालमैत्री भन्छन् । हुन हो कि नहुन हो,
रुपा : (चामल डालिमा खन्याउँदै) क्यार्च यो बाल मैत्रीले ? खुरुखुरु नपढार के अर्चन यी मास्टर मास्टर्नीले, यहाँ छोरा छोरी बिग्रेर घरा एक छिन पुस्तक हेर्दैनन् । जहिले सुकै नारा लाउन हिडार पढाइ राम्रो हुन्छ यिनारको ?
श्यामबाबु : होइन के भन्छे यो बुझ्नुसुझ्नु छैन बिनासित्तैमा शङ्ख बजाउँछे ।
रुपा : (रिसाउदै) भओ भओ तिम्लेइ बुझेआ छौ बुझ । केक्कान विद्वान भए झै अर्चन । जिन्दगी ढुङ्गा माटामा वितेको थाहा छैन । हुन त घरको कुकुर बलियो हुन्छ भन्थ्ये हो रच ।
मुखिया : अ के को गन्थन चल्दैछ यहाँ ? (बस्दै) अ, मैले भनेओ कुरो कस्तो लाओ तिमरलाई ? अ, कि ऋण तिर्न परो बेला, अ कि छोरीको ब्या अर्न परो । अ केटो खोज्ने जिम्मा मेरो भओ ।
श्यामबाबु : (अनायास झस्याङ्ग हुँदै) के भन्नू हुन्छ मुखिया बाले, नानी त सानै छनी बल्ल त १३ पुगेर १४ लाई पढ्दै छ । बिहेको बारेमा अल्लि पछि सोचौंलानी ।
रुपाः (बुढातिर फर्किएर) यी बुढा नी बेला न कुबेला बर्बराउछन् भन्या । मुखिया बाले त्यति मायाले केटो खोज्छु । भनेपछि पाएको बेला दिएर अम्कनी हो ।
श्यामबाबू : (रिसाएर झर्किदै) हुन्न हुन्न, हेर ! त यस्का बुद्धि कानुनमा पनि “विहेवारी २० वर्ष पारी, त्यसभन्दा अघि शिक्षा र रोजगारी” भनेर लेखिएको छ । के कुरा लिएर आउनुभएको मुखिया बा तपाईंले ?
मुखिया : अ, त्यसो भए मेरो पैसा फिर्ता ल्याउन त । मैले के नै भनेओ छु र हअँ?
रुपा : (खुसुक्क बुढाको कानमा भन्दै) यी बुढा किन यस्ता हुन् मुखिया बाले भनेको मानमका नत्र पुरै ऋण चुक्ता गर्न भन्छन् । बिहेको कुरा हुन्छ भन्दिम ।
श्यामबाबू : (रिसाएर) आााााा छोड उता जा त्यस्ता कुरा घाममा सुकाइदे । यी शासकहरुले आफ्नो स्वार्थ पूरा गर्न पाए जे पनि हुन्छ भन्छन । पछि फेरी त्यही ऋणलाई ब्याजको स्याज भनेर उठाउँछन् , छोड उता जा तैले बुझ्दीनस् यस्ता कुरा,
मुखिया : (रिसाएर उठ्दै ….) अ, तिमीहरुको त्यही विचार भए त्यही गर तर मेरो पैसा बेलैमा तिर्नु, अरु मलाई थाहा छैन ।
रुपा : (सम्झाउँदै….) तिमी कति अबुझ हौ बुढा, मेरो कुरा त केही खाँदैनौ । भनेको मान, छोरी दिम ऋणको भारीबाट पनि मुक्ति पाइन्छ । एउटा दुईटा कुरा त मेरो पनि खाउन ओ ……..
श्यामबाबू : (छोरीको आडमा गएर कपाल मुसार्दै ) यस्तो कलिलो उमेरमा बिहे गर्दिनु अपराध हो, तैले छोटो बुद्धि गरीस् । छोराछोरी जन्माउनु हुर्काउनु र बिहे गर्दिनु मात्रै बा आमाको जिम्मेवारी होइन उनीहरुलाई योग्य बनाउनु पनि हाम्रो दायित्व हुन्छ । हतारमा निर्णय गरेर फुर्सदमा पछ्ताउनु नादानी हुन्छ । रह्यो कुरा ऋणको पल्तिर हिरा भाउजुलाई भेटेर कुरा गरौँ थोरै धेरै सहयोग गर्दिन्छीन् कि?
रुपा : भओ भओ तिम्री भाउजूले ऋणै तिर्दिए तिर । मलाई त परिवारभित्रको मान्छे नै नबनाउने, जे अर्न पर्छ अर,
हिरा : के छ बाबु खबर ? के को गन्थन हो एकाबिहानै?
श्यामबाबू : (बस्ने चकटी देखाउदै) के हुनु र भाउजू गरिबका घरमा अरु के को गन्थन हुनु उही ऋणको त हो ।
रुपा : (हिरातिर फर्किएर) हेर! न हिरा दिदी मुखिया बाले छोरीको हात देऊ, ऋण मिनाहा गर्दिन्छु भनेका थिए । यीनले कुरै खाँदैनन् ।
हिरा : होइन के कुरा अर्छेउ रुपा तिम्ले ? तिम्रो दिमाग ठाँउमा त छ । सधैँ भरी कमजोर मानसिकता लिएर छोटो बुद्धि गर्छेउ ऋण त तिर्ने हो । ऋणको साँची छोरीको जीवन बनाएर खुशी मिल्छ ?
रुपा : होइन दिदी मैले त्यसरी छोरीको जीवन नै दाउमा राखेकी होइन । आखिर एकदिन बिहे गर्ने पर्छ । दुई काम एक पन्थ भनेर गरौँ भनेकी हुम् ।
श्यामबाबु : (तीखो स्वरमा) हुन्छ दुई काम एक पन्थ? ए भाउजू सम्झाउनु त यो मुर्खलाई (रिसाउँदै)
शिक्षक : नमस्कार है नमस्कार ! आरामै हुनुहुन्छ सबै जना
सुबोधा/ सुविधा : एकै स्वरमा गुड मर्निङ सर ।
श्यामबाबू : नमस्कार सर ! हजुरलाई कस्तो छ । बसौँ (कुर्चि दिन्छन)
रुपा : हाम्रा केटारीले कस्तो पढ्या छन् । घरा त एकछिन पढ्दैनन् के भका हुन एस्सो गाली अर्नुहुन्न स्कुला? अनी यो बालमैत्री भन्या के हो?
शिक्षक : (संयमित हुँदै) स्कुलमा त राम्रै छन् यीनीहरु, घरमा पनि पढ्ने समय छुट्याई दिनुहोस् । ससाना व्यवहारिक कामहरु गर्न लगाउनु, हाम्ले पनि भएसम्म कोशिस गरिरहेका छौँ । विद्यालयको वातावरण अनुकुल नै छ । आत्तिनु पर्दैन । विस्तारै परिपक्व हुन्छन् । अनी बालमैत्री भनेको चाहि बालबालिका अनुकुल शासन हो । उनीहरुलाई सक्षम बनाउने नीति सहित राष्ट्रिय स्तरमा सञ्चालन भएको यो अभियानमा हाम्रो नगरपालिकाले पनि हातेमालो गर्दै आएको हो । यसमा तपाई हामी सबैको सक्रिय सहभागिता अनिवार्य छ ।
हिरा : हो हो अस्ति म पनि सचेतना कार्यक्रममा गएकी थिए । यो अभियान राम्रो रहेछ ।
रुपा : खै ! बाहिर तामझाम देखाएर उनै ठुलाबढाले सम्मान थाप्ने र गरिबले तिरेको करमा रमाउने त होलान् नि । जे सुकै अरुन् । हाम्रा दुख ज्यूका त्यू छन् ।
श्यामबाबू : यो आइमाइका दिमागमा नकारात्मक सोच बाहेक अरु केही छैन । अहिले एका बिहानै छोरीको बिहे अरुम भनेर झगडा भयो । ल न सम्झाइ दिनुहोस् । यसलाई ।
हिरा : अँ तनी ऋणको सट्टामा छोरी जिम्मा लाउने कुरा त मलाई पनि मनाशिव लागेन ।
रुपा : ब्या, नअरेर ऋण कस्ले तिर्छ? खुब जान्नी पल्टीन्छन् सबै,
शिक्षक : हो र ! त्यस्तो त निकै नराम्रो कुरा भए छ । को सँग हो बिहे १३/१४ वर्षमा? त्यसरी ऋणसँग आत्तिएर अबोध बालिकाको जीवन वर्वाद नगरि दिनुहोुस् । बरु ऋण तिर्नको लागि हामी सबै एक जुट हाँै ।
हिरा : अँ तनि त्यसो त यस्ता नराम्रा कुरामा नलागौँ । मेरो त घरमा नी धेरै काम छ सर, अलिकति सहयोग म पनि गर्छु । म हिडे है ? (जान्छिन)
शिक्षक : हुन्छ हुन्छ । म पनि अलिकति रकम सहयोग गर्छु । स्कुलमा अरु सर मिसहरुसँग पनि यो विषयमा कुरा गर्छु । तपाइहरु पनि उतै आउनुहोस् । समस्याको समाधान हुन्छ ढुक्क हुनुहोस् । हस्त म पनि लाग्छु नमस्कार ।
मुखिया : अ, मेरो पैसा फिर्ता गर छिट्टै (रिसाउँदै) होइन भने म यो घरा चापि लाइदिन्छु । अ, खान्छौ भात, हेरौँला म पनि, (एता उता घुम्दै)
श्यामबाबू : ल ल मुखिया बा पिर नगर्नुुुस । (सङ्सङ्गै आक्रोश पोख्दै) मैले सबै ताल मेल मिलाएँ । तपाइले भने अनुसार छोरीको बिहे गदिन्नौँ । तपाइको पैसा भोलि नै फिर्ता गर्दिन्छु ढुक्क हुनुहोस् । अहिलेलाई जानुहोस् । (मुखिया जान्छन)
रुपा : ल बाबुनानीहरु विद्यालय जान तयारी हौँ नौ बजि सकेछ
श्यामबाबू : ल रुपा तिमी पनि तयार भौँ जाम स्कुलमा ……. (सबैजना विद्यालय जान्छन्)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->