इतिहासको पाना पल्टाउँदा,
मानव सभ्यताको यात्रा देखिन्छ
आगोको आविष्कारदेखि चन्द्रमा छुनु सम्म,
कलम र किताबले ज्ञानको उज्यालो फैलाए,
अस्पताल र विज्ञानले जीवनलाई दीर्घ बनाए,
संचारले संसारलाई एउटा गाउँ बनायो ।
तर, त्यही हातले बनाएको अर्को कथा पनि छ ।
हिरोशिमा र नागासाकीको पीडा,
पृथ्वीको छाती चिरेर गरिएका आणविक परीक्षण,
आकाशमा धुवाँ र आँसु भरिएका नजारा,
जीवन भन्दा विनाश ठूलो देखाउने गर्व ।
आज, विश्व आणविक परीक्षण विरुद्धको दिवसमा,
हामीले सोच्नैपर्छ,
मानवताको अस्तित्व सुरक्षित राख्ने बाटो के हो ?
नेपाल जस्तो सानो तर शान्तीप्रेमी राष्ट्रले,
शान्तिको स्वर गुञ्जाउन सक्छ
विश्व मञ्चमा,
‘हामीलाई विनाश होइन, विकास चाहिन्छ’ भनेर ।
अबको दिनमा सपनालाई सुन्दर बनाऔं ।
जहाँ बालबालिकाले डर होइन,
ज्ञान र सिर्जनामा रमाउनेछन्,
जहाँ विज्ञान जीवनको मित्र हुनेछ,
विनाशको शत्रु होइन ।
हामी खर्बौँ बजेट
हतियारमा होइन,
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण जोगाउन लगाऔं ।
अस्त्र–शस्त्रको दौड होइन,
सहयोगको दौड सुरु गरौं,
जहाँ राष्ट्रहरू प्रतिस्पर्धा गर्छन्
विकासमा,
प्रकृति बचाउन,
मानव बचाउन ।
भयानक खतराको छायामा बाँच्नु भन्दा,
आशाको उज्यालो फैलाऔं ।
शान्तिको गीत गाउँ,
सह–अस्तित्वको बाटो रोजौं,
विश्वलाई सम्झाऊँ पटक पटक
‘विनाशको खेलले जित कहिल्यै ल्याउँदैन ।’
हामी मानव हौं,
विनाश होइन, सिर्जनाका सन्तान,
भविष्यलाई सुन्दर बनाउन
आजै बाटो फेर्न सकिन्छ,
यदि इच्छाशक्ति र सहकार्य जाग्छ भने ।
बागलुङ नगरपालिका १०, भकुण्डे धौलेचउर





