स्याङ्जा/गल्याङ नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानुभक्त आचार्य माध्यमिक विद्यालयले जितेको छ ।
तीन दिनसम्म तल्लो गल्याङ खेलमैदानमा चलेको प्रतियोगितामा भानुभक्तले ६ स्वर्ण, ५ रजत र ३ कास्यसहित १४ पदक जित्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा समान १४ पदक नै जितेको सार्वजनिक मावि दोस्रो भएको छ । सार्वजनिक माविले ६ स्वर्ण, ३ रजत र ५ कास्य पदक हासिल गरेको थियो । पाँच स्वर्ण, चार रजत र चार कास्यसहित १३ पदक जितेको नेपाल राष्ट्र मावि तेस्रो बनेको हो ।
२२ विद्यालय सहभागी प्रतियोगितामा सात विद्यालय पदकबिहिन बनेका हुन् । यहाँ छात्रछात्रा भलिबल, एथलेटिक्स, हाईजम्प, लङ्जम्प, सटपुट, मार्सल आर्ट करातेसहित ३२ विधामा प्रतिस्पर्धा भएको थियो ।
शिक्षा क्षेत्र नगरपालिकाको पहिलो प्राथमिकता भएको भन्दै गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस्ता गतिविधिले विद्यार्थीको क्षमता पहिचान गर्न सहयोग पुग्ने बताए ।





