पोखरा/पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पूर भएका छन् ।
सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङबाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फसमेत उपाधि भिडन्त पक्का गरेकी छन् ।
ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेइ)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन् ।
चीनका जियालियाङ गुओले भारतका अर्श कठुरियालाई ६–४, ६–४ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् भने कोरियाका युल हो जुङले नेपाली खेलाडी प्रणव मानन्धरलाई ६–२, ७–६(४) ले पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाउन सफल रहे ।
यस्तै श्रीलंकाका गानुका फर्नान्डोले नेपालका करनबहादुर थापालाई ६–२, ६–२ ले सहजै पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका छन् ।
‘ब्वाइज’ डबल्स सेमिफाइनलमा भारतका प्रतिक शोरण र अनुज अभिजित तसिलदारको जोडीले कोरियाका क्युंगबिन अन र भारतका दक्ष दीपक पाटीलको जोडीलाई ६–३, ६–४ ले हराउँदै फाइनलमा प्रवेश गरेका छन् भने कोरियाली जोडी ह्योजिन हा र युल हो जुङको जोडीले चीनका जियालियाङ गुओ र जुनलिन सुको जोडीलाई टाइव्रेक खेलमा ६–०, ३–६, (१०–७) ले हराउँदै उपाधि भिडन्त पक्का गरेका छन् ।
यता‘गल्र्स’ सिंगल्स क्वार्टरफाइनलमा खेलमा नेपाली सिभाली गुरूङले पोखराको टेनिस कोर्टमा आफ्नो लयलाई कायम राख्दै सेमीफाइनलको यात्रा तय गरेकी छन् । उनले भारतकी जान्हवी ताम्मिनीडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै सशक्त प्रदर्शनका साथ अन्तिम चारमा स्थान बनाएकी हुन् ।
त्यस्तै भारतकी कार्तिका पद्मकुमारले ध्रुती गुन्डुलाई ६–२, ६–१ ले हराइन् भने भारतकी शतक्शिका सहायाकले नेपालकी स्वस्तिका बिष्ट लाई १–६, ७–५, ६–३ ले कडा प्रत्युत्तरसहित उल्टो नतिजा निकाल्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिन् । ताइपेईकी के–चिये सूले नेपालकी सुनिरा थापालाई ६–०, ६–१ ले स्तब्ध पार्दै सेमिफाइनलमा स्थान बनाइन् ।
ताइपेइकी के–चिये सूको जोडी क्यानडाकी नोरा चौधरी र भारतकी जान्हवी ताम्मिनीडी लाई ६–२, ६–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्दा भारतकी तेजस्वी मानेनी र न्यूजिल्याण्डकी बोइदेही उकिलको जोडीले नेपालकी स्वस्तिका बिष्ट र अमेरिकाकी नाला जोसेफिन मास्कीको जोडीलाई ६–४, ५–७, १०–५ ले हराउँदै उपाधि भिडन्त तय गरेका छन् ।





