शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘ए डिभिजन’ लिग नहुँदा गोल्डकपलाई चुनौती

‘ए डिभिजन’ लिग नहुँदा गोल्डकपलाई चुनौती

सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले ए डिभिजन लिग नहुँदा फुटबलको दर्शक समेत गुमेको बताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८२, मंगलबार

पोखरा/मोफसलकै चर्चित सहारा क्लब पोखराले यसपटक रजत महोत्सव मनाउँदैछ । नेपाली फुटबलमा निरन्तर प्रतियोगिता गर्ने एक मात्र क्लब हो सहारा । द्धन्द्धकाल होस, विनाशकारी भूकम्प होस् वा कोरोना महामारी । सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकप डगमगाएको छैन । प्रतियोगितालाई निरन्तरता दिदैँ २५ औं संस्करणको आयोजना गर्दैछ ।

यतिबेला नेपालको फुटबल धरमराएको छ । फुटबलको मेरुदण्डको रुपमा ए डिभिजन लिगलाई लिने गरिन्छ । यो विश्वव्यापी हो । तर, नेपालमा ए डिभिजन लिग हुन सकेको छैन् । जसका लागि खेलाडी तथा ए डिभिजन क्लब आन्दोलनमै उत्रिन बाध्य भए ।

ए डिभिजन लिग नहुँदा समग्र घरेलु फुटबलमा ठूलो असर पुगेको छ, जसको कारण देशकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपलाई समेत परेको छ । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले ए डिभिजन लिग नहुँदा फुटबलको दर्शक समेत गुमेको बताए । ‘वर्तनमान अवस्थालाई हेर्ने हो भने फुटबलको दर्शक भासिएको अवस्था छ । किनभने पछिल्लो क्रममा एडिभिजन लिग नहुनु र खेलेरै जीविकोपार्जन गर्नुभएका खेलाडीहरु विदेश पलायन हुनुलगायतका विविध कारणहरु छन् । त्यसले क्रेज घटेकै छ,’ उनी भन्छन्, ‘यसका कारण स्तरीय खेलाडी पाउनै मुस्किल छ । हामीले नै टिम बनाउन खोज्दा समस्या भएको छ ।’

विभिन्न चुनौतीको सामना गर्दै अघि बढेको सहारा क्लबलाई यसपटकको चुनौती भनेको रजत वर्ष मनाउनु हो । यो पटक विशेष बनाउने प्रयासमा क्लब लागि परेको छ । प्रतियोगिता आगामी माघ २७ गते देखि फागुन ९ गते सम्म हुने प्रतियोगितामा स्तरीय टिम सहभागिता गराउने मुख्य कुरा रहेको थापाले बताए ।

प्रतियोगितामा ‘ए’ डिभिजन, विभागीय क्लबहरु, आयोजक र अन्तर्राष्ट्रिय क्लब गरी १२ टिमको सहभागिता हुँदै आएको छ । गत संस्करणमा उज्वेकिस्तानको ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । गत संस्करणमा सहारा क्लबले २४ लाख २२ हजार ७६ रुपैयाँ बचत गर्न सफल रहेको थियो ।

सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले प्रतियोगिताको तयारी सुरू भएको जानकारी दिँदै सहयोगका लागि आग्रह गरेका छन् । यो वर्ष विशेष भएको कारणले पनि पोखरा महानगरसँग भगिनी सम्बन्ध भएका देशका सहरका टिमलाई पोखरा निम्त्याउने गरी महानगरसँग छलफल भएको उनले बताए । ‘आहा रारा गोल्डकप सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरुको सहयोगार्थको निरन्तरता हो । यसमा सदा झैं सबैको सहयोग र सहकार्यका लागि आग्रहसँगै यो वर्ष पोखराका भगिनी सहरहरुलाईसमेत सहभागिताका लागि महानगरसँग छलफल अघि बढाएका छौं ।’

मुख्य प्रायोजक संस्था हिम श्री फुड्सका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्डकपसँग आफ्नो स्वर्गीय पिता सूर्यबहादुर केसीको आत्मिय सम्बन्ध रहेको कारणले पनि प्रतियोगिता सफल बनाउन सहयोगको निरन्तरता रहने प्रतिवद्धता जनाए ।

यसै गरी पोखरा महानगर पालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको नाम बेचेर गरिने गतिविधिभन्दा पोखराको गरिमा मािथ उठाउने आहा रारा पोखरा गोल्डकप जस्ता महत्वपूर्ण कार्यक्रमहरु सफल बनाउन सबै पोखरेलीहरुको सहयोगको खाँचो रहेको औंल्याए । उनले भने,‘पहेँलो देख्ने वित्तिकै सुन हुँदैन । व्यावसायिक रुपमा पोखराको नाम बेचेर स्वार्थ पूरा गर्नेहरु पनि छन् । तर, आहा रारा गोल्डकपले पोखराको गौरव माथि उठाएको छ । हामी यस्ता कार्यक्रम सफल बनाउन सहकार्यको खाँचो छ ।’

सो अवसरमा सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरूङ, महासचिब गंगाराज पौडेललगायतले आफ्ना भनाइ राख्दै रजत वर्षमा टेकेको आहा रारा पोखरा गोल्डकप सफल बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->