पोखरा/पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज छात्रतर्फ सेमिफाइनलका खेल हुँदैछ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्रछात्रा फुटबलमा छात्रतर्फ सेमिफाइनलका खेल हुँदा छात्रातर्फ लिग चरणका अन्तिम खेलहरु हुने भएका हुन् ।
बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश ग¥यो । शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सुमन घर्ति र शक्ति बोहोराले समान एक गोल गरे ।
सैनिक आवासिय महाविद्यालयले कालिका माविलाइ ४–० ले पाखा लगायो । सैनिकको जितमा वसिल विक्रम कुँवरले ह्याटिक गरे भने रेमन पौडेलले १ गोल गरे । वसिल प्लेयर अफ दि म्याच घोषित भए ।
यस्तै गण्डकी बोर्डिङले हेमजा बोर्डिङलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । गण्डकीका लागि सुहन खत्री र अर्मान गुरुङले गोल गरे भने, हेमजाका लागि समिर विकले गोल गरे । अर्मान प्लेयर अफ दि म्याच घोषित भए ।
अन्तिम क्वाटरफाइनल खेलमा सोसल पब्लिकले बालकल्याणलाई ५–२ ले हरायो । सोसलको जितमा बुद्ध विकले २ तथा दावा थापा, रवि मणि र अमित परियारले गोल गरे । अमित प्लेयर अफ दि म्याच घोषित भए । बाल कल्याणको तर्फबाट प्रविण गुरुङ र प्रिन्स गुरुङले गोल गरे ।
उता छात्रातर्फ लिग चरणको खेलमा शान्तिदिपले सेन्ट मेरिजलाई १–० ले हरायो । शान्तिदिपको जितमा सेजु खड्गले गोल गरिन् । दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले सोसल पब्लिकलाई ६–० ले हरायो । सैनिकका लागि सन्सुभ थापा मगरले चार गोल गरिन् भने रस्मी रिजालले २ गोल गरेको म्याच कमिस्नर गोपाल लामाले जानकारी दिए ।
सेमिफाइनलमा शिशु कल्याण र शैनिक तथा सोसल पब्लिक र गण्डकी भिड्नेछन् ।
प्रतियोगितामा छात्रातर्फ ६ र छात्रतर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।
प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।





