पर्वत/पर्वत जेसिजको आयोजनामा आजदेखि पर्वत जेसिज कप–२०२५ सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
खुल्ला प्रतियोगितामा २५ समूहले प्रतिस्पर्धा गर्ने पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले बताए । पर्वत जेसिजका कामलाई जिल्लाभित्र मात्रै सीमित नगरेर अन्य जिल्लाका जेसिज तथा जेसिज बाहिरका संघसंस्था, क्लबहरूसँग जोडिनका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
जेसिजका सदस्यहरू तथा देशभित्र र बाहिर रहेका विभिन्न सामाजिक व्यक्तिहरुको सहयोगमार्फत तीन दिनसम्म हुने प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ । यो पुरस्कार राशी पर्वतमा आयोजना भएका हालसम्मका फुटबल प्रतियोगितामध्येको सर्वाधिक भएको अध्यक्ष पौडेलको दाबी छ । खेल कुश्मा बजारमा रहेको बडागाउँचौर खेल मैदानमा हुँदै छ ।
प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरिने, सबैभन्दा बढी गोल गर्ने खेलाडी, प्लेयर अफ द टुर्नामेन्ट, वेस्ट किपर, वेस्ट डिफेन्डर र वेस्ट मिडफिल्डरलाई कुश्मामा रहेको साहसिक खेल ‘जीपलाइन’मा खेलको अवसर प्रदान गरिने आयोजक जेसिजले बताएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका १५ वटा र प्रदेश बाहिरका १० टीमले प्रतिस्पर्धा गर्नेछन् । पर्वत जेसिजका संस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले शिल्डको अनावरण गर्दै खेलाडीहरूको जर्सी समेत सार्वजनिक गरेका छन् ।





