पोखरा/पोखरामा आयोजना हुने टाइगर कप आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका कारण काभा महिला भलिबलको मिति परिवर्तन गरिएको छ । टाइगरग्रुप अफ पोखराको आयोजनामा आगामी माघको दोस्रो सातादेखी पोखरामा छैटौं संस्करणको टाइगरकप भलिबल प्रतियोगिताको आयोजना हुँदैछ ।
संस्थाको चौथो साधारणसभामा अध्यक्ष नारायणप्रसाद शर्माले दुइ प्रतियोगिताको मिति जुधेपछि आफुहरुले गरेको आग्रहलाई स्विकार गर्दै काभा महिला भलिबल सारिएको हो ।
माघको ९ देखी १७ गतेसम्म टाइगरकप भलिबल प्रतियोगिताको आयोजना हुँदैछ । सेन्ट्रल एसिएन भलिबल एसोसिएसन (काभा) को वार्षिक क्यालेन्डर अनुसार माघको १३ देखी २४ गतेसम्म माल्दिभ्समा काभा महिला भलिबल च्याम्पियनसिपको आयोजना गरिएको थियो । जसका लागि खेल तालिका समेत तयार भएको अवस्थामा पोखरामा भलिबल जुधेपछि नेपाल भलिबल संघ मार्फत काभालाई पत्राचार गरिएको थियो ।
काभा अध्यक्ष मोहम्मद लतिफले उक्त आग्रहलाई स्विकार गरेको र छैटौं संस्करणको भलिबलका लागि पोखरा आउने समेत अध्यक्ष शर्माले सुनाए ।
काभाले उक्त प्रतियोगिताको मिति परिवर्तन गरि माघ २५ देखी फागुन २ गतेका लागि तोकेको छ । यस्तै टाइगरकपमा मालदिभ्सको राष्ट्रिय टोलीका खेलाडी समेत पोखरा आउने भएका छन् । यसअघि कार्यक्रमको उद्घाटन गर्दै मनिपाल शिक्षा अस्पतालका निर्देशक नारायण पौडेलले टाइगर ग्रुपले छोटो अवधिमा गरेको कार्यहरु प्रशंसनिय र महत्वपूर्ण रहेको जनाउँदै आफ्नो संस्था सदैव सहकार्यका लागि तयार रहेको बताए । नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार हरिप्रसाद पराजुलीले पोखरामा सञ्चालन हुने गौरवका खेलकुद कार्यक्रमहरुको सामञ्जस्यता ल्याउन सके त्यसले पोखराको खेलकुदसँगै पर्यटन क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सो अवसरमा आफ्ना भनाई राख्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाले टाइगर ग्रुपले खेलकुद, स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको कार्यले सबैलाई आकर्षण गर्न सफल रहेको जनाउँदै उनले आफू जहिले पनि संस्थाको सामिप्यमा रहेर कार्य गर्न उत्सुक रहेको उल्लेख गरे । सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरूङले टाइगर ग्रुपले गरेको कार्यको प्रशंसा गर्दै सहारा क्लब पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले टाइगरकप पोखराको मात्रै नभइ नेपालकै गौरवको प्रतियोगिता भएको बताए ।
चौथो वार्षिक साधारण सभामा सचिब डिबी नेपालीले प्रतिवेदन प्रस्तुत गर्दै छैटौं टाइगर कपको आयोजनासँगै शिक्षा, स्वास्थ्यलगायत अन्य सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताए । त्यस्तै संस्थाले खेलाडी तथा प्रशिक्षकहरुको सम्मान, मुस्ताङमा मुटु स्वास्थ्य अभिमुखीकरण कार्यक्रमलगायत १ दर्जन प्रस्तावित कार्यक्रमहरु तय गरिएको जानकारी दिए । संस्थाका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले पाँचौ टाइगर कपमा प्राप्त सफलताले उत्साहित रहेको जनाउँदै संस्था गत आवमा दुई दर्जन संस्थाहरुलाई आर्थिक सहयोगसँगै सहकार्य गरेको जनाए ।





