बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एण्टिबायोटिक प्रतिरोध : समाजमा मडारिँदै मौन महामारी

एण्टिबायोटिक प्रतिरोध : समाजमा मडारिँदै मौन महामारी


  • कृष्ण कुमार सैजु
  • पुष ४ २०८२, शुक्रबार

नेपालका धेरै घरमा एउटा साझा दृश्य देखिन्छ – दराजभित्र औषधिका स्ट्रिप, झोलामा आधा–आधा गोली र पुरानो प्रिस्क्रिप्सन । ज्वरो आयो भने ‘अघिल्लो पटक खाएको औषधि’, खोकी लाग्यो भने ‘छिमेकीले सुझाएको क्याप्सुल’, पेट दुख्यो भने ‘मेडिकल पसलको दाइले दिएको गोली’ । यस्ता व्यवहार आज सामान्य भइसकेका छन् । यहिं सामान्य देखिने बानी आज गम्भीर स्वास्थ्य संकट बन्दै गएको छ ।

विभिन्न अध्ययन, स्वास्थ्यकर्मीहरूको अनुभव र फिल्ड अवलोकन अनुसार नेपालमा करिब ७० प्रतिशत मानिसहरूले डाक्टरको सल्लाह बिना आफूखुसी औषधि सेवन गर्ने गरेको पाइन्छ । यसरी जथाभावी सेवन हुने औषधिमध्ये सबैभन्दा बढी दुरुपयोग एण्टिबायोटिकको छ । यही दुरुपयोगले जन्माएको समस्या हो – एण्टिबायोटिक प्रतिरोध ।

यो समस्या चर्को आवाजमा आउँदैन । न त यसले तुरुन्तै सबैलाई थला पार्छ । तर यसले विस्तारै काम गर्छ – औषधिलाई कमजोर बनाउँदै, संक्रमणलाई बलियो बनाउँदै र एक दिन सामान्य रोगलाई पनि ज्यान जाने कारण बनाउँदै ।

नेपालमा स्व–औषधोपचार : किन यति सामान्य ?
स्व–औषधोपचार भनेको डाक्टरको परामर्श बिना औषधि सेवन गर्ने अभ्यास हो । नेपालमा यो प्रवृत्ति किन बढ्यो ? पहुँच र समय । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा डाक्टर भेट्न समय र खर्च दुवै लाग्छ । दोस्रो – मेडिकल पसलको सहजता । प्रिस्क्रिप्सन बिना नै शक्तिशाली औषधि पाइन्छ । तेस्रो – अनुभवको भ्रम । ‘अघिल्लो पटक यही औषधिले ठीक भएको थियो’ भन्ने विश्वास । चौथो – स्वास्थ्य शिक्षाको कमी । औषधि के हो, कहिले चाहिन्छ, कसरी काम गर्छ—यसबारे पर्याप्त जानकारी नहुनु क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो कारण हुन् । यी सबै कारण मिलेर एण्टिबायोटिकलाई ‘सबै रोगको औषधि’ बनाइदिएको छ – जुन घातक भ्रम हो ।

एण्टिबायोटिक के हो ? के होइन ?
एण्टिबायोटिक भनेको ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारका लागि प्रयोग हुने औषधि हो । यसले ब्याक्टेरियालाई मार्छ वा बढ्न दिंदैन । उदाहरणका लागि – निमोनिया, टाइफाइड, घाउमा संक्रमण, मूत्रनलीको संक्रमण, क्षयरोग (विशेष औषधिसहित) ।

तर एण्टिबायोटिक के होइन ?
–भाइरसबाट हुने रोगमा काम गर्दैन ।
–सबै ज्वरोमा आवश्यक हुँदैन ।
–रुघाखोकी, फ्लु, डेंगु, कोरोना जस्ता रोगमा उपयोगी हुँदैन ।
यही फरक नबुझ्दा एण्टिबायोटिकको गलत प्रयोग सुरु हुन्छ र, यहीँबाट समस्या बढ्छ ।

एण्टिबायोटिक प्रतिरोध : सरल भाषामा के हो ?
एण्टिबायोटिक प्रतिरोध भनेको ब्याक्टेरियाले आफूलाई त्यस्ता औषधिबाट जोगाउन सिक्ने क्षमता हो, जसले पहिले तिनलाई माथ्र्यो ।
जब एण्टिबायोटिक – गलत रोगमा प्रयोग हुन्छ, पूरा मात्रा नखाई बीचमै छोडिन्छ र बारम्बार अनावश्यक रूपमा दोहोरिन्छ । त्यसपछि कमजोर ब्याक्टेरिया मर्छन्, तर केही बलिया ब्याक्टेरिया बाँच्छन् । ती बाँचेका ब्याक्टेरिया फेरि बढ्छन् – अब पहिलेको औषधिलाई असर नपर्ने गरी । यसरी प्रतिरोधी ब्याक्टेरिया जन्मिन्छन् ।

एउटा साधारण उदाहरण
मानौँ, तपाईंको शरीरमा १०० वटा ब्याक्टेरिया छन् । एण्टिबायोटिक खाँदा ९० वटा मरे । १० वटा बाँचे । यदि तपाईंले ‘ठीक भयो’ भन्दै औषधि बीचमै छोड्नुभयो भने ती १० वटा फेरि बढ्छन् । अब तिनीहरू पहिलेको औषधिबाट नडराउने हुन्छन् ।

पछिल्लो पटक त्यहिं औषधि खाँदा काम गर्दैन । रोग झन् गम्भीर हुन्छ र महँगो औषधि चाहिन्छ जसले कहिलेकाहिँ त्यो पनि काम गर्दैन ।

नेपाली समाजमा औषधि संस्कार
हामी औषधिलाई तुरुन्त राहत दिने वस्तुका रूपमा हेर्छौँ । “छिटो निको हुनु” नै लक्ष्य हुन्छ । तर दीर्घकालीन असरबारे सोचिँदैन । औषधि खानु अघि रोग के हो भन्ने प्रश्नभन्दा “के खाँदा ठीक हुन्छ ?” भन्ने प्रश्न अगाडि आउँछ । यस संस्कारमा पुरानो औषधि दोहोरिन्छ, अरूको औषधि सापटी लिइन्छ, आधा कोर्स छोडिन्छ र अन्त्यमा औषधि आफैँ कमजोर बनाइन्छ ।

किन एण्टिबायोटिक प्रतिरोध ‘मौन महामारी’ हो ?
महामारी भनिँदा हामी भीड, हल्ला, डर सम्झन्छौँ । तर एण्टिबायोटिक प्रतिरोध मौन छ—यसले चिच्याउँदैन । तर यसको असर गहिरो छ ।
–पहिले सजिलै निको हुने संक्रमण अब जटिल बन्छ ।
–अस्पताल बसाइ लम्बिन्छ ।
–उपचार खर्च बढ्छ ।
–बालबालिका, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा भएका मानिस सबैभन्दा बढी जोखिममा पर्छन् ।
र, सबैभन्दा गम्भीर कुरा यो समस्या एक व्यक्तिमा सीमित हुँदैन । प्रतिरोधी ब्याक्टेरिया हात, पानी, खाना र अस्पतालमार्फत समुदायभरि फैलिन्छ ।

नेपालका अस्पताल र समुदायमा देखिन थालेका संकेत
स्वास्थ्यकर्मीहरू भन्छन् – पहिले काम गर्ने औषधिले अब काम गर्दैन । सामान्य संक्रमणमा पनि ।
–पटक–पटक औषधि फेर्नुपर्छ,
–इन्जेक्सन र महँगो विकल्प प्रयोग गर्नुपर्छ,
–कहिलेकाहीँ उपचार असफल हुन्छ ।
यी संकेतहरू भोलिको होइन, आजको यथार्थ हुन् ।

हामीले आज नबुझे के हुन्छ ?
यदि यहिं गति रहिरह्यो भनेः
–सानो संक्रमण पनि ज्यान जाने कारण बन्न सक्छ ।
–शल्यक्रिया, क्यान्सर उपचार, अंग प्रत्यारोपण जस्ता उपचार जोखिमपूर्ण बन्छन् ।
–स्वास्थ्य प्रणालीमा आर्थिक र मानवीय दबाब बढ्छ ।
तर, यो भविष्य अपरिहार्य छैन। समयमै सचेत भयौँ भने—यो संकट रोक्न सकिन्छ।

एण्टिबायोटिक प्रतिरोध कसरी विकसित हुन्छ ? (वैज्ञानिक तर सरल व्याख्या)
एण्टिबायोटिक प्रतिरोध कुनै एकैदिन हुने घटना होइन । यो क्रमिक प्रक्रिया हो, जसमा मानव व्यवहारको ठूलो भूमिका हुन्छ । ब्याक्टेरिया स्वभावतः छिटो परिवर्तन (mutation) हुने जीव हुन् । जब हामी एण्टिबायोटिकको गलत प्रयोग गर्छौँ, त्यही वातावरणले ब्याक्टेरियालाई बलियो बन्न सिकाउँछ ।

जब एण्टिबायोटिक शरीरमा प्रवेश गर्छः
–कमजोर ब्याक्टेरिया मर्छन्,
–केही ब्याक्टेरिया प्राकृतिक रूपमा बलिया हुन्छन्,
–ती बलिया ब्याक्टेरिया बाँच्छन् र बढ्छन् ।

यदि औषधिः
–गलत मात्रामा लिइयो,
–पूरा अवधि नखाइयो,
–अनावश्यक रूपमा दोहो¥याइयो,
भने, ती बलिया ब्याक्टेरिया झन् शक्तिशाली बन्छन् ।

केही समयपछिः
–एउटै औषधिले काम गर्दैन,
–अर्को, अझ बलियो औषधि चाहिन्छ,
यसरी औषधि पछि–पछि कमजोर हुँदै जान्छ, ब्याक्टेरिया अघि–अघि बलिया हुँदै जान्छन् ।

“बलियो औषधि” भन्ने भ्रम
नेपालमा एउटा खतरनाक धारणा फैलिएको छ–
–“बलियो औषधि खाए छिटो निको हुन्छ ।”

यही सोचका कारणः
–सामान्य संक्रमणमा पनि शक्तिशाली एण्टिबायोटिक प्रयोग गरिन्छ,
–पहिलो चरणका औषधि छोडेर सिंधै दोस्रो वा तेस्रो चरणका औषधि लिइन्छ,

तर चिकित्सकीय दृष्टिलेः
–सबै रोगका लागि “बलियो” औषधि आवश्यक हुँदैन,
–सानो संक्रमणमा शक्तिशाली औषधि प्रयोग गर्नु भनेको भविष्यका विकल्प नष्ट गर्नु हो,
यसरी “बलियो” खोज्ने प्रवृत्तिले नै एण्टिबायोटिक प्रतिरोधलाई तीव्र बनाइरहेको छ ।

मेडिकल पसलको भूमिकाः सहजता कि जोखिम ?
नेपालमा मेडिकल पसलहरू स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा हुन् । धेरै ठाउँमा तिनै पहिलो सम्पर्क बिन्दु हुन् । तर समस्या तब हुन्छ जबः
–डाक्टरको प्रिस्क्रिप्सन बिना एण्टिबायोटिक बिक्री हुन्छ,
–ग्राहकको मागअनुसार औषधि दिइन्छ,
–“अघिल्लो पटक यही खाएको” भनेर दोहो¥याइन्छ ।
यसले दुईवटा जोखिम बढाउँछः
१. गलत औषधि गलत रोगमा प्रयोग हुन्छ,
२. औषधि प्रयोगको अवधि र मात्रा नियन्त्रण बाहिर जान्छ,
यसरी, अनजानमै मेडिकल पसलहरू एण्टिबायोटिक प्रतिरोधको चक्रमा जोडिन पुग्छन् ।

अस्पतालभित्रको चुनौती
धेरैले सोच्छन् –“अस्पतालमा त सबै सुरक्षित हुन्छ ।” तर एण्टिबायोटिक प्रतिरोधको चुनौती अस्पतालभित्र पनि उत्तिकै गम्भीर छ ।
अस्पतालमाः
–गम्भीर बिरामी हुन्छन्,
–धेरै एण्टिबायोटिक प्रयोग हुन्छ,
–प्रतिरोधी ब्याक्टेरिया फैलिन सजिलो वातावरण हुन्छ ।

यदिः
–हात नधुने,
–उपकरण राम्ररी सफा नगर्ने,
–बिरामी–बिरामीबीच संक्रमण नियन्त्रण कमजोर भयो भने, प्रतिरोधी ब्याक्टेरिया एक बिरामीबाट अर्कोमा सजिलै सर्छ । यसलाई हस्पिटल–एक्वायर्ड इन्फेक्सन भनिन्छ, जुन उपचार गर्न अत्यन्त गाह्रो हुन्छ ।

पशुपालन र कृषिः देखिँदैन तर गहिरो असर
एण्टिबायोटिक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित छैन । नेपालमा पशुपालन र कुखुरापालनमाः
–रोग नलागोस् भनेर
–छिटो तौल बढोस् भनेर
अनावश्यक एण्टिबायोटिक प्रयोग हुने गरेको छ ।
यसका असरः
–जनावरको शरीरमा प्रतिरोधी ब्याक्टेरिया विकास
–त्यो ब्याक्टेरियाः
–मासु
–दूध
–अण्डा
मार्फत मानव शरीरमा प्रवेश । यसरी, हामीले नखाएको औषधिको असर पनि हाम्रो शरीरले भोग्नुपर्छ ।

प्रतिरोधी ब्याक्टेरिया कसरी फैलिन्छ ?
एण्टिबायोटिक प्रतिरोध संक्रामक समस्या पनि हो । प्रतिरोधी ब्याक्टेरियाः
–हात मिलाउँदा
–राम्रोसँग नधोइएको हातबाट
–दूषित पानी र खाना
–अस्पतालको बेड, ढोका, उपकरण
मार्फत एक व्यक्तिबाट अर्कोमा फैलिन्छ ।
यसको अर्थः
“आज एक व्यक्तिले गरेको गल्ती भोलि धेरैले भोग्न सक्छन् ।”

नेपालमा देखिन थालेका गम्भीर उदाहरणहरू
स्वास्थ्यकर्मीहरूको अनुभव अनुसारः
–सामान्य पिसाब नलीको संक्रमणमा पनि औषधि काम नगर्ने केस बढ्दैछन्,
–टाइफाइड र निमोनियामा पटक–पटक औषधि परिवर्तन गर्नुपरेको छ,
–केही अवस्थामा उपचार ढिलो हुँदा जटिलता र मृत्युको जोखिम बढेको छ ।
यी घटनाहरूले देखाउँछन् कि एण्टिबायोटिक प्रतिरोध भविष्यको खतरा होइन—वर्तमानको समस्या हो ।

सामाजिक र आर्थिक असर
एण्टिबायोटिक प्रतिरोधलेः
–बिरामीको उपचार खर्च बढाउँछ
–परिवारको आम्दानी घटाउँछ
–अस्पताल र स्वास्थ्य प्रणालीमा दबाब बढाउँछ ।

गरिब र सीमान्तकृत समुदायः
–महँगो औषधि किन्न नसक्ने
–ढिलो उपचार पाउने
–जटिलताबाट बढी प्रभावित हुने
यसरी, एण्टिबायोटिक प्रतिरोधले स्वास्थ्य असमानता पनि बढाउँछ ।

“म त एक जनामात्र हुँ” भन्ने सोचको जोखिम
धेरैले भन्छन् – “म एक जनाले खाएको औषधिले के फरक पर्छ र ?”
तर सत्य के हो भनेः
–एण्टिबायोटिक प्रतिरोध व्यक्तिगत निर्णयबाट सुरु हुन्छ
–तर यसको असर सामूहिक हुन्छ
यदि लाखौँ मानिसले यही सोच राखेः
–औषधि छिट्टै निष्प्रभावी बन्छ
–नयाँ औषधि विकास महँगो र ढिलो हुन्छ
त्यसैले, प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण छ ।

के हामीले एण्टिबायोटिक प्रयोग नै नगर्ने ?
एण्टिबायोटिक खराब होइन ।
समस्या दुरुपयोग हो ।
सही रोगमा, सही मात्रामा, सही अवधिसम्म प्रयोग गरियो भनेः
–एण्टिबायोटिक जीवनरक्षक हुन्छ
–आधुनिक चिकित्साको आधार नै यही हो

लक्ष्यः
“एण्टिबायोटिक बन्द गर्ने होइन, बुद्धिमानीपूर्वक प्रयोग गर्ने ।”
अगाडिको बाटो
एण्टिबायोटिक प्रतिरोध रोक्नः
–वैज्ञानिक समाधान चाहिन्छ
–तर त्यो भन्दा बढी सामाजिक व्यवहार परिवर्तन चाहिन्छ
जबसम्मः
–हामी औषधिलाई हल्का रूपमा लिन्छौँ
–छिटो राहतलाई दीर्घकालीन सुरक्षाभन्दा माथि राख्छौँ तबसम्म यो संकट घट्दैन ।

सबैभन्दा बढी जोखिममा को छन् ?
एण्टिबायोटिक प्रतिरोधले सबैलाई असर गर्छ, तर केही समूहहरू अत्यन्त जोखिममा छन् ।

१) बालबालिका
बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण विकसित नहुने भएकालेः
–संक्रमण छिटो फैलिन्छ
–औषधि काम नगर्दा अवस्था गम्भीर बन्छ
–सामान्य ज्वरो, झाडापखाला, निमोनिया जटिल बन्न सक्छ
अझ चिन्ताजनक कुरा के छ भनेः
–बालबालिकालाई “छिटो निको पार्न” भन्दै
–अनावश्यक एण्टिबायोटिक खुवाइने प्रवृत्ति बढ्दो छ
यसले बाल्यकालमै प्रतिरोधी ब्याक्टेरियाको बीउ रोपिदिन्छ।

२) वृद्धवृद्धा
वृद्ध उमेरमाः
–शरीर कमजोर हुन्छ
–दीर्घरोग (मधुमेह, उच्च रक्तचाप आदि) हुन्छ
यस्तो अवस्थामाः
–संक्रमण नियन्त्रण गर्न गाह्रो हुन्छ
–औषधि काम नगरे मृत्युको जोखिम बढ्छ
धेरै वृद्धवृद्धाः
–पुराना औषधि आफैं दोहो¥याएर खाने
–छिमेकी वा आफन्तको सल्लाहमा औषधि लिने
जसले जोखिम झन् बढाउँछ ।

३) गर्भवती महिला
गर्भावस्थामाः
–सबै औषधि सुरक्षित हुँदैन
–गलत एण्टिबायोटिकले आमा र गर्भस्थ शिशु दुवैलाई असर गर्न सक्छ
यदि संक्रमण प्रतिरोधी भयो भनेः
–उपचार विकल्प सीमित हुन्छ
–जटिलता बढ्छ
यसैले गर्भवती महिलामा डाक्टरको सल्लाह बिना औषधि सेवन अत्यन्त खतरनाक हुन्छ ।

एण्टिबायोटिक प्रतिरोध र मृत्युको सम्बन्ध
धेरैलाई लाग्छ – “औषधि नलागे अर्को औषधि होला ।”
तर वास्तविकता सधैं यस्तो हुँदैन ।
जबः
–पहिलो औषधि काम गर्दैन
–दोस्रो पनि निष्प्रभावी हुन्छ
–तेस्रो औषधि महँगो, दुर्लभ वा शरीरले सहन नसक्ने हुन्छ
त्यस अवस्थामाः
–उपचार ढिलो हुन्छ
–संक्रमण फैलिन्छ
–अंग फेल हुने
–अन्ततः मृत्युको जोखिम बढ्छ

स्वास्थ्यकर्मीहरू भन्छन्ः
“हामीसँग औषधि हुँदाहुँदै पनि काम नगर्ने अवस्था आउनु नै एण्टिबायोटिक प्रतिरोधको सबैभन्दा डरलाग्दो पक्ष हो ।”
नयाँ औषधि बनाइहालिन्छ नि ? भन्ने भ्रम

नयाँ एण्टिबायोटिक बनाउनुः
–धेरै महँगो
–धेरै समय लाग्ने
–वैज्ञानिक रूपमा जटिल प्रक्रिया हो

एक नयाँ औषधि बजारमा आउनः
–१०–१५ वर्ष लाग्न सक्छ
–अर्बौँ रुपैयाँ खर्च हुन्छ
तर ब्याक्टेरियाः
–केही महिनामै प्रतिरोधी बन्न सक्छ
त्यसैलेः “नयाँ औषधि समाधान होइन, सही प्रयोग नै समाधान हो ।”

समाधान के हो ? (व्यक्ति–समुदाय–राज्य)
एण्टिबायोटिक प्रतिरोध रोक्न सबै तहबाट प्रयास आवश्यक छ ।
१) व्यक्ति स्तरमा
हरेक नागरिकले गर्नुपर्ने कुराः
–डाक्टरको सल्लाह बिना एण्टिबायोटिक नखाने
–पूरा कोर्स पूरा गर्ने
–बाँकी औषधि भविष्यका लागि नराख्ने
–अरूलाई औषधि सिफारिस नगर्ने

साधारण तर प्रभावकारी नियमः
“ज्वरो आयो भने एण्टिबायोटिक होइन, सल्लाह चाहिन्छ ।”

२) परिवार र समुदाय स्तरमा
–बालबालिकालाई अनावश्यक औषधि नखुवाउने
–औषधि संस्कारबारे खुला छलफल गर्ने
–सरसफाइ र हात धुने बानी बसाल्ने
समुदाय सचेत भयो भनेः
–संक्रमण घट्छ
–औषधिको आवश्यकता आफैं कम हुन्छ

३) मेडिकल पसल र स्वास्थ्यकर्मी
–प्रिस्क्रिप्सन बिना एण्टिबायोटिक नदिने
–बिरामीलाई सही जानकारी दिने
–छोटो फाइदाभन्दा दीर्घकालीन स्वास्थ्यलाई प्राथमिकता दिने
स्वास्थ्यकर्मीहरूः
“औषधि बेच्ने मात्र होइन, जिम्मेवारी वहन गर्ने भूमिका” मा रहनुपर्छ ।

४) राज्य र नीति तहमा
सरकारलेः
–औषधि बिक्रीमा कडाइ
–एण्टिबायोटिक प्रयोगको निगरानी
–जनचेतना अभियान
–पशुपालनमा अनावश्यक प्रयोग नियन्त्रण गर्नैपर्छ ।
यो समस्याः
–व्यक्तिको मात्र होइन
–राष्ट्रिय स्वास्थ्य सुरक्षासँग जोडिएको विषय हो ।

अब पनि चुप लाग्ने ?
एण्टिबायोटिक प्रतिरोधः
–हल्ला होइन
–भविष्यको कुरा होइन
–अहिलेको वास्तविक संकट हो

यदि आज हामीः
–“सानो कुरा” भनेर बेवास्ता गर्छौँ
–“मलाई त असर गर्दैन” भन्छौँ

भोलिः
–साधारण संक्रमण पनि प्राणघातक हुन सक्छ
–आधुनिक चिकित्सा असहाय बन्न सक्छ

निष्कर्ष
एण्टिबायोटिक मानव सभ्यताको ठूलो उपलब्धि हो ।
तर यसको गलत प्रयोगलेः
–यही उपलब्धिलाई संकटमा पारेको छ ।
आज आवश्यक कुराः
औषधिको होइन, सोचको उपचार ।
यदि हामीः
–सचेत भयौँ
–जिम्मेवार बन्यौँ
–आजैबाट बानी परिवर्तन ग¥यौँ

भनेः
–एण्टिबायोटिक भावी पुस्ताका लागि पनि जीवनरक्षक रहन सक्छ ।
“डाक्टरको सल्लाह बिना औषधि सेवन नगर्नुहोस् । आजको सावधानी नै भोलिको जीवन सुरक्षा हो ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->