पोखरा/अन्तरविद्यालय सिक्स–ए–साइड हक्कीको उपाधि सेन्ट फ्रान्सिस र कालिका माविले जितेका छन् । कास्की जिल्ला हक्की संघको आयोजनामा पोखरामा बिहिबार सम्पन्न फाइनलमा छात्रतर्फ सेन्ट फ्रन्सिसले र छात्रातर्फ कालिकाले उपाधि चुमेको हो ।
छात्रतर्फको फाइनलमा सेन्टफ्रान्सिले कालिकालाई पेनाल्टिमा १–० ले हराउँदै उपाधि चुमेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टिमा धकेलिएको थियो । छात्रातर्फको फाइनलमा समेत कालिकाले विभुतीलाई पेनाल्टिमै हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएको थियो । पेनाल्टिमा कालिकाले २–० को जित निकालेको हो ।
तेस्रो स्थानका लागि भएको खेलमा छात्रातर्फ हिमालयन बोर्डिङ स्कुल र छात्रतर्फ माउन्ट हेभेन बन्न सफल भए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने छात्र÷छात्रा दुबैतर्फ समान नगद १०, ७ र ५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
सम्पन्न प्रतियोगितामा सेन्ट फ्रान्सिसका विजय विक र विभुतीकी एन्जिला गुरूङ उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ता छात्र÷छात्रातर्फ कालिकाका मोहन पुन र गिता पुन, वेष्ट डिफेन्डरमा सोही विद्यालयका मनोज मगर र रोजिना राना मगर घोषित हुँदा उत्कृष्ट गोलरक्षकमा छात्रतर्फ विभुतीकी इस्मिका थापा मगर र छात्रतर्फ सेन्ट फ्रान्सिसका सन्देश सुनार बन्न सफल भए ।
तीन दिनसम्म चलेको प्रतियोगितामा नेपाल हक्की संघ र प्रादेशिक हक्की संघले प्राविधिक सहयोग गरेको थियो । कास्की, तनहुँ र भक्तपुर गरी विभिन्न १७ विद्यालयका ३४ टिमको सहभागिता रहेको छ । जस मध्ये छात्रतर्फ १७ रछात्रातर्फ १७ टिमले प्रतिस्पर्धा गरेका थिए ।





