पोखरा/पोखरामा सञ्चालन भइरहेको जेपी क्रस बास्केटबल विद्यालयस्तरीय प्रतियोगिताअन्तर्गत छात्रतर्फ पोखरा युनाइटेड एकेडेमीले फाइनलमा स्थान सुरक्षित गरेको छ ।
सेमिफाइनल खेलमा पोखरा युनाइटेड एकेडेमीले टप्स बोर्डिङ स्कुललाई ३२–१९ अंकले पराजित गर्दै १३ अंकको स्पष्ट अन्तरमा विजय हासिल गरेको हो । उत्कृष्ट टिमवर्क र सशक्त खेल प्रदर्शनका कारण युनाइटेडले सुरुदेखि नै खेलमा दबदबा कायम राख्दै फाइनल यात्रा तय गर्न सफल भयो ।
अब फाइनल खेलमा पोखरा युनाइटेड एकेडेमीले अल्फा बोर्डिङ स्कुलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अल्फा बोर्डिङ स्कुलले सेमिफाइनल खेलमा मनकामना बोर्डिङ स्कूललाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
गत वर्षको प्रतियोगितामा तृतीय स्थानमा सीमित पोखरा युनाइटेड एकेडेमी यस वर्ष उत्कृष्ट प्रदर्शनसहित फाइनलमा पुग्न सफल भएको छ । यसले विद्यालयले शैक्षिक गुणस्तरमा सुधार गर्दै खेलकुद क्षेत्रमा पनि आफूलाई अब्बल बनाउँदै लैजाने रणनीति प्रभावकारी बन्दै गएको स्पष्ट संकेत गर्दछ । पोखरामा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगितामा विद्यालयले निरन्तर हासिल गर्दै आएका उपलब्धिहरूले पनि यसको समग्र विकासलाई पुष्टि गर्छ ।
मंसिर २४ गतेदेखि पोखरा रंगशाला तथा पुन समाज भवन, रामघाटमा सुरु भएको यस प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताले विद्यालयस्तरीय बास्केटबल खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको आयोजकले जनाएको छ ।
फाइनल खेल भोलि बिहान ८ बजेदेखि पोखरा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगिताको आयोजक कास्की जिल्ला बास्केटबल संघ रहेको छ भने बास्केटबल प्रेमी १०१ वर्षीय जेपी क्रस मुख्य प्रायोजकको रूपमा रहेका छन् ।





