बागलुङ/लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बुर्तिबाङमा आयोजित प्रथम ढोरपाटन लायन्स व्याडमिन्टन कप–२०८२ सम्पन्न भएको छ ।
ढोरपाटन लायन्स क्लबको आयोजनामा पहिलो पटक बुर्तिबाङमा आयोजित राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगितामा ‘बी’ लेभलमा ३८ टिम र ‘सी’ लेभलमा ३२ टिमको सहभागिता थियो । ‘बी’ लेभलतर्फ तनहुँका सफल भुजेल र स्याङ्जाका सुन्दर विकले प्रथम स्थान हासिल गरेका छन् ।
चितवनका विधान गुरुङ र स्याङ्जाका चिना गुरुङ द्धितीय र रुकुमका मदन खड्का र बसन्त पाण्डे, तनहुँका सरोज गुरुङ र बिपिन घले तृतीय भए । बी लेभलतर्फ प्रथम समूहलाई नगद ५० हजार, द्धितीयलाई ३० हजार र तृतीय हुनेलाई १०/१० हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्रले प्रदान गरिएको थियो ।
त्यसैगरी सी लेभलतर्फ जैमिनीका भुवन थापा र हिमाल श्रीस प्रथम, गलकोटका जीवन साहनी र मिलन खत्री द्धितीय तथा बडिगाडका रेशम थापा, सुमन घर्ती, जैमिनीका प्रदिप सापकोटा र राजेन्द्र थापा तृतीय भएका छन् । सी लेभलतर्फ प्रथम हुने समूहलाई नगद ३० हजार, द्धितीयलाई २० हजार र तृतीय हुने प्रत्येक दुई समूहलाई ७ हजार ५ सयसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापनमा बोल्दै कार्यक्रमका प्रायोजक तथा युवा व्यवसायी दिपक कुमार अदैले लायन्स क्लब अफ ढोरपाटनले पहिलो पटक राष्ट्रिय स्तरको उत्कृष्ट व्याडमिन्टन प्रतियोगिताको आयोजना गरी राष्ट्रिय स्तरका खेलाडीको सहभागिता गराउन सफल भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र केसीले लायन्स क्लबले सक्रिय रुपमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको र त्योसंगै खेलकुद क्षेत्रमा समेत सक्रियता देखाएको बताए । बुर्तिबाङमा आयोजित कोजाग्रत पूर्णिमा मेलाकै अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको थियो । लायन्स ढोरपाटनले आगामी कार्तिक १४ र १५ गते बुर्तिबाङमा निःशुल्क आँखा शिविर समेत संचालन गर्ने जनाएको छ ।





