स्याङ्जा/फेदीखोला गाउँपालिकाले आयोजना गरेको आठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिद्धार्थ माध्यमिक विद्यालयले हात पारेको छ ।
फेदीखोला रंगशालामा तीन दिन सम्म चलेको प्रतिस्पर्धामा सिद्धार्थ माविले १८ स्वर्ण, छ रजत र चार कास्य सहित उपाधि जितेको हो । उपाधि विजेता सिद्धार्थ माविले शिल्ड सहित ट्रफी, मेडल, प्रमाणपत्र र ३० हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।
यस्तै सात स्वर्ण, पाँच रजत र सात कास्य सहित दोस्रो भएको चण्डीडाँडा माध्यमिक विद्यालयले २० हजार र चार स्वर्ण, १२ रजत र १२ कास्य सहित तेस्रो बनेको दामगाडे माविले १० हजार पाएको हो ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटमा प्रतिस्पर्धा गरिएको थियो । विजयीलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खेलकुदमार्फत विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासनको विकास गर्ने बताए ।
प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक विकास र अनुशासन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने सुवेदीको भनाई थियो । प्रतियोगितामा पालिकाका ११ विद्यालयका खेलाडिबीच प्रतिस्पर्धा भएको थियो ।





