पोखरा/नेपालमा आयोजना हुने खेलमध्ये सबैभन्दा बढी हुने खेल नै भलिबल हो । राष्ट्रिय खेल भलिबलको उर्वर भूमि हो ‘गण्डकी प्रदेश’ । त्यहि भलिबलमा विभागीय क्लब बाहेक बाहिरको जोडिने नाम भनेको गण्डकी प्रदेशको हो । चाहे पाँच विकास क्षेत्र हुँदा होस् या संघियता पछिको सात प्रदेश । तत्कालिन् पश्चिमाञ्चल होस् या गण्डकी । भलिबलको क्षेत्रमा कहिल्यै पछि परेन । अहिले भलिबलको इभेन्टमा गण्डकीको सहभागिता रहेन भने त्यो अपुरो जस्तै हुन्छ । गण्डकीको टिममा एकसे एक खेलाडी छन् जो दर्शकमाझ निकै लोकप्रिय छन् ।
तिनै चर्चित नाम मध्येका एक हुन् ‘हिमाल सुनारी’ । १९९८ डिसेम्बर ६ मा पाल्पा निस्दी ४ मा जन्मेका हिमाल रेवन सिंह सुनारी र खगिसरा सुनारीका छोरा हुन् । पाल्पा जन्मथलो भएपनि भलिबलको कर्मथलो उनका लागि गण्डकी बनेको छ । मिडल ब्लकरको भूमिकामा रहेका हिमालको भलिबलको यात्रा टिपटप हेल्प नेपालबाट सुरु भएको हो ।
गण्डकीमा उनको यात्रा लामो छैन् । गण्डकीको टिमबाट खेल्न थालेको चार वर्ष मात्रै पुगेको छ । पाँचौ एनभीए कपबाट राष्ट्रिय स्तरको खेल खेल्न सुरु गरेका उनीले २०७८ सालमा दोस्रो टाइगर कप भलिबलबाट गण्डकीमा डेब्यु गरे । छोटो समयमै व्यापक चर्चित खेलाडीको रुपमा अघि बढे ।
नेपालमा हुने सबै जसो राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसके । काभा क्लब भलिबल च्याम्पियनसिप, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता, एनभीएक कप भलिबल लगायत सबै प्रतियोगिता खेलिसकेका छन् । गण्डकीबाट खेल्दै गर्दा उनी युएई, मलेसिया र हङकङसम्म पुगिसकेका छन् । दश जोड दुइ पढेका सुनारी गण्डकीका उदाउदा तारा हुन् ।
हिमालले जे जति कमाएका छन् ति सबै भलिबलबाटै कमाएका छन् । शालिन र मलिन स्वभावका हिमालको मुख्य विशेषता भनेको क्विक स्पाइक हो । गण्डकीका मुख्य खेलाडी मध्येका एक उनले गण्डकी प्रदेशबाट खेल्न पाउँदा निकै खुसी लागेको बताउछन् । उनले गण्डकीमा धेरै कुरा सिकेका छन् । उनी भन्छन्, ‘गण्डकी मेरो लागि सबै कुरा हो । भलिबलले मलाइ धेरै दिएको छ मैले त्यसको गुन तिर्नुपर्नेछ । म निकै खुसी छु । गण्डकी मेरो परिवार हो ।’
गण्डकीले भलिबलमा पाएको सफलतामा हिमालको महत्वपूर्ण योगदान रहँदै आइरहेको छ । खेल कौशलकै कारण उनी दर्शकमाझ निकै लोकप्रिय छन् । उसो त नेपालमा भलिबल क्रेज हेर्नुछ भने गण्डकी प्रदेश हेरे पुग्छ । गण्डकीको भलिबलको समर्थक जति सम्भवत् अन्य प्रदेशमा छैन । ‘मेरो लागि खुसीको क्षण भनेको गेमकै लागि विदेश जान पाए । अझ गण्डकीमा सिनियर दाइहरुसंगै खेल्न पाउँदा गर्व महसुस गर्छु’ उनले भने, ‘गण्डकीबाटै काभा भलिबल खेल्न पाउनु मेरो सपना पुरा भएको छ ।’
समर्थकमाझ लोकप्रिय हिमालको सपना राष्ट्रिय टिमबाट खेल्ने भएपनि होचो कदको भएका कारण निकै समस्यामा पर्ने गरेका छन् । भलिबले उनलाई नाम मात्रै होइन पहिचान दिदैँ गर्दा शहरदेखी गाउँ र सुगम देखी दुर्गम सम्म पुगेका छन् । स्थानीय टोल कप हुँदै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितासम्म आइपुग्दा हिमालले प्राप्त गरेको उपाधिको कुनै मुल्य छैन् ।
‘राष्ट्रिय टिमको जर्सी लगाउने चाहाना छ तर, मेरो उचाइकै कारण त्यो सम्भव हुन्छ जस्तो लाग्दैन । अब लोकल गेम देखी नेशनल गेम सम्म खेल्न पाउँदा त्यो भन्दा ठूलो के नै हुन्छ र ? भलिबल खेल्ने मात्र होइन, यसले देशभर घुम्ने अवसर पनि दिएको छ ।’ देशभर खेल्दै गर्दा केहि तितो अनुभव समेत उनमा छ । हरेक ठाउँमा प्रतियोगिता हुँदा बोलाइन्छ कहिले त यतिसम्म हुन्छ की घर परिवारसंग सम्पर्क नै गर्न पाउदैनन् ।
कसैसंग पनि प्रतिशोधको भावना नभएका हिमाल गण्डकी प्रदेशको भलिबल विकासका लागि प्रदेश सरकारले बजेटको व्यवस्थापन गनुपर्ने सुनाउछन् । गण्डकीमा आफु जस्तै धेरै खेलाडी रहेको सुनाउँदै उनीहरुलाई अघि बढाउन बजेट आवश्यक रहेको उनी बताउछन् ।
हिमाल नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २९ गते पोखरामा आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को पिपल्स च्वाइस अवार्ड विधामा मनोनीत भएका छन् । उनीसंग अरु चार खेलाडीको छन् । पिपल्स च्वाइस अवार्डका लागि हिमालसंगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसुका विजय सिन्जाली मनोनयनमा परेका हुन् । यस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । भोटिङको लागि आईएमई खल्ती डिजिटल पार्टनरका रूपमा आबद्ध भएको छ ।





