स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पोखरामा घुम्ती शिविर गरेको छ । पालिकाभित्रका नागरिकहरु जहाँ बसोबास गरेपनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले गत मंगलबारदेखि चार दिन पोखरा पृथ्वीचोकमा सामाजिक सुरक्षा भत्ता नवीकरण घुम्ती शिविर गरिएको हो ।
ज्येष्ठ नागरिकको सहजताका लागि पोखरामा गरिएको घुम्ती शिविरबाट २०४ जनाले लाभ पाएको गाउँपालिकाले जनाएको छ । शिविरबाट पोखरा बस्दै आएका अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का १०, वडा नं. २ का २९, वडा नं. ३ का २६, वडा नं. ४ का ३३, वडा नं. ५ का २९ र वडा नं. ६ का ७७ जना लाभान्वित भएका हुन् ।
पालिका अध्यक्ष प्रकाश तिवारीले वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी पोखरा सेरोफेरोमा बस्दै आएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई गाउँपालिकाले पोखरामै पुगेर सेवा दिने व्यवस्था मिलाएको बताए । गाउँपालिकाबाट वडा अध्यक्षसहित पञ्जिकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेको तिवारीले बताए ।




