पोखरा/रुपाकोटमा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बिहीबार सात खेल सकिएसँगै आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् ।
रुपा गाउँपालिका ६ भिरचोकस्थित खेल मैदानमा जारी प्रतियोगिताको प्रिक्वाटरफाइनल खेलअन्तर्गत पहिलो खेलमा सिन्के फुटबल क्लबले दोभान क्लबलाई ३–० गोल अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा ब्रदर एफसीले नानु एफसीलाई १–० ले हरायो । तेस्रो खेलमा न्युस्टार ‘बी’ ले योङ्ग ब्वाइलाई ७–१ को फराकिलो गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो खेलमा योङ्ग स्टार ‘ए’ ले विजी गाइजलाई ७–० को फराकिलो अन्तरले हरायो । पाँचौ खेलमा रामघाटले रामबजारलाई १–० गोलले हरायो ।
छैटौं खेलमा खेम माइला मेमोरियलले धारापानीलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । तेस्रो दिनको अन्तिम खेलमा रामघाटले मुलमिललाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तरगत प्रिक्वाटर फाइनलको एक खेल हुनेछ भने बाकी खेल क्वाटरफाइनलका हुनेछन् ।
२४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।





