स्याङ्जा/सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले आयोजना गरेको छैटौं क्रसकन्ट्री दौड प्रतियोगितामा पाँच सय खेलाडी सहभागी हुने भएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले आगामी पुस ८ गते पुतलीबजार नगरपालिका–९ कोल्मा बहाकोटमा प्रतियोगितामा आयोजाना गरिएको पत्रकार सम्मेलनमा जनाइयो ।
प्रतियोगितामा २५ किमी (२१ वर्ष माथि) खुला, १० किमी महिला, १० किमी (२१ वर्षमुनि) पुरुष, पाँच किमी विद्यालय स्तरीय छात्र तथा छात्रा र लुङ्गी ड्रेसमा ३० वर्ष माथिका महिला (रन फर फन) गरी छ विधामा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष मेजर सुवेदार दूतप्रसाद गुरुङले बताए ।
२५ किमि खुलातर्फ प्रथमले ५० हजार, दोस्रोले ४० हजार र तेस्रोले १० हजार रुपैयाँ, महिला तथा २१ वर्षमुनितर्फ प्रथमले २०, दोस्रोले १५ र तेस्रोले १० हजार तथा विद्यार्थी समूहमा छात्र तथा छात्रा दुवैतर्फ प्रथमले ८, द्वितीयले ५ र तृतीयले ३ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै रन फर फनतर्फ प्रथमले पाँच, द्वितीयले तीन र तृतीयले दुई हजार प्राप्त गर्ने छन् । सातसय कोल्मा बहाकोट क्षेत्रभित्रका एकजनालाई पाँच हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गर्ने छन्
दौड कोल्मा बराहचौरबाटसतीडाँडा, काउले, डाँडास्वाँरा, नाम्चे, काल्खु हुँदै तनहुँको खल्लुबोट, राइपुर, बिसौना, बंगालेखोला, सिम्लेस्वाँरा, ओडारे, खुदी, मडकिना भन्ज्याङ हुँदै पुनः बराहचौर फर्किनेछ ।
प्रतियोगितामा यो पटक बिदेशी सहित पाँच सय खेलाडी सहभागिता हुने अपेक्षा गरिएको भने १२ लाख ८१ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको महासचिव जीवन पोखरेलले जानकारी दिए ।
सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चको स्थापना गरी खेलकूद र पर्यटनको माध्यमबाट ग्रामिण क्षेत्रको विकास, कला संस्कृतिको पहिचान, खेलकूद तथा पर्यटन मार्फत गाउँलाई विश्वभर चिनाउने सहित ‘गाउँबाट बिदेशीएकालाई जोड्ने’ अभियान सुरु गरिएको हो ।





