शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जसै डोजर चले, मुलहरु मासिए

जसै डोजर चले, मुलहरु मासिए


  • रामकृष्ण बोहरा
  • भाद्र ३ २०८२, मंगलबार

बडिगाड गाउँपालिका वडा नं. २ का ८० वर्षीय प्रेमलाल पोखरेललाई ४५ वर्षदेखि खाइपाइ आउँदै गरेको पानी अवरुद्ध हुँदा बेस्मार चिन्ता छ । २०३८ साल ताका पोखरेल गाउँका प्रधानपञ्च थिए । उनकै अगुवाइमा गाउँलेहरुले महिनौँसम्म कडा श्रमदान गरेर जलजलाको तारेभीरबाट गाउँमा खानेपानी ल्याएका थिए । झण्डै १५ किमी पाइप बिच्छ्याउन गाउँहरुले श्रमदान गरेका थिए । जुन चानचुने कुरा थिएन । तारेभीर खानेपानी आयोजनाले तत्कालिन दगातुम्डाँडा गाविसका २ सयबढी घरले खानेपानी पाएका थिए । घर छेउकै मुलको पानी उपभोग गरेकाहरुले पानीको स्रोतमा खासै चासो देखाएनन् । पानीका मुलहरु सुक्दै गएपछिमात्र गाउँलेहरुले अहिले पानीको स्रोतमा दाबी गर्न थालेका छन् । बडिगाड १ र २ वडामा ल्याईएको पानीको श्रोतमा अवरोध गर्ने काम भयो । १ र २ वडाका लागि ल्याएको पुरानो पानीको श्रोतमा वडा नं. ४ का बासिन्दाले अवरुद्व गरेपछि खानेपानीको स्रोत विवाद अहिले न्यायिक समितिमा पुगेको छ ।

बडिगाडको दगातुम्डाँडा मात्रै होइन, बागलुङ नगरकै वडा नं. ६ मालिका र ८ सिगानामा पनि खानेपानीको समस्या विकराल छ । गाउँबासीको प्यास मेटाउन त्यहाँ डिप–बोरिङका योजना सञ्चालन गरिएको छ । पहाडी क्षेत्रमा पानीका स्रोत सुक्दै गएका यि केवल प्रतिनिधि घटना मात्र हुन् । बागलुङ धेरै ग्रामिण इलाकाहरु अहिले काकाकुलको नियतिमा बाँचिरहेका छन् । जलश्रोतमा धनी भए पनि उचित व्यवस्थापन गर्न नसक्दा खानेपानीको समस्या विकारालको स्थितिमा छ । पानीको मुहानहरु बिस्तारै सुक्दै गहिरहेका छन् । भएका पानीका श्रोतहरु पनि व्यवस्थित नहुँदा खानेपानीको ब्यवस्थापन गर्न गाउँका सिंहदरबारलाई चुनौती थपिएको छ । मानव जीवनको मुख्य आधार खानेपानीको श्रोतहरु वर्षेनि घट्दै गर्दा भविष्यमा निम्तिने महासंकटलाई ध्यान दिँदै स्थानीय सरकारले नीति तथा कार्यक्रममा खानेपानीलाई प्राथमिकता दिएका छन् । भएका ठाउँमा पानीका स्रोतको व्यवस्थापन गर्ने नभएका ठाउँमा डिप–बोरिङदेखि लिफ्ट योजना संचालन गर्ने योजना छन् ।

यो वर्षायाममा पर्याप्त पानी नपर्दा अन्नभण्डारका रुपमा लिइने तराइका विशाल फाँटहरुमा रोपाइँ हुन नसकेका समाचार अखबारका हेडलाइन बने । अर्काेतिर इनार र चापाकल सुक्दा बोरिङदेखि ट्याङकरबाट पानी वितरण गर्नुपर्ने विकराल अवस्था सिर्जना भएको छ । तराईंमा खानेपानीको संकट चुलिरहँदा यसको वाछिंटा पहाडी जिल्लामा विकराल समस्याको रुपमा देखा पर्न थालेको छ । खेतका कान्लादेखि पहाडका खोंचबाट बाह्ैमास निर्मल पानी बगिरहने खहरेका डोबहरु अहिले मेटिएका छन् । घरआँगनकै मुलहरु सुकेका छन् । सामान्य वर्षा हुँदा फुट्ने मुलहरु वर्षाै भयो देखिन छाडेका छन् । पानीका स्रोतहरु सुक्दै जान थालेपछि पिउने पानीको अभाव खड्किएको छ । खेतीपातीका लागि आकासेपानीको भर पर्नुपर्ने बाध्यता छ ।

‘नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु र पानीका श्रोत तथा मुहानहरु सुक्न नदिनु हामी सबैको कर्तब्य हो’ काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले भने । आफ्ना नागरिकलाई स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्न काठेखोला गाउँपालिकाले मुलहरुको सम्भाव्यता अध्ययन समेत गरिसकेको छ । काठेखोला–५ बिहुँकोटका टोलबस्तीमा खानेपानीको चरम समस्या देखिए पनि श्रोतको अभाव हुँदा डिप बोरिङको योजना अघि बढाउन विज्ञहरुद्धारा सम्भाव्यता अध्ययन गरिसकेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा वडा नं. ६ बिहुँस्थित सौरेनी, ताराखसे, गिठापाटा, बयलडाँडा, टापु, जलजला र सुलडाँडा क्षेत्रलाई लक्षित गरी लिफ्टिङ प्रविधिबाट पानी व्यवस्थापन गर्ने काम भइरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा बताउँछन् ।

स्थानीय सरकारको गठनपछि गाउँ गाउँमा विकासको लहर चलेपनि रोजगार, शिक्षा र सुविधाको नाममा विदेश पलायनदेखि शहरमा केन्द्रित हुने प्रचलनले गाउँबस्ती रित्तिदै गएका छन् । हुनेखाने वर्ग शहर केन्द्रित हुँदा निम्न वर्गीय समुदायले गाउँलाई चलायमान गराउने काम गरेको छ । बाँदर आतंकले ग्रामिण क्षेत्रहरु बिरानो बनेका छन् । उब्जाउ भूमि बाँझो पल्टिएका छन् । ढुंगे घरहरु खण्डहरमा परिणत भएका छन् । गाउँमा सडक, बिजुली, स्वास्थ्य संस्था बिस्तार भए पनि पर्याप्त खानेपानीको व्यवस्था नहुँदा गाउँ छाड्नेको लर्काे लागेको निसीखोला–२ अर्नाकोटकी ८१ वर्षीय छलविर विक दुखेसो पोख्छन् । घर नजिकका मुल सुकेपछि ढोरपाटन–५ को वसन्त धाराको मुलबाट दैनिक ३ घण्टा लगाएर पानी खेप्नुपर्ने अर्नाकोटकै ४९ वर्षीया नरमती विकको बाध्यता छ । २०४७ सालमा अर्नाकोट ल्याएको सबै पानीका सुकेका छन् । ४ सयबढी घरधुरी रहेको अर्नाकोटबाट दिगो मुलको व्यवस्थापन गर्न नसके गाउँ नै रित्तिने स्थानीय ओमबहादुर रसाइलीले बताउँछन् ।

१० प्रतिशतमा शुद्व पानीको पहुँच !
२०७८ को जनगणना अनुसार बागलुङ जिल्लाको जनसंख्या २ लाख ४९ हजार २ सय ११ रहेको छ । कुल जनसंख्याको ९५ प्रतिशतमा खानेपानीको आधारभूत पहुँच पुगेको छ भने १० प्रतिशतमा मात्र शुद्धीकरण गरिएको पानी उपभोग गरिरहेका छन् । १ सय ४६ योजना कार्यान्वयन गरिरहेको खानेपानी तथा सरसफाई डिभिजनले २०८१÷८२ मा १३ योजना सम्पन्न गरेको छ । योजना र उपयोजनाहरु सम्पन्न हुँदा बागलुङमा २१ ८६ घरमा धारा जडान गरिएको छ । डिभिजनका अनुसार, बागलुङ नगरमा सञ्चालित २८ योजनामध्ये १० ओटा लिफ्टिङ छन् । शहरी क्षेत्रमा जनसंख्या केन्द्रित हुँदा पानीको मागलाई पूर्ति गर्न लिफ्टिङ योजना सञ्चालन गर्नुपरेको हो । गलकोटमा १३ योजनामध्ये ६, जैमिनीमा १० योजनामा ३, ढोरपाटनका २० योजनामध्ये ३, बरेङमा ९ योजनामध्ये ४, काठेखोलाका ९ योजनामध्ये ३ र बडिगाड गाउँपालिकाका १५ योजनामध्ये ६ ओटा लिफ्टिङ खानेपानी योजना निर्माणको चरणमा रहेका छन् ।

मानवीय हस्तक्षेपका कारण पानीका मुहान सुक्दै
नेपालको पहाडी क्षेत्रमा उपलब्ध हुने मूलको पानी अन्य क्षेत्रको भन्दा उपभोग योग्य मानिन्छ । कम खर्चिलो योजनाबाट पानी वितरण गर्न सकिने हुनाले पानीका मुल सबैभन्दा उचित विकल्प हो । तर, आजभोलि पानीका मुहानहरु सुक्दै गएका छन् । पानीका स्रोतहरुको संरक्षण सबैको लागि चुनौती बनेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेल बताउँछन् ।

स्थानीय स्तरमा भैरहेका मानवीय हस्तक्षेपले पानीका मुहान सुक्दै गईरहेका छन् । जलाधार क्षेत्रको विनाश, आकासे पानी संकलन गरि जमिनमुनि पानी पठाउने परम्परागत पोखरी, दह, ताल तलैयाको बिनास, भौतिक विकासका लागि सार्वजनिक जग्गा, चौतारी, बाटोघाटो जस्ता क्षेत्रमा बनाइएका पक्कि संरचनाहरु जसले सतहबाट जमिनमा पानी जाने प्रक्रिया अवरुद्व हुँदा पानीका मुहान सुकेको पौडेलको भनाई छ । जलवायु परिवर्तनका कारण हुने अतिवृष्टि, अल्पवृष्टि, बेमौसमी वर्षाका कारण सिर्जना हुने बाढी पहिरो, खडेरी, भुकम्प जस्ता प्राकृतिक कारणले उचित समयमा जमिनमुनि पानीको भण्डारण हुन रोक्ने, पानी बहावलाई रोक्ने तथा बहावको दिशा परिवर्तन गरिदिने पौडेलले बताउँछन् ।

पहाडमा मुहान सुक्दै गएपछि लिफ्टिङ र डिप–बोरिङ खानेपानी योजनाहरुको निर्माण कार्य बढ्दै गैरहेको छ । लिफ्टिङ योजनामा पानीको स्रोत घट्ने सम्भावना कम भए पनि दिगोपनाका लागि समुदायले पानीको उचित महशुल उठाउन सक्ने क्षमता विकास गर्नुपर्ने पौडेलको सुझाव छ । डिप–बोरिङमा पनि लिफ्ट प्रविधि नै प्रयोग हुने हो, केही समय राहत मिले पनि पहाडी भुगोलमा जमिनमुनिको पानीको स्रोत घट्दै जाने भएकोले यस्ता योजनाहरु दिगो हुने सम्भावना न्यून रहेको पौडेलले बताए । ‘दक्ष जनशक्तिको रहोवरमा र स्थानीयको सहभागितामा मुहान संरक्षण, पुर्नभरण पोखरी निर्माण,भौतिक विकासका लागि निर्माण गरिने संरचनाहरु वातावरणमैत्री बनाउने, तथ्यांकको उचित संकलन गरी जलाधार क्षेत्रको संरक्षणका लागि तीनै तहका सरकारबाट आवश्यक नीति, कानुन र मापदण्ड बनाई कार्यान्वयन गर्ने सके पानीका मुहानहरु संरक्षण गर्न सकिन्छ,’ उनले भने ।

डोजरे विकासले पानी प्रवाह खल्बलियो
पानीको मुहान वरिपरी जथाभावी सडक खन्दा जमिनमुनीको पानीको प्रवाह खल्बलिने र विस्तारै पानीका मुहान सुक्ने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थी बताउँछन् । ‘परम्परागत रुपमा भएका तथा निर्माण गरिएमा आहाल तथा पानी पोखरीहरु माँसिएको तथा पुरिएकोले जमिनमा पानीको पुर्नभरण हुन पाउँदैन, फलस्वरुप पानीका मुहानहरु सुक्ने गर्छन’ पन्थीले भने । जलवायु परिर्वतनले तापक्रम वृद्धि भएको तथा वर्षा अनियमित हुने गरेकोले कतै पानी बढी परेर बाढीपहिरो जाने, कतै पानी कम परेर खडेरी पर्दा मुहान सुक्ने गरेको पन्थीको भनाई छ । पानीको मुहान सुक्ने अर्को कारण वन डढेलो भएको पन्थी बताउँछन् । पन्थीका अनुसार, वन डढेलोले प्रभावित क्षेत्रको पुरै जमिन सुख्खा हुने र पानीको मुहान सुक्न जान्छ । वनविनास तथा भू–उपयोगमा परिवर्तनको कारणले पनि पानीका मुहान सुक्ने गरेका छन् । ‘वन विनास हुँदा जमिनले पानी सोस्न नसकी बगेर जाँदा एकातिर बाढीपहिरोको जोखिम निम्त्याउँछ भने अर्कातिर मुहान सुक्छ,’ पन्थीले भने ।

बागलुङ बजार आसपासका तित्याङ र मालिका क्षेत्रमा जथाभावी सडक खनिएका छन् । यिनै क्षेत्रमा वर्षेनि डढेलो लाग्ने गरेको छ । आहाल र पोखरीहरु माँसिएका छन् । पालिका र वडाले पर्याप्त मात्रामा वातावरण संरक्षण र जल पुर्नभरणका कार्यक्रम सञ्चालन गरेका छैनन् । प्रायः सरकारी तथा गैरसरकारी संघसंस्था वातावरण संरक्षणका सवालमा उदासिन छन् । ‘डोजरे विकासमा सबैको ध्यान केन्द्रित हुँदा सिगाना र मालिका जस्ता क्षेत्रमा पानीका मुहानहरु सुकी बोरिङ खन्नुपर्ने अवस्था आयो,’ पन्थी भन्छन्, ‘बेलैमा गल्तीहरु नसुधारे निकट भविष्यमै जमिनमुनीको पानी सकिन गई बोरिङबाट पनि पानी आउँदैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->