समुन्द्री सतहदेखि ४००० मिटर उचाईमा पुग्दा देखिने रमणीय घाँसेमैदान जस्लाई ढोरपाटनको बुकीपाटन भनी त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुले नामाँकन गरेका छन् । आन्तरिक पर्यटकहरुका लागि बुकीपाटन यस वर्षको भर्जिन गन्तव्य बनेको छ ।
बागलुङको ढोरपाटन उपत्यका २४०० मिटरको उचाईदेखि करिव ४ घण्टाको उकालो पैदलयात्रा पछि पुगिने ४००० मिटरको उचाई गर्पाछेंडाबाट त्यहाँको रमणीय पाटन (घाँसेमैदान) देख्न सकिन्छ । उपत्यकाको पाखाथरदेखि उकालोलाग्दा करिब आधाघण्टापछि साँघुरेगौडा पुगिन्छ । जो ३०६० मिटरको उचाईमा छ । त्यसपछि करिव १ घण्टा उकालो चढेपछि चेप्टाढुँगा पुगिन्छ । जो ३४२० मिटरको उचाईमा छ । यहाँ केही गोठथरि भेटिन्छ । चेप्टाढुँगादेखि आधाघण्टाको उकालो पार गर्दा पानी बगिरहेको खोल्सी भेटिन्छ, यसलाई ठाडो खोला नामांकन गरिएको छ । यो ३५५० मिटरको उचाईमा छ । यहाँसम्म पुग्न अलिक सजिलो लाग्छ । तर उच्च भू–भागमा यात्रा नगरेका मानिसहरुलाई भने अलि सकस लाग्दोरहेछ । ठाडोखोलादेखि सिधा उकालो यात्रा गर्नुपर्दछ । २०० मिटर उचाई÷दुरीको उकालोकाटेपछि ढुँगेदेउराली भन्ने ठाउँ आउँछ । यहाँबाट ४००० मिटरको उचाईमा पर्ने गर्पाछेंडा पुग्न भने अलिक समय लाग्दछ । २६०० मिटरको उचाईबाट उकालो ४००० मिटरसम्म उचाईमा पुग्दा मानिसहरुलाई हाइअल्टिच्यूटको सम्भावना एकातिर हुन्छ भने अर्कातिर जति माथि पुग्यो त्यत्ति तल्लो भागमा जस्तो पर्याप्त अक्सिजन लिन मानिसलाई सहज नहुने हुँदा पनि बढी थकानको महसुस हुन्छ । ४५ मिनेटदेखि १ घण्टा समय लगाएर ढुँगेदेउरालीबाट गर्पाछेंडा पुगेको त्यहाँ यात्रा गर्ने यात्रुहरुको भनाई थियो ।
उपल्लो पाटन
४००० मिटरको उचाईमा पुग्दा गर्पाछेंडा आउँछ । चिसो सिरेटो चल्ने, वरपर केही होंचा त केही अजंङ्गका कालापथ्थर सहितका डाँडा, बीचको फराकिलो हरियाली घाँसेमैदानले छोपिएको समथर भू–भाग जस्लाई स्थानीयले बुकी, उपल्लोपाटन अर्थात् पछिल्लोपटन आन्तरिक पर्यटकहरुले बुकीपाटन भनेर बुझ्ने गरेको ठाउँ भेटिन्छ । यो पाटनक्षेत्र ४००० मिटरदेखि ४५ सय मिटर उचाईमा पर्दछ ।
गर्पाछेंडाबाट २०÷२५ मिनेट हिंडेर ४०३८ मिटरको उचाईमा रहेको फुर्सेदेउराली पुगिन्छ । फुर्सेदेउराली पुग्नुअघि केही उकालो काट्नुपर्दछ । जो धेरै सानो छ तर, उचाईमा भएका कारण त्यति उकालो पनि यात्रामा निकै कठिन जस्तो लाग्दछ । फुर्सेदेउरालीबाट सुरु हुन्छ खास उपल्लो पाटन, भेंडाचरन, फूलहरुको अर्को प्राकृतिक बगैंचा, फगुने र सेचुन आसपासका क्षेत्रहरुको रमणीय दृश्यले हरेक मानिसलाई एकछिन बसौं, हेरौं र रमाउ लाग्छ । देउरालीमा फूल चढाउने, ढुँगाको चुलीमा ढुँगा थप्ने, तस्बिर लिने गर्दा समय बितेको पत्तै हुँदैन । अलिक पर पुग्यो भने टिकाधारा भन्ने क्षेत्र पुगिन्छ । त्यहाँ एक मैदान भेटिन्छ । बीचमा पानी पोखरी, उत्तरपट्टी हिमालय श्रृङखला, पश्चिमपट्टी ढुँगाहरुको ठूलो पहाड र दक्षिणतिर भेंडाका बथान । यसलाई स्थानीयले छेलो फाल्ने भन्दारहेछन् । मानिसहरु यसै ठाउँसम्म पुगेर बुकीपाटन पुगेको सामाजिक सञ्जालमा परिचय दिईरहेको पाइएको छ । तर, यहाँभन्दा एक घण्टा पर पुगियो भने, टिकाधाराको उपल्लो उच्च पाटन थुम्काहरु प्रसस्त रमणीय स्थलहरु छन् । जहाँबाट रुकुमको भू–भाग, फागुनेधुरी, तल खोंच, राजवन चरनक्षेत्र, मुर्चुला, ढुक जौलेघाँटी भनिने ठाउँहरु देख्न र घुम्न सकिन्छ । टिकाधाराको माथिल्लो थुम्कामा फोनले काम गर्दोरहेछ । जहाँ नेपाल टेलिकमको फोरजी चलेपछि हामी पनि त्यहाँबाट केही तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका थियौं । खासगरी उपल्लो पाटनमा फोन नचल्ने हुँदा टिकाधारा अर्थात् छेलो फाल्नेबाट फर्कनेहरुलाई फोन सम्पर्कमा आउन तल्लो पाटन अर्थात् ढोरपाटन उपत्यका नै झर्नुपर्दछ ।
यहाँबाट फर्केर धेरैजसो मानिसहरु बुकी घुमेर फिर्ता भएको देखिन्छ । तर फुर्सेदेउरालीबाट दक्षिणतिर फागुने पुगेर त्यहाँको अवलोकन गरि साढे ३ घण्टामा ढोरपाटन उपत्यका झर्न सकिन्छ । फागुनेबाट अझै अगाडि बढ्छु भन्ने हो भने २ घण्टामा ठाकुर झरिन्छ, अझै माथिल्लो क्षेत्रमा पुगेर त्यहाँको अवलोकन गर्छु भन्नेहरुका लागि २ घण्टामा फागुने लेक पुगेर हिमाली क्षेत्र हेर्न र सोही बाटो २ घण्टामा रोल्पा सिमाना जोडिएको जलपा ताल पुग्न सकिन्छ ।
परिचय
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन क्षेत्रमा पर्ने पाटन क्षेत्र खासगरी स्थानीयको पशुचौपाया चरिचरण क्षेत्रका रुपमा चिनिन्छ । निसी, भूजी, तमान क्षेत्र र आसपासका जिल्ला, म्याग्दी, रुकुम, रोल्पा, डोल्पासम्मबाट उक्त क्षेत्रमा गाई, भैंसी, भेंडाबाख्रा र घोंडा खच्चडको बर्खे चरिचरनको क्षेत्रले चिनिन्छ पाटन क्षेत्र ।
पछिल्लोपटक मिडियामा आएको नामाँकन बुकीपाटन जो भनिएको छ । वा जसरी प्रचार गरिएको छ, त्यसको वास्तविकता भनेको उच्च भू—भाग, समथर वा सम्मपरेको फराकिलो अरु बुकै अग्ला बोट, रुख नभएको घाँसेमैदान तथा साथमा असार साउन महिनामा फुल्ने त्यहाँका रंगीविरङ्गी फूलहरुले दृश्यावलोकनमा रमणियता । स्थानीयले चरिचरनमा लगेको घोंडा, गाईवस्तु, बाख्रा, भेंडाहरुको बथान, प्राकृतिक रुपले होचा थुम्का, जताततै फराकिला हरिया पाटन, वरपर केही अग्ला पहाड, छिनछिनमा फेरिने त्यहाँको मौषम । एकैछिनमा कुहिरोले ढपक्क छेकिने, एकैछिनमा खुलेर हरियाली ।
पाटन
वरपर अग्लाअग्ला पहाडको खोंचमा, बीच भागमा सम्मपरेको घाँसेमैदान, चौर, फराकिलो भू–भाग, जस्लाई पाटन भन्ने गरिन्छ । बुर्तिबाङहुँदै अधिकारीचौर, बोबाङको उकालो पहाड काटेर जब देउराली पुगिन्छ, त्यहाँबाट देखिने वरपरका अजंग पहाड र त्यसको काखमा रहेको रमणीय समथर भू–भाग हो ढोरपाटन । त्यसको आसपासका क्षेत्रहरु निसेलढोर, काँग, भूजी, मस, नवी, सेलपाखे, पाखाथर, नौथरगाउँ, भण्डारीगाउँ यि सबै ढोरपाटन उपत्यका क्षेत्रका पाटन हुन् ।
नेपालको एकमात्र बैधानिक सिकार आरक्ष क्षेत्र ‘ढोरपाटन सिकार आरक्ष’ पश्चिम नेपालमा धौलागिरि हिमश्रृंखलाभित्र रुकुम, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा फैलिएको छ । बागलुङ बजारबाट एक दिनको यात्रामा पुग्न सकिने ढोरपाटन क्षेत्रमा बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्ग र बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ ।
ढोरपाटन उपत्यकालाई पर्यटनप्रेमीले मिनी स्वीजरल्यान्डको उपनाम दिएका छन् । विशेषगरी हिमपात भएको समयमा स्वीजरल्यान्डको झल्को दिने गरेको पर्यटन व्यवसायीको भनाई छ । स्वीजरल्यान्डमा हिउँले भरिँदा देखिने दृश्य र ढोरपाटनमा हिमपात हुँदाको दृश्य एकै लाग्ने गरेको अनुभव स्थानीयसँग उनीहरुले साट्ने गरेको देखिन्छ । यो बर्खा मौसम भएपनि खासगरी पाटनको हरियाली र फूलहरुको बगैंचा जस्तो अनौठो दृश्यावलोकनले मानिसहरुलाई त्यहाँ पुग्न हौसाएको छ । सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्ष्टा लगायतका प्लेटफर्ममा आन्तरिक पर्यटकहरुले राखेको फोटो, भिडियो र केही पत्रकारहरुले लेख्नुभएको स्थान परिचय समाचारले यसको चर्चा भएको ढोरपाटनका पर्यटन व्यवसायी जीवन पुन बताउनुहुन्छ ।
बुकी
आयो मायाँ बुकी झैं बसाउनी,
छ र मन दुनियाँ हसाउनी ।
ढोरपाटनमा बुकी बसायो…
ढोरपाटनमा नफूल्देउ बुकी,
बन्द हुन्छ मुटुको ढुकढुकी
ढोरपाटनमा बुकी बसायो…
निरमायाले मूलबाटो बिर्सदा, आँखाबाट आँशु रसायो ।
ढोरपाटनमा बुकी बसायो…कुनैबेला गायक सहबीन अर्गेजा र थमप्रकाश पुनले अडियो रिलमा गाएको गीत थियो । जस्ले ढोरपाटन र उपल्लो पाटनमा फूल्ने बुकी फूलको चर्चा, माया पीरतीको नेपाली लोकलयमा गाइएको गीत स्थानीयको मन–मनमा गुञ्जिन्थ्यो । यसै गीतलाई पछिल्लोपटक गायिका तिर्सना घर्तिमगर र राजु परियारले भिडियोमा दोहोरी गाएपछि त्यहाँ घुम्न जाने पर्यटकहरुले समेत टेन्टमा बसेर गाउने गरेको सुनिन्छ ।

ढोरपाटन आसपासका स्थानीयहरु परापूर्वदेखि अहिले पनि चैत्र महिनामा बुकी जाने र असोजमा बेसी फर्कने प्रचलन छ । आफ्ना गाईवस्तु, भेंडाबाख्रा र घोंडाखच्चडको चरिचरन क्षेत्रलाई स्थानीयले बुकी जाने भनेर भन्ने गरेका छन् । अहिलेका सञ्चार माध्यममा बुकी र पाटनलाई एकठाउँ जोडेर बुकीपाटन भनेजस्तो ठोस परिचय बुकी र पाटनको अलि बेग्लै छ । बुकी भनेको स्थानीयको बुझाईमा फूल मात्र होईन, त्यहाँको चरिचरनमा गाईवस्तु, भेंडाबाख्रा र घोंडाखच्चडका लागि उपयुक्त पोषिलो एक प्रकारको घाँसलाई पनि उनीहरु बुकीचरण भन्ने गरेका छन् । अर्को बुकी फूल नामबाट बुझ्दा त्यहाँ फूल्ने सबै फूललाई बुकीफूल भनेर केही मिडियामा लेखिएको रहेछ वा केही सञ्चारकर्मीले लेखेर प्रचार गरेको पनि पाइयो । वास्तवमा बुकी त्यहाँ फुल्ने सबै रंगीचंगी फुल होईनन् । बुकीफूल एक प्रकारको वास्नादार, सेतोफूल्ने लेकाली फूल हो । जो असारदेखि असोजसम्म त्यहाँको पाटनमा फूलकै रुपमा रहन्छ । जो तल्लो बेंसीमा पनि केही अग्लो बोटका रुपमा हुन्छ । यसलाई हिन्दुधर्मावलम्बीहरु तिहारमा तोरणमा लगाएर टाँग्ने गरेको देखिन्छ । तर पाटनक्षेत्रमा हुने बुकीफूल कतै ठूलो र कतै सानो बोटको रुपमा हुन्छ ।
मौसमी र प्राकृतिक फूलको बगान
पाटनक्षेत्र यो मौसममा फूलहरुको मौसम र आन्तरिक पर्यटकहरुको बुझाईमा बुकीपाटन प्राकृतिक संगम बनेको छ । पाटनक्षेत्रमा सबैभन्दा बढी पाइने फूलको प्रजाति बिजौरे फूल हो । यस फूलको बिचमा सानो पहेँलो गुथो र त्यसबाट १०÷१५ वटा साना पहेँला पत्र देखिन्छ । यस्तै यहाँ पाईने अर्को फूल हो – राँके फूल । यो फूल सिम्रिक रङको हुन्छ । स्थानीयले साउने सक्रान्ति अर्थात् राँके सक्रान्तिका दिन पूजामा यो फूल अनिवार्य रूपमा प्रयोग गरिने गरेको बताउँछन् । यो फूल पाटनको दलदले सिमसार क्षेत्रमा फुल्ने गर्दछ ।
ढोरपाटनमा यस्ता सयौं प्रजातिका फूलहरु यो मौसममा फुलिरहेको देखिन्छ । तर ढोरपाटन सिकार आरक्ष क्षेत्रअन्तर्गत रहेको बुकी क्षेत्रमा के कति प्रजातिका फूलहरु छन् भनेर एकिन भने भइनसकेको सिकार आरक्षका संरक्षण अधिकृत पशुपति अधिकारील बताउँछन् । उनका अनुसार, हालसम्म आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक फरक फूलको तस्बिर र स्थानीय नाम संकलन भएको छ ।
हेर्दा सूर्यमुखी फूलको आकार जस्तो देखिने, पहेँलो रङ र गोलो आकृतिको अर्को फूललाई स्थानीयले दुधेफूल भन्ने गरेका छन् । यो फूलमा स–साना पत्र देखिन्छ । यसको डाँठ चुँड्दा दुध जस्तो पदार्थ निस्कने हुँदा यसलाई दुधे फूल भन्ने गरिएको हो ।

पाटनको दलदले सिमसार क्षेत्रमा फुल्ने अर्को बोक्सी फूल हो । यो फूलको डाँठमा तलदेखि माथिसम्म सेता फूल पलाएका हुन्छन् । अर्को छ, चुम्रीफूल, दिउँसोको घाममा दिनभर फक्रिने र रात परेपछि डल्लो पर्ने यो प्रजातिको फूलको गुण हुन्छ । चुम्रीफूल विभिन्न रङका हुन्छन् । हेर्दा निकै आकर्षक देखिन्छन् । रातो रङमा फूल फुल्ने चुम्री फूललाई स्थानीयले नाके फुली फूल भनेर पनि चिन्ने गरेका छन् ।
दहीठेकी फूल, यो फूलको आकृति ठेकीको बिक्रो जस्तो हुने भएकाले दहीठेकी फूल भन्ने गरिन्छ । यस फूलको बिचमा पहेँलो रङको गुथो हुन्छ र त्यसको वरिपरि गोलाकारमा १५० वटा जति साना प्याजी रङका पत्र गाँसिएका हुन्छन् ।
मदानेफूल, ढोङ्ग्रेकाँडा झारमा फुल्ने फूललाई मदाने फूल भनिन्छ । यस फूलका सेता पत्रमा हल्का रातो रङ मिसिएको हुन्छ । यसका फल पाकेपछि चरा र मानिसले खाने गर्छन् ।
काप्चुच्चेफूल, यस फूलका डाँठ कागको खुट्टा जस्तै आकृतिका हुने भएकाले काप्चुच्चे फूल भन्ने गरिएको हो । कप्टेरीफूल, भुइँमा सानो आकारमा फैलिएर फुल्ने गर्दछ । यसबाहेक यहाँ विषमा फूल पनि फुल्छ । हेर्दा राम्रो देखिएकाले मान्छेले यसलाई छुन्छन् र यसमा एक प्रकारको विष हुन्छ । जो मानिसको मुखबाट पेटसम्म पुग्यो भने, विष लाग्ने डर हुने स्थानीयको भनाई छ । यस्ता अनेक प्रजातिका वनस्पति जो असार, साउन र भदौमा पाटनभरि फुल्छन् । कतिपयको त नाम नै थाहा छैन । आकार प्रकार अनुसार उनीहरु अनेकथरि नामबाट यी फूलहरुलाई चिन्ने र चिनाउने गरेका हुन्छन् । जस्तो, बटारे फूल, फट्याङ्ग्री फूल, घोप्टनेप्टे फूल, कलचौरेफूल, रानीफूल, हत्तासेफूल, चिमरेफूल, भित्तेफूल, भोक्रेफूल, भदौरेफूल । यि फूलहरु वर्षातको समयमा फुल्छन् र हिउँदको समयमा हराउँदै जान्छन् । तर हिउँदको समयमा पनि यहाँ विभिन्न प्रजातिका फूलहरु फुलिरहने गरेको देखिन्छ ।
बुकी चरिचरन र जनजीवन
समुन्द्री सतहदेखि २६०० देखि ४६०० मिटरको उचाइमा रहेको बुकी क्षेत्र स्थानीयको चरिचरन क्षेत्र हो । यसलाई कसैले गोठालाको बासस्थान भनेका रहेछन् । तर म गोठालो शब्द चयन प्रतिस्थापन गर्ने मानसिकतामा छु । किन कि ढोरपाटनमा कोही गोठाला छैनन् र चरिचरनमा जानेहरु गोठाला होईनन्, मालिक हुन् । उनीहरु आफ्ना पशुचौपायालाई बुकीमा लैजाने परम्परागत कार्यको निरन्तरता दिएका हुन् । कसैको गोठालो गएका होईनन् । उपल्लो पाटन अर्थात् बुकी क्षेत्रको गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउराली लगायतका विभिन्न स्थानमा उनीहरु दशकौं यता पशुचौपाया चरिचरनको रुपमा चर्चेको क्षेत्र हो । जो आज आन्तरिक पर्यटकहरुले भर्जिन पर्यटकीय क्षेत्र फेला पारेका छन् । जहाँ जे देखे उनीहरु गोठाले जीन्दगी, गोठालेसँगको तस्बिर, गोठालेहरुको गोठमा बास जस्ता शब्द नजानेर खर्चेका छन् । उनीहरु त्यस क्षेत्रका रैथाने हुन् । हजारौं भेंडा, बाख्राका मालिक हुन् । सयौं गाईभैंसी उनीहरुका सम्पत्ति हुन् । उनीहरुको त्यो परम्परागत पेशा, व्यवसाय हो । जनजीवन हो । तर भर्जिन पर्यटकीय स्थल पुग्ने हाम्रा आँखा गोठाले हुन् । गोठमा भेटिएका, भेंडाका बथानमा देखिएका, एकरात गोठमा बास दिएका उनीहरु गोठाला होईनन् ।
भर्जिन गन्तव्य
गत असारदेखि भदौसम्म हजारौंको संख्यामा ढोरपाटनको उपल्लो पाटन क्षेत्रमा आन्तरिक पर्यटकहरु पुगेका छन् । यो याममा उपल्लो पाटन क्षेत्रमा चारैतिर हरियाली छाउने, भुँईभरि पुलेका रंगीविरंगी फूलहरुको मौसम, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान पर्यटकहरुका लागि हेर्न लायक विषय बनेका छन् । अर्कोतिर यहाँ बेलाबेला खुल्ने मौषम, अनि एकैछिनमा कुहिरोले डमक्क ढाकिएर अर्को संसारजस्तो लाग्ने वातावरण, उत्तरपट्टी बेलाबेला देखिने हिमालका अग्ला चुचुराहरुले पर्यटकको मन लोभ्याएको हो । यो मौसममा मात्र होईन, असोज, कार्तिकको मौसममा अग्ला हिमालका चुचुराहरु छेकिदिएका बादलले स्थान छोड्दै गएपछि चारैतिर सेता हिमालका दृश्यहरु हेर्नलायक हुने स्थानीयले बताउँछन् । नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ गन्तव्यसँगै हेर्न, देख्नलायक थुप्रै कुराले मानिसहरुले उपल्लो बुकीक्षेत्र र त्यहाँको पाटनलाई भर्जिन गन्तब्यका रुपमा लिएको पाइएको छ ।
सामाजिक सञ्जालमा भल्गर सिर्जना सैजुले, ढकमक्क फुलेको प्राकृतिक बगानमा भिडियो चिखाउँदै, ‘हे भगवान ! यो फूल यहाँ किन फुलेछ र ? हाम्रै घरको आँगनीमा फूले हुन्न र ? भनेको भाईरल बनेको देखिन्छ । अर्कातिर त्यहाँ पुग्ने सञ्चारकर्मीहरुले वाहा ! ढोरपाटन । वाहा ! बुकीपाटन र स्वर्गको टुक्रा भन्नै यहाँको परिचयात्मक समाचार सम्प्रेषणले पनि आन्तरिक पर्यटकको वृद्धि भइरहेको छ । जति पर्यटक पुगे त्यत्ति नै स्थानीय होटल, होम–स्टेले आर्थिक लाभ पनि लिएका छन् । जो राम्रो पक्ष हो ।
व्यवस्थापन र दीगोपन
अघिल्लो आर्थिक वर्षदेखि नै ढोरपाटन, उपल्लो बुकीक्षेत्र पुग्ने आन्तरिक पर्यटकको चहलपहल त बढेको छ । त्यो ढोरपाटनबासीका लागि सकारात्मक कुरा हो । तर त्यसको व्यवस्थापकीय कुरा र पर्यटकहरुलाई निरन्तराता दिएर व्यवसायीक दीगोपना राख्न भने केही चुनौती देखिन सक्छन् । बुकीक्षेत्र पुगेर मैले केही तस्बिर सामाजिक सञ्जालमा राखेपछि, उपल्लो पाटन पुग्ने पर्यटकहरुले साथमा लगेको प्लाष्टिक फोहोर गरेका कुराहरु, पुर्वी रुकुममा प्लाष्टिकजन्य वस्तु खाएर भेंडा मरेको कुरा र ढोरपाटनको एक होमस्टेले एक कोठाको पाँच हजार रकम तोकेको कुरा सामाजिक सञ्जालमा व्यापक भयो । यो सामान्य कमीकमजोरीका रुपमा त्यहाँका स्थानीय बुद्धिजीवी, होटल तथा होमस्टे सञ्चालक र स्थानीय तहका जनप्रतिनिधिले लिनु हुँदैन । समस्या आइरहन्छन् । त्यसको निराकरण गरिनुपर्दछ ।
पर्यावरणको सम्वद्र्धनमा जन्मेको स्थानीय सक्रिय युवाहरुको सामक्त संस्थाले समाजमा अगुवाई गर्ने र स्थानीय तहले समेत समन्वयमा सहकार्य गरेको पुनको भनाई छ । तसर्थ सबै स्थानीय सरोकारवालाको आफ्नो ठाउँको प्राकृतिक सौन्दर्यता जोगाउने, सफा राख्ने, पर्यटकसँग राम्रो व्यवहार गर्ने, आफ्नो पेशा व्यवसायलाई मर्यादित र पारदर्शि बनाउने काम स्थानीयको हुन जान्छ । यत्ति कुरामा ध्यान दिए ढोरपाटनको पर्यटन व्यवसाय फस्टाउने पक्का छ ।





