शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा रंगशाला फुटबल मैदान ३ वर्षमै जीर्ण

पोखरा रंगशाला फुटबल मैदान ३ वर्षमै जीर्ण

घाम पानीका कारण प्यारापिटको प्लाइउड कुहिँदै जान थालेपछि निर्माण कम्पनीले पुनः करिब ४ करोड रुपैयाँ बढी खर्चेर ‘एन्टी स्लिप स्टील सिट’ (स्टिलको पाता) जडान सुरु गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८२, आइतबार

पोखरा/२०७६ साल मंसिर दोस्रो साता नेपालमा दक्षिण एशियाली खेलकुद प्रतियोगिताको (साग) आयोजना हुँदै थियो । प्रतियोगिताको १३ औं संस्करण नेपालले आयोजना गर्दै गर्दा काठमाडौं बाहिर पोखराले समेत अवसर पायो । २०७२ सालको विनाशकारी भूकम्पका कारण जीर्ण बनेको पोखरा रंगशालास्थित फुटबल मैदानले समेत नयाँ स्वरुप पाउने भयो । १३ औं सागकै सेरोफेरोमा १ अर्व २८ करोड ५० लाख रुपैयाँमा १६ हजार ५ सय दर्शक क्षमता रहेको स्टेडियम बन्न सुरु भयो । २०७५ फागुनमा शिलान्यास भयो । ०७६ सालमा पूर्ण रुपमा बन्न नसकेपनि सोही फुटबल मैदानमा महिला फुटबल खेलाइयो ।

सुरुवातमा पोखरामा आर्टिफिसियल मैदान (प्लाष्टिकको घाँस) ग्राउन्ड बनाउने गरि योजना अघि बढेपनि पछि कास्की जिल्ला फुटबल संघका तत्कालिन अध्यक्ष मिलन गुरुङले विरोध गरेपछि प्राकृतिक रुपमै बनाइयो । ०७९ असोजमा मैदानले पूर्णता पायो । सोही मैदानमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समेत सम्पन्न भयो । तर, बनेको ३ वर्ष समेत नवित्दै प्यारापिट र शौचालय दुरावस्थामा पुग्यो । प्यारापिटमा विछ्याइएको प्लाइउड (फ्लोरप्लेट) राखियो । पोखराको हावापानीले त्यसलाई ३ वर्ष समेत टिक्न दिएन । घाम पानीका कारण कुहिँदै जान थालेपछि निर्माण कम्पनीले पुनः करिब ४ करोड रुपैयाँ बढी खर्चेर ‘एन्टी स्लिप स्टील सिट’ (स्टिलको पाता) जडान सुरु गरेको छ । रंगशाला बनाउने जिम्मा एमएम कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी) र भारतीय कम्पनी ग्रेट स्पोट्र्सको थियो । तिनै कम्पनीले यतिबेला प्लाइउड को स्थानमा स्टिलको पाता राख्न सुरु गरेका हुन् ।

फुटबल मैदानमा प्रयोग गरिएका पूर्वाधारहरु फ्रान्सबाट ल्याइएको थियो । फ्रान्सका विज्ञ टोलीले नै अध्ययन गरि प्लाइउडले काम नगर्ने भएपछि स्टिलकै राखेर काम गर्नुपर्ने डिजाइन गरेका थिए । अहिले राखिएका स्टिल चितवनस्थित जलप नेपालमा तयार गरिएको हो ।

कम्पनीले एक लाख चार सय तीन वर्ग फिटमा एन्टी स्लिप स्टील सिट जडान गर्नेछ । निर्माण कम्पनी एमए कन्ट्रक्सनका प्रतिनिधि दीपक बरालले वारेन्टीको म्याद सकिए पनि फ्लोरसिट विदेशी कम्पनी जोडिएकाले आफ्नो साख बचाउन सिट परिवर्तन गरिरहेको बताए । ‘यी सबै विदेशमै जडान भएर पोखरामा ल्याइएको थियो । यसको वारेन्टी सकिएको छ, तर हामी आफ्नो इज्जत जोगाउन फेरि नयाँ राख्दै छौँ,’ बरालले भने । पूरै सिट परिवर्तन गर्न पाँच करोड खर्च हुने र खर्च निर्माण कम्पनीले व्यहोर्ने उनले बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले प्लाइउड को डेक सिटको ठाउँमा स्टीलेको डेकसिट राख्ने काम भइरहेको जानकारी दिए । फ्रान्सको जोइन्ट भेन्चर कम्पनीका इन्जिनियर आएर स्थलगत अवलोकन गरेर गएका थिए । पहिलो बनाएको इन्जिनियरलाई नै पुनः पोखरा बोलाएर सबै अध्ययन गर्न लगाएको सुनाउँदै उनले यो बनाउनका लागि विमा रहेको र मैदानको पूर्वाधारको १२ वर्षसम्म बनाउन पर्ने सम्झौता भएकाले सोही सम्झौता अनुसार अहिले बनाउने काम भएको सुनाए । सुरुमा देख्दा राम्रो भएपनि दीर्घकालिन हुन नसकेको उनले बताए ।

‘समस्या त धेरै ने छ । अहिले मुख्य देखिएको समस्या भनेको डेकसिट बोर्ड थियो (प्लाइउड ले बनेको पाता) त्यो बोर्ड घामपानीमा नहुँदो रहेछ । एक वर्षअघि देखी त्यो प्लाइउड कुहिएर जान थालेको थियो भने च्याउ समेत पलाउन थालेको थियो । मैदान बन्दादेखि नै म यसमा संलग्न छु । फुटबल संघको अध्यक्ष हुँदा नै यो मैदान बनेको हो । जुन कम्पनीले यो योजना बनायो त्यहि कम्पनीले अहिले बनाउँदै छ’ उनले भने, ‘हामीले निकै ताकेता गरेका थियौं । हिजो धेरै ताकेता गर्दा भएन अहिले बल्ल काम हुँदैछ । मेरो पनि जिम्मेवारी बन्छ । अहिले काम चलिरहेको छ । अहिले स्टील राखिएको छ अब टिकाउ हुन्छ की भन्ने आशावादी छौं ।’

त्यो मात्र होइन प्यारापिट भित्र रहेका शौचालयको समेत अवस्था निकै जीर्ण बनेको थियो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा शौचालय मर्मत गर्ने काम समेत गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक अधिकारी क्षेत्रीले सुनाए । ‘शौचालयका टुटी–धाराहरु थिएनन् । अन्य सामानहरु पनि टुटफुट भएका थिए । ढोकामा चाबी थियो तर, फुटाएको अवस्थामा ढोका थियो । हामीले यि सबै बनाउने काम गरेका छौं । हामीले सबै मर्मत गरेका छौं’ उनले भने, ‘निकै अस्तव्यस्त छ । यसको संरक्षण आवश्यक छ । हामीले नै गर्ने हो यसको संरक्षण ।’

उनी दुइ कार्यकाल अघि जिल्ला सदस्य समेत रहेका थिए । सो क्रममा रंगशाला ले आर्थिक संकलन राम्रो गरेपनि त्यसलाई मर्मत खर्च गराउन पछि परेको सुनाए । अहिले रंगशालाको संरचना अस्तव्यस्त देखिएको र अहिले संरचना संरक्षण गर्ने गरि आफुहरु अघि बढिरहेको सुनाए । कस्ले विगारेको भन्ने कुरा नखुलेको र रंगशाला भित्र रहेको सबै सिसिटिभी विग्रिएको अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->