पोखरा/पोखरामा जारी दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधिको लागि काठमाण्डौंका फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने भएका छन् ।
पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा काठमाडौंका शेर्पाले हेटौडाका नितेश खण्डवाललाई ५–१ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरे ।
अर्को खेलमा काठमाण्डौंकै तामाङले पोखरेली खेलाडी विकास महर्जनलाई ५–२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरे । फाइनल खेल भोलि (मंगलबार) बिहान १०ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक सोम बिकले बताए ।
पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौ १७ गते देखि सुरु भएको हो । पोखरा महानगरको प्रवद्र्धनमा संचालन भएको प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागिता भएको प्रालिका संचालक प्रताप गुरुङले बताए ।
प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार २ सय २ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ भने उपविजेता हुनेलाई ८० हजार प्रदान गरिने भएको छ ।
सेमिफाइनलमा प्रवेश गर्ने दुई खेलाडीलाई भने जनही २५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा हाइएस्ट ब्रेकरलाई २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ ।





