पोखरा/विराटनगर किंग्समाथि सानदार जित हासिल गर्दै सुदुरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । सुदुरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराएको हो ।
१५६ रनको लक्ष्य पछ्याएको विराटनगरलाई १४ ओभर एक बलमै अलआउट गर्दै फाइनल प्रवेश गरेको हो । विराटनगरले ७८ रन मात्रै जोड्न सक्यो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए ।
बलिङमा सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेन दुई–दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट लिए ।
त्यस अघि टियु क्रीकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको रोयल्सले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोड्यो । डे लाङ्गेको तेस्रो ओभरको पाचौं बलमा मुख्तर अहमद बोल्ड आउट भए । उनले १० बलको सामना गर्दै २ चौकाको मद्दतमा १० रन बनाए । सुर्य तामाङको आठौं ओभरको पाचौं बलमा ज्याकसन आउट भए । उनले ११ बलमा २ चौका र १ छक्काको मद्दतमा २० रन जोडे । सुदुरपश्चिमले १० ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ७६ रन जोडेको थियो ।
हाजलेटको १३ ओभरको पाचौं बलमा इशान पाण्डे आउट भए । नरेन भट्टले उत्कृष्ट क्याच गरे । इशानले १७ बलमा १ चौका सहित १३ रन जोडे । १४ ओभरको तेस्रो बलमा दुई रन जोड्ने क्रममा कप्तान दिपेन्द्र सिंह ऐरि रन आउट हुन पुगे । उनले ३ बलमा ३ रन बनाए । प्रतिश जिसिको १७ औं ओभरको दोस्रो बलमा हार्मित सिंह लङ सट खेल्ने धुनमा क्याच आउट भए ।
१९ औं ओभरको अन्तिम बलमा विनोद भण्डारी आउट भए । उनले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए । उनी प्रतिश जिसिको बलमा आउट भए ।
डे लाङ्गेको २० औं ओभरको चौथो बलमा आरिफ शेख २० रनमा आउट भए ।
विराटनगरको लागि प्रतिश जिसि र २ डे लाग्ङेले २–२ तथा सुर्य तामाङ र साम हेजलेटले १–१ विकेट लिए ।
सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सिजनमा सुदूरपश्चिम फाइलनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार खेल्नेछ । पराजित भएको विराटनरले दोस्रो क्वालिफायरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग खेल्नेछ ।





