पोखरा/फुटबलको क्षेत्रमा पोखरा सद्यैँ हेपिदै आइरहेको छ । फुटबलको मुख्य निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोखरालाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता कहिल्यै दिएन । विसं २०७२ सालको भूकम्प पछि जीर्ण बनेको पोखराको फुटबल मैदानले नयाँ रुप पायो । १ अर्ब २८ करोड रुपैयाँमा नयाँ संरचना बन्यो तर, पोखरेलीले ठूला प्रतियोगिता हेर्न पाएनन् ।
अब भने त्यो खडेरीको अन्त्य हुने भएको छ । एन्फाले पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ । मंसिर १५ गते बसेको एन्फाको आकस्मिक बैठकले साफ यु १९ महिला च्याम्पियनसिप पोखरामा आयोजना गर्ने निर्णय गरेसँगै पोखराले पहिलो पटक एन्फाबाट ठूलो प्रतियोगिता पाउने पक्का भएको थियो ।
प्रतियोगिताकै लागि मंगलबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) का प्रतिनिधि, एन्फाका प्रतिनिधिसहितले पोखराको फुटबल मैदानको निरिक्षण गरे । निरिक्षणको क्रममा मैदान अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन योग्य देखिएन ।
फिफाको मापदण्ड नपुगेको पोखरा फुटबल मैदान साफ स्तरको प्रतियोगिताका लागि योग्य मैदान हो तर, प्रतियोगिता नहुदा मैदानको स्तर खस्किएको हो । मैदानसँगै प्लेयर चेन्जिङ रुम, प्लेयर बक्स र मैदानमा काम गर्नै पर्ने देखियो । लगत्तै साफ, एन्फा, जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको बैठक चल्यो । बैठकमा एन्फाले ति सबै कुराको व्यवस्थापन आफुहरुले नगर्ने र स्थानीयर स्तरबाटै गर्नुपर्ने प्रस्ताव राखेपछि यहाँबाट त्यो पुरा गर्ने प्रतिबद्धता पायो । छलफल पश्चात एन्फाले जनवरी २९ बाट प्रतियोगिता गर्ने निर्णय ग¥यो ।
साफका महासचिव पुरुषोत्तम कटेलले पोखराको फुटबल मैदानको स्तर गुणस्तरीय नभएको बताए । साफ यु १९ च्याम्पियनसिपका लागि मैदानको निरिक्षण गर्न आएका उनले मैदान अन्तर्राष्ट्रिय स्तरको नभएको सुनाए ।
‘यो अवस्थाको मैदानमा फुटबल गराउन सकिदैन तर, यहाँको मैदान मेन्टिनेन्स गर्ने प्रतिबद्धता हामीले पाएका छौं । हाम्रो उदेश्य साउथ एसियाभर फुटबल फैलियोस भन्ने हो एन्फाले चाहेमा हामीले काठमाडौं बाहिर गर्न तयार छौं अहिले पनि पोखरामा गर्ने भनेपछि हामीले सहजै स्विकार गरेका छौं’ उनले भने, ‘मलाइ डिसिजन गर्न गाह्रो भएन । तर, ग्राउन्डमा थोरै काम गर्नुपर्ने छ । अन्तर्राष्टिय फुटबलका लागि यो ग्राउन्डले हुदैन अलिकति काम गर्नुपर्छ जुन प्रतिबद्धता मैले पाएको छु त्यो अनुसार अवश्य हुन्छ भन्ने मलाइ लागेको छ । केन्द्रमा जस्तो त हुँदैन बाहिर जाँदा केहि समस्या त हुन्छ तर, साफ त्यसको लागि तयार छ ।’
उनले साफलाई निश्चित शहरमा मात्रै नभइ हरेक शहरमा लानुपर्छ भन्ने उदेश्यका साथ साफले अहिले विभिन्न राष्टका अन्य सहरमा समेत लैजाने गरेको र सोही अनुरुपमा पोखरामा समेत च्याम्पियनसिपको आयोजना गर्न लागेको सुनाए । एन्फाको निर्णयपछि पनि साफलाई मैदानको बारेमा जानकारी चाहिएकाले निरिक्षणका लागि आएको सुनाए ।
एन्फाका महासचिव किरण राईले पोखरमा पहिलो पटक एन्फाले अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको सुनाए । पोखराको फुटबल मैदानमा प्लेयर चेन्जि रुम, प्लेयर बक्स र मैदानलाई स्तरोन्नती गर्न आवश्यक रहेको बताए । उनले प्लेयर चेन्जि रुम र प्लेयर बक्स तयारीका लागि कास्की जिल्ला फुटबल संघले काम गर्ने र मैदानमा दुवो र स्तरोन्नतीका लागि जिल्ला खेलकुद विकास समिति कास्कीले काम गर्ने उनले सुनाए । त्यसका लागि एन्फाले प्राविधिक पठाउनेछ ।
‘हामीले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय टुर्नामेन्टको आयोजना गर्दै छौं यो भन्दा अघि साफ गेम भएको थियो, त्यो राखेपले गरेको हो एन्फाले होइन ढिला भयो होला तर, हामीले पहिलो पटक आयोजना गरेपछि आगामी दिनमा यहाँ अन्य खेलहरु आउँछन्’ उनले भने, ‘ठूला प्रतियोगिताका लागि यहाँ फ्लड लाइट र स्कोर बोर्डको आवश्यकता छ म यहिबाट भन्न चाहान्छु की एन्फाले त्यो गर्न सक्दैन र सम्बन्धित निकायले ध्यान दिनुपर्छ ताकी आगामी दिनमा ठुला प्रतियोगिता पनि यहाँ आउन । काठमाडौंले मात्रै अब धान्न सक्ने अवस्था छैन् ।’
एन्फाको यो प्रस्थान विन्दु रहेको र आगामी दिनमा अन्य प्रतियोगिता आउने सम्भावनाको ढोका खुला भएको बताए । च्याम्पियनसिपका लागि गण्डकी प्रदेश फुटबल संघले प्लेयर बक्स बनाउनेछ । यस्तै कास्की जिल्ला फुटबल संघले प्लेयर चेन्जिङ रुममा फर्मेसनको व्यवस्थापन गर्नेछ भने कास्की जिल्ला खेलकुद विकास समितिले मैदान स्तोन्नतीको काम गर्ने गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष तथा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।
मंगलबारको छलफलमा विभिन्न विषयमा छलफल भएको उनले सुनाए । ‘ग्राउन्ड बनाएर दिन्छौ ठूलो कुरा भएन । व्यवस्थापन सबै कुरा कास्की जिल्लाले हेरोस् भन्ने साफ र एन्फाको कुरा हो । प्लेयर चेन्जिङ रुम जहाँ छ त्यहि हुन्छ तर, त्यहाँ खेलाडीका लागि आवश्यक ¥याक बनाउनुपर्नेछ’ उनले भने, ‘यो प्रतियोगिता पछि अन्य ठूला प्रतियोगिता पोखरामा आउने हामीले विश्वास लिएका छौं ।’ पोखराले यो प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सकेमा आगामी दिनमा थुप्रै प्रतियोगिता पाउने पक्का भएको कारण यहाँका फुटबल सम्बद्ध संघ संस्थाहरु तात्तिएका छन् ।





