बागलुङ/बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
बिहिबार आयोजित पत्रकार सम्मेलन नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ट्रफी सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले बागलुङकै प्रतिष्ठित फुटबल खेलले जिल्लाको खेलकुद क्षेत्रमा प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘प्रतियोगिताले खेलाडिको क्षमता उजागार हुनुका साथै नयाँ खेलाडी पहिचान र उत्पादनमा पनि प्रभावकारी भूमिका खेल्ने छ,’ श्रेष्ठले भने । कतिपय खेलाडीहरुमा खेलकौशल भएपनि अवसर नपाउँदा उनीहरुको प्रतिभा उजागार हुन नसकेको बताउँदै श्रेष्ठले मेयर कप फुटबललाई हरेक वर्ष निरन्तरता दिएर सक्षम खेलाडि उत्पादन लाग्ने बताए ।
उनले खेलबाट देशलाई अन्तराष्ट्रिय तहसम्म चिनाउन सकिने बताए । नेपाल जस्तो सानो र आर्थिक रुपमा कमजोर देशले अन्य प्रतिष्पर्धा गर्न नसकेपनि खेल क्षेत्रबाट संसारमा चिनाउने काम गर्ने भन्दै मेयर कपले बागलुङलाई देशभर चिनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मेयर कपले पहिचानसँगै युवाहरुमा खेल प्रतिको रुची बढाउने बताए । उनले स्वस्थ्य जीवनका लागि खेल महत्वपूर्ण भएको पनि बताए । त्रिवि क्रिकेट मैदानमा देखिएको जनलहर पनि खेलको प्रभाव भएको उनले बताए ।
बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित बाङ्ेचौर खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा हुने चरणमा रहेको प्रतियोगिता संयोजक सुदीप गौतमले जानकारी दिए । नगरपालिकास्तरीय प्रतियोगितामा दुई विभागीय टोली नेपाल प्रहरी र सेनाको दुई टोलीसहित दश टोलीले सहभागी जनाउने गौतमले बताए ।
प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाका दुई टोलीले सहभागिता जनाउने छन् । खेलमा उदयपुरको कटारी नगरपालिका, म्याग्दीको बेनी नगरपालिका, बागलुङको जैमिनी, गलकोट, पर्वतको जलजला र पैयँु गाउँपालिकासहित विभागीय टोली नेपाली सेनाको कालिजंग गण घोडाबाँधे र गण्डकी प्रदेश प्रहरीले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेता टोलीलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने छ । उपविजेतालाई २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक गौतमले जानकारी दिए ।
नगर खेलकुद विकास समितिका संयोजक सुरज बोसेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत पूर्णबहादुर घर्तीले गरेका थिए । प्रतियोगिताका लागि नगर परिषदले २० लाख रुपैयाँ बजेट बिनियोजन गरिसकेको छ ।





