पोखरा/कोभिड १९ देखि स्थगित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगितालाई पुनः निरन्तर रुपमा संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्तहरुले जोड दिएका छन् ।
नेपाल हवाई खेलकुद संस्था (ना) को विहिबार पोखरामा सम्पन्न भएको २२ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले करिब ६ बर्ष अघि देखि स्थगित भएको उक्त प्रतियोगितलाई निरन्तर रुपमा संचालन गर्न ना लाई आग्रह गरेका हुन् ।
साहसिक खेलकुदको मुख्य गतिविधि चलायमान बनाएको यस खेललाई अझ अन्तराष्ट्रिय स्तरमा ब्यापक प्रचार प्रसार गर्नको लागि पनि प्रतियोगिता आवश्यक भएको आवश्यक सहयोग र समन्वय गर्न आफुहरु तयार रहेको सरोकारवालाहरुले बताएका छन् । २० औं संस्करणसम्म सम्पन्न भएको खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिता कोभिड देखि हालसम्म संचालन हुन सकेको छैन । २०७९ मा पोखरामा भएको राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाईडिङ दुर्घटनामा परी निसिम थापाको निधन भएसंगै नागरिक उड्डयन प्राधिकरणले पोखरामा सोलो प्याराग्लाईडिङको अनुमति दिएको थिएन तर केही महिना अघि मात्र यसलाई खुल्ला गरेको हो ।
पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपी बहादुर भट्टराईले नियमित रूपमा पोखरामा हुँदै आएको खुला प्याराग्लाइडिङ प्रतियोगितालाई निरन्तरता दिन ना लार्ई आग्रह गरे । भट्टराईले विभिन्न निकायमा बजेट विनियोजन भइसकेको अवस्थामा प्रतियोगिता सञ्चालन नहुनु संस्थाको नेतृत्वप्रति नै प्रश्न उठाउने विषय भएको बताए । खेलकुद प्रतियोगिताहरू समयमा नहुँदा र पटकपटक मिति सारिँदा खेलाडीहरूको भविष्य नै अन्योलमा परेको उनको गुनासो थियो ।





