पोखरा/पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा तथा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस, न्यूरोड, पोखराको सह–आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालका अनुसार केन्द्रको नवौं वार्षिकोत्सव तथा क्लबस्तरीय पुरुष–महिला भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।
प्रतियोगितालाई छन्त्याल ब्रदर्श पोखराले विशेष सहयोग र गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोग रहेको छ ।
कार्यक्रमका संरक्षक पदम श्रेष्ठले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताअन्तर्गत क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम र द्वितीय हुनेलाई क्रमशः एक लाख ५० हजार रुपैयाँ, एक लाख रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए ।
प्रतियोगितामा सान्त्वना पुरस्कार स्वरुप सेमिफाइनलका उपविजेता २ टिमलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । उक्त प्रतियोगिताको सहभागी दर्ता शुल्क छ हजार पाँच सय तय गरिएको छ ।
महिला भलिवल प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ६० हजार र ४० हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस प्रतियोगिताका सहभागी शुल्क पुरुषतर्फ ६ हजार ५ सय र महिलातर्फ ४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
खेलकुदमा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सभैर र प्रशिक्षकलाई उत्कृष्ट विधागत उपाधि पनि समावेश गरिएको छ ।





