भोलिको बिदा के थियो र,
मेलाको रंगमञ्च पहिले नै सजिँदै थियो ।
म पैदलै जाने सोचमा,
साथीहरू दुविधामा,
तर साँझ हाकिमको अप्रत्याशित फोन
‘गाडीमा सँगै जाउँला’—भन्ने
अकस्मात् परेको प्रस्ताव ।
मनमा अचम्म, तर मान्दै फोन राखेँ ।
अर्की नर्सको ‘म त जान्न’ भन्ने वाक्य,
तर पछि बेनी–ट्याक्सीको यात्रा,
ढोरपाटन जाने श्रीमानको भनाइ
सबै कुरा कुहिरो मुनि घाम झैँ फरक–फरक ।
उता अर्को सुलसुले युवाले
अविवाहित महिलालाई गाडीको सिटमा
संगै संगतमा सजाएर
रातमा नै यात्रा पूरा गराइसक्यो ।
मैले त साढे सात बिहानको समय थाहा पाएको,
तर साढे छ बजे मै गाडी उडिसकेको,
मात्र हावा र हल्लाको साक्षी भएँ ।
कार्यालय फर्कँदा हाकिमको प्रश्न
‘किन गएनौ ?’
म भित्रभित्रै अमिलो घाउ बोकेर मौन ।
नौटंकीको पर्दा आफैँ खस्यो,
सत्यको धुवा नखोसी झरिरह्यो
मुस्कान अगाडि,
छुरा पछाडि ।
एउटै कार्यालय भित्र
सकुनीको योजना,
मेकियावेलीको हाँसो,
र, म
हावामै उडाइएको मनुवा
एक सामान्य मान्छे ।
तर पनि,
मनको बाटो अब स्पष्ट छ ।
छलको भीडमा
आफूलाई नबिर्सिने संकल्प ।
बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर





