शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नारायण माविले चौथोपटक कुश्माको रनिङ शिल्ड जित्यो

नारायण माविले चौथोपटक कुश्माको रनिङ शिल्ड जित्यो

प्रतियोगितामा नारायण मा.वि.ले १६ स्वर्ण, ९ रजत र १३ कांस्य पदक प्राप्त गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर २५ २०८२, बिहिबार

पर्वत/कुश्मा नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड कुश्माकै नारायण माध्यमिक विद्यालयले लगातार चौथो पटक जितेको छ ।

मङ्सिर २२ गतेदेखि २४ गतेसम्म बडागाउँस्थित सशस्त्र प्रहरीको खेल मैदानमा आयोजना भएको प्रतियोगितामा नारायण मा.वि.ले १६ स्वर्ण, ९ रजत र १३ कांस्य पदक प्राप्त गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । पहिलो संस्करणमा १२ स्वर्ण, ६ रजत र ९ कांस्य गरी कुल २७ पदक जितेको नारायण मा.वि.ले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३८ पदक तथा तेस्रो संस्करणमा २१ स्वर्ण, ९ रजत र १० कांस्य गरी ४० पदक जितेको थियो ।

यस वर्ष नगरपालिकाका २३ ओटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगितामा कुश्माकै नमुना आवासीय माध्यमिक विद्यालयले ९ स्वर्ण, ९ रजत र ९ कांस्य पदक प्राप्त गर्दै दोस्रो, कुश्माकै पर्वत गुरुकुल एकेडेमीले ८ स्वर्ण, ८ रजत र ३ कांस्य पदक प्राप्त गर्दै तेस्रो तथा कुश्मा नगरपालिका–३ दुर्लुङको काफलचौर माध्यमिक विद्यालयले ५ स्वर्ण, ४ रजत र १ कांस्य पदक प्राप्त गर्दै सान्त्वना स्थानमा आएको छ ।

पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा आएका विद्यालयहरूले पुरस्कार स्वरूप क्रमशः ५१ हजार एक सय ११, ३१ हजार एक सय ११, २१ हजार एक सय ११ र ११ हजार एक सय ११ रुपैयाँ पाउने छन् । विजेता बनेको नारायण मा.वि.ले रनिङ शिल्ड अबको एक वर्षका लागि आफ्नो विद्यालयमा राख्ने छ । पहिलोदेखि सान्त्वना सम्मका सबै विद्यालयहरूले ट्रफी तथा प्रत्येक ‘इभेन्ट’ मा पहिलो, दोस्रो र तेस्रो बन्ने विद्यार्थीहरूले व्यक्तिगत रूपमा स्वर्ण, रजत र कांस्य पदक प्राप्त गरेका छन् ।

पहिलो संस्करणको रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदाका बखत लगातार तीन पटक विजेता बन्ने विद्यालयले विशेष पुरस्कार स्वरूप पाँच लाख रुपैयाँ पाउने घोषणा भएको थियो । सोही अनुसार नारायण मा.वि.ले यस वर्ष अघिल्ला तीन वर्षको उक्त विशेष पुरस्कार समेत पाउने छ । तीन वर्ष जितेर शिल्ड नै आफ्नो बनाएको यो विद्यालयले चौथो पटक पनि जितेर नयाँ रनिङ शिल्ड आफूसँगै राख्ने मौका पाएको छ ।

प्रतियोगितामा सहभागी हिमालय मा.वि.ले १ स्वर्ण, २ रजत र ३ कांस्य, कालिका मा.वि.ले १ कांस्य, सूर्यप्रकाश मा.वि.ले २ स्वर्ण र १ रजत, शिवालय मा.वि.ले २ स्वर्ण, ६ रजत र ६ कांस्य, कालीगण्डकी एकेडेमीले १ स्वर्ण, १ रजत र २ कांस्य, आदर्श आवासीय मा.वि.ले १ कांस्य, शहीद स्मारक आवासीय मा.वि.ले २ स्वर्ण, १ रजत र ५ कांस्य, राष्ट्रिय बाल शिक्षा सदनले २ रजत र ३ कांस्य, आइबल एकेडेमीले १ स्वर्ण र ३ कांस्य हात पारेका छन् ।

यस्तै मंगलोदय मा.वि.ले २ रजत र ६ कांस्य, सार्वजनिक मा.वि.ले २ स्वर्ण र १ रजत, जनक मा.वि.ले २ कांस्य, पूर्णेश्वर मा.वि.ले ३ स्वर्ण र १ रजत, वीरेन्द्र मा.वि.ले २ कांस्य, जनता सुदर्शन मा.वि.ले २ स्वर्ण र ४ रजत तथा पञ्चकोशी मा.वि.ले १ रजत पदक पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->