म्याग्दी/२३ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा केबी एकेडेमी दरबाङ च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा ३–१ ले बेनी सामुदायिक माविलाई पराजित गदैं पहिलोपटक केबी एकेडेमीले जेसीज कपको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो हापको २२ मिनेटमै बिबेक बुढाले गोल गरेपछि केबी एकेडेमीले अग्रता लिएको थियो । पहिलो हाफमा निकै कमजोर प्रदर्शन गरेको बेनी सामुदायिकले दोस्रो हाफमा सुधार गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन् ।
केबी एकेडेमीको रणनीति, खेलमा तालमेल देखिन्थ्यो भने बेनी सामुदायिकको मैदानभित्र रणनीति तथा तालमेलको कमीका कारण केबी एकेडेमीको तर्फबाट दिक्षित बुढाले ३८ र ४३ मिनेटमा थप दुई गोल गदैं विजयको बलियो संकेत देखाएका थिए । प्रतियोगिताका थपिएको अतिरिक्त समयमा बेनी सामुदायिकका सन्दिप क्षेत्रीले एक गोल गोल गरेका थिए ।
प्रतियोगिता अवधिभर मैदानभित्र केबी एकेडेमी नै हाबी देखिएको थियो । यसअगाडी केबी एकेडेमी सन् २०१८ मा आयोजित १७ औं जेसीज कपमा उपबिजेता भएको थियो भने यसपटकको समेत उपबिजेता बेनी सामुदायिक मावि गतबर्षको समेत उपविजेता हो । बेनी सामुदायिकको पहिलोपटक विजेता बन्ने सपना यसपटक पनि सफल हुन सकेन ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता केबी एकेडेमीका खिमबहादुर थापा, माउण्ट एभरेष्ट आवासीय माविका एञ्जल थजाली र लिटल गार्डेन एकेडेमीका एलिन जुग्जालीले समान ५ गोल गरेका थिए । उत्कृष्ट खेलाडी केबी एकेडेमीका होमन जुग्जाली, उत्कृष्ट गोलरक्षक केबी एकेडेमीका सञ्जन घर्ती, उत्कृष्ट डिफेन्डर बेनी सामुदायिक माविका साइरेस पुन, उत्कृष्ट मिडफिल्डर केबी एकेडमीका मौसम रोका, उत्कृष्ट स्ट्राईकर बेनी सामुदायिक माविका सन्दिप क्षेत्री, राईजिङ प्लेयर लिटल गार्डेनका इशान सुबेदी, उत्कृष्ट प्रशिक्षक केबी एकेडेमीका टण्डीन लामा र अनुशासित टिम निस्कोट माविलाई सम्मान गरिएको प्रतियोगिताका मूल संयोजक नविन पौडेलले बताए ।
प्रतियोगितामा बिजेता विद्यालयलाई गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, नेपाल जेसीजका राष्ट्रि«य उपाध्यक्ष अनुप दुलाल, उपाध्यक्ष सन्दिर खत्री, बागलुङ जेसीजका शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष विनोद घर्ती क्षेत्रीले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार पाँच सय ३५ पुरस्कार वितरण गरेका थिए ।





