बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विश्व ध्यान दिवस २०२५ र निर्मल ध्यानको सन्दर्भ

विश्व ध्यान दिवस २०२५ र निर्मल ध्यानको सन्दर्भ


  • डा. नरनाथ पाण्डे
  • पुष ६ २०८२, आइतबार

पृष्ठभूमि
सधैं समयको अभाव हुने र भागदौडको अहिलेको अस्तव्यस्त दुनियाँमा बढ्दै गइरहेका मानसिक समस्या र मानसिक समस्याले निम्त्याउने विभिन्न समस्याहरु समाधानका लागि र मस्तव्यस्त हुनका लागि विभिन्न किसिमका प्रयासहरू संसारभर अपनाउन थालिएको छ । सर्ने रोगहरूको बिगबिगीबाट लगभग संसारले पार पाउन लागेको अवस्थामा अब सबैको ध्यान नसर्ने रोगहरूमा केन्द्रित रहेको पाइन्छ । नसर्ने रोग दीर्घकालीन हुन्छन् र यी रोग मानिसको आन्तरिक तथा बाह्य वातावरणले निम्त्याउने गर्छ । आज मानिस दुनियाँमा अति व्यस्त छ र त्यो पनि शारीरिक होइन मानसिक व्यस्तता । फलस्वरुप उसको शरीर जीर्ण बनिसकेको छ, मस्तिष्क गर्हौं बनेको छ, निदाउन नसक्ने भएको छ, सामान्य हिंडडुल गर्न नसक्ने भएको छ, खाएको खाना पचाउन नसक्ने भएको छ, विकार पदार्थ शरीरबाट बाहिर फ्याँक्न नसक्ने भएको छ र उसका सबै अङ्ग प्रत्यङ्गहरू सुस्त र अल्छी भएका छन् । विभिन्न दार्शनिकहरू, वैज्ञानिक र चिन्तकहरूले मानिसलाई अहिलेको अवस्थाका साथै भविष्यमा पनि स्वस्थ र स्फूर्तिलो राख्न सकिने विभिन्न विधिहरू प्रकाशमा ल्याएका छन् । नियमितरुपमा योग, व्यायाम, ध्यान र प्राणायाम गर्ने हो भने लगभग पचास प्रतिशत नसर्ने रोगहरुबाट बाँच्न सकिन्छ ।

विश्व ध्यान दिवसका अवसरमा अरु सबै जीवनशैलीका तरिकामध्ये ध्यानलाई नै सन्दर्भ बनाएर अघि बढौं । ध्यानको इतिहास हेर्ने हो भने ५ हजार वर्षअघि प्राचीन कालदेखि नै ऋषिमुनिहरुले सुरुवात गरेका थिए । पछिल्लो समयमा गौतम बुद्धले विपश्यना ध्यानको प्रचारप्रसार गरे र ध्यानलाई विश्वव्यापी बनाए । यसैगरी पतञ्जलिको योगसूत्रमा आठौं अङ्गको रुपमा ध्यानलाई प्रमुख स्थान दिएको पाइन्छ । आधुनिक युगमा ओशो लगायत अन्य योगीहरुले ध्यानलाई महत्व दिएर अघि बढाएका छन् भने विश्व स्वास्थ्य संगठनले पनि मानसिक स्वास्थ्य राम्रो बनाउन ध्यान महत्वपूर्ण हुने भएकाले विश्व ध्यान दिवसको सिफारिस गरेपश्चात् संयुक्त राष्ट्रसंघले यसलाई २०२४ देखि मान्यता दिएर संसारभर डिसेम्बर २१ तारिखका दिन विश्व ध्यान दिवस मनाउने गरिन्छ ।

प्रथम विश्व ध्यान दिवसको थिम ‘आन्तरिक शान्ति, विश्वव्यापी सद्भाव’ भन्ने रहेको थियो भने यसपटक पनि संयोगले डिसेम्बर २१ तारिख पुस ६ गते नै परेको छ र यसपटकको थिम ‘आफू भित्रबाट संसारको उपचार’ भन्ने रहेको छ । यसको अर्थ विश्वमा सकारात्मक परिवर्तन ल्याउनका लागि व्यक्ति स्वयम्को आन्तरिक अवस्था शान्त र सन्तुलित हुनुपर्छ भन्ने रहेको छ । यो थिमबाटै हामीले ध्यान त्यस्तो माध्यम हो जसले व्यक्तिको आन्तरिक तनाव, चिन्ता, डिप्रेसन, अल्छीपन आदिको निवारण गरी खुसी, सुखी, आनन्दित र सक्रिय व्यक्तित्वमा परिणत गराइदिन्छ । त्यसैले संसारभरका मानिसहरूलाई अब मानसिक स्वस्थताका लागि ध्यान गर्न आकर्षित गर्नु वा यस्तो विषयवस्तुलाई महत्व दिनुबाट ध्यान दिवसको सान्दर्भिकता बुझ्न सकिन्छ । व्यक्तिगत शान्ति नै विश्व शान्तिको आधार हुने, मानसिक र भावनात्मक उपचार ध्यानबाट नै सम्भव हुने, ध्यानमा सकारात्मक ऊर्जाको सञ्चार हुने, आत्म रुपान्तरणबाट नै जगत अथवा संसारको रुपान्तरण हुने वा एक व्यक्तिको परिवर्तनले लाखौंको परिवर्तन सम्भव हुने भएकाले पनि हामीले आफ्नो भित्री चेतनालाई जागृत र शान्त बनाउनुपर्छ भन्ने विश्व ध्यान दिवसको मुख्य सन्देश हो ।

आराम अवस्थामा रहिरहने तरिकामध्ये ध्यानलाई एक छाताको ९ग्mदचभििब तभचm० रुपमा हेरिन्छ । ध्यान, आराम तथा आसनका विभिन्न तरिकाहरुले आन्तरिक शान्ति कायम गर्दछन् । एकाग्रता र सचेतताका दृष्टिले ध्यानका विभिन्न प्रकारहरु हुन्छन् । जस्तैः निर्देशनात्मक ध्यानमा गन्ध, दृश्य, आवाज र अन्य संवेदनाहरुको प्रयोग गरी गरिने ध्यान गाइड, गुरु वा शिक्षकहरुबाट गराइन्छ । मन्त्र ध्यानमा कुनैपनि मन्त्र जप्दै बसिन्छ र ध्यान केन्द्रित गरिन्छ । एकाग्र ध्यानमा कुनै एक बिन्दुमा ध्यान केन्द्रित गरिन्छ । यसमा मन्त्र भनेर, मैनबत्ती बालेर, मधुर आवाज सुनेर, माला जपेर वा गन्ती गरेर ध्यान गर्न सकिन्छ । मस्तिष्क सक्रिय राखेर गरिने ध्यानमा वर्तमानमा गर्नसकिने वा सोही क्षणमा एकाग्र हुनसक्ने क्षमता बढाउन गरिने ध्यान । यस्तो ध्यानले सचेतना बढाउँछ । यसमा ध्यानमा बस्दा के अनुभव भइरहेको छ त्यसैमा केन्द्रित रही श्वासप्रश्वास गरिन्छ । यतिबेला आफ्नो संवेग र सोंचलाई सुक्ष्म अनुभव गरिन्छ तर कुनै पनि निर्णयबिना त्यस्ता कुराहरु छाड्दै गइन्छ । स्वर्गिक वा अलौकिक ध्यान साधारण र प्राकृतिक ध्यानको विधि हो । यसमा शान्तपूर्वक आफ्नो मन्त्र दोहो¥याउँदै ध्यान गरिन्छ । यसबाट शरीर र दिमाग शिथिल, शान्त हुन्छन् र आन्तरिक शान्ति प्राप्ति हुन्छ भने ध्यानका अन्य विधिहरु पनि छन् । जस्तैः बुद्धको विपश्यना ध्यान, मानसाग्निको निर्मल ध्यान र चीनमा गरिने परम्परागत ध्यान (ताइचाइ र क्वी गोङ)आदि महत्वपूर्ण छन् । यस आलेखमा भने निर्मल ध्यानसम्बन्धी विषयवस्तुहरू उठान गर्ने जमर्को गरिएको छ ।

नेपालका योग, प्राकृतिक चिकित्सा र आयुर्वेदका जनक तथा स्वधर्म सिद्धान्तका आविष्कारक जल्दाबल्दा साधक मानसाग्नि उर्फ् डा.हरिप्रसाद पोखरेलको विचार, साधना, स्वानुभूति, चिन्तन र लेखनमा आधारित निर्मल ध्यान चर्चा गर्न लायक रहेको छ । निर्मल भनेको शुद्ध वा निर्दोष हो भने ध्यान भनेको एकाग्रता हो । अर्थात् एकाग्र चित्त गरी फोहर तथा प्रदूषित मनलाई सफा गर्नु वा शुद्ध पार्नु नै निर्मल ध्यान हो । निर्मल ध्यान गर्ने केही प्रक्रियाहरु यसप्रकार छन्–

ध्यानमा प्रवेश
निर्मल ध्यानमा प्रवेश गर्दा पहिलो र दोस्रो चरण १०–१० मिनेटको र तेस्रो चरण ४० मिनेटको गरी जम्मा १ घण्टाको लागि एकाग्र हुनु राम्रो हुन्छ । निर्मल ध्यानका तीन चरणहरु हुन्छन्–

क) ध्यानको प्रथम चरण
यो चरणले गहिरो र लामो श्वास–प्रश्वाससँग प्रत्यक्ष सम्बन्ध राख्दछ । सुरुमा सजिलो आसन वा बज्रासनमा मेरुदण्ड सिधा बनाई बस्ने । अब नाकका दुवै प्वालहरूबाट समान गतिमा लामो र गहिरो श्वास–प्रश्वास गर्ने । बाहिरबाट यति वायु भित्र भर्ने कि वायु भित्र जान सक्ने सम्पूर्ण सम्भावना पूरा होस् र फेरि उही गतिमा वायु बाहिर फ्याँक्ने कि वायु बाहिर फ्याँक्न सक्ने सम्पूर्ण सम्भावना पूरा होस् । न त भित्र रोक्ने हो न त बाहिर रोक्ने हो । यो जति लामो, गहिरो र एक लयमा हुन्छ, त्यति नै बढी आनन्द प्राप्त हुन्छ । यसो गर्दा सजातीय द्रव्य बोकेर प्रवेश गरेको वायु विजातीय द्रव्य बोकेर फर्कन्छ । यो क्रियाले शरीर, मन र चेतना निर्मल हुन्छ ।

ख) ध्यानको दोस्रो चरण
सम्पूर्ण शरीर र मनको कोष–कोषमा जम्मा भएका विजातीय पदार्थहरूलाई निकाली तिनीहरूमा प्राण ऊर्जा भरेर शक्तिशाली बनाउनु यस अभ्यासको प्रथम र महत्वपूर्ण कार्य हो भने निर्मल चेतना प्राप्त गर्ने राजमार्ग पनि हो । दोस्रो चरणको अभ्यासका लागि पनि पहिलो चरणमै बसेको ध्यानात्मक वा बज्रासनमा बस्ने । यस चरणमा प्रश्वासलाई शक्तिपूर्वक बाहिर छाड्ने र नाभीलाई शक्तिपूर्वक मेरुदण्डतर्फ धक्का दिने गरिन्छ । चक्र विज्ञानको दृष्टिमा यस अभ्यासले मूलाधार, स्वाधिष्ठान र मणिपूर चक्रलाई निर्मल बनाउँछ । शरीर, मन र चेतनालाई निर्मल बनाउँछ । यो दोस्रो चरण ध्यानको शक्तिशाली प्रयोग हो । प्रारम्भमा यस्तो अभ्यास १ मिनेट, ३ मिनेट, ५ मिनेट, ७ मिनेट गर्दै १० मिनेट पु¥याउनु पर्दछ । पहिलो दिनमै ५÷१० मिनेट गर्नु हुँदैन । क्रमिक रूपमा सरलताका साथ बढाउनु पर्दछ ।

ग) ध्यानको तेस्रो चरण
यो चरण श्वासमा ध्यान राख्दै, त्यसैमा सहज भई बग्ने चरण हो । यस चरणमा नाकका दुवै प्वालबाट आइरहेको र गइरहेको श्वासलाई होसपूर्वक हेर्नुपर्छ । श्वास–प्रश्वास जसरी आउँछ आओस्, जसरी जान्छ जाओस् । श्वास–प्रश्वासलाई लामो–छोटो बनाउने कोसिस गर्नु हुँदैन । सहज तरिकाले आफ्नै गति र लयमा बग्न दिनुपर्छ । जस्तै ः श्वास भित्र प्रवेश ग¥यो नाकको प्वालभित्र स्पर्श गर्दै, श्वास अगाडि बढ्यो श्वास नली हुँदै, फोक्सो फैलियो, क्षणभर स्वाभाविक रूपमा श्वास–प्रश्वास रोकियो, फेरि प्रश्वास बाहिर आयो, फोक्सो खुम्चियो नाकका प्वालमा स्पर्श गर्दै प्रश्वास बाहिर निस्कियो, क्षणभर स्वाभाविक रूपमा श्वास–प्रश्वास रोकियो र फेरि नयाँ श्वास आयो फेरि नयाँ प्रश्वास गयो । यसरी हाम्रो विराट चक्र चलिरहेको छ भनी यी क्षणहरूलाई विचारले होइन निर्विचारले अनुभव गर्नुपर्छ ।

ध्यान गर्नाले प्राप्त हुने फाइदाहरू
१) नसर्ने रोग वा आजको विश्वलाई घुँडा टेकाइसकेका रोग, मुख्यतः मोटोपन, खराब कोलेस्ट्रोल, मधुमेह, दम जस्ता आदि रोग नियन्त्रणमा लाभ पु¥याउँछ ।
२) कब्जियतका साथै अम्लपित्त, वायुगोला, अपच–अजीर्ण र अन्य पेटका रोगमा केही दिनमा लाभ पु¥याउँछ ।
३) सम्पूर्ण शरीरको कान्ति, ओज, आभा बढ्नुका साथै दिव्य सौन्दर्य प्रकट हुन्छ ।
४) रुघा–खोकी, पिनास, दम आदि रोगहरू समूल नष्ट हुन्छन् ।
५) छाती र पेटभित्र रहेका मुटु, फोक्सो, कलेजो, मिर्गौला, फियो, प्याङ्क्रियाज ग्रन्थि, आमाशय, ठुलोे र सानो आन्द्रा आदिलाई निर्मल र शक्तिशाली बनाउँछ ।
६) स्त्री एवम् पुरुष प्रजनन् प्रणालीका रोगमा फाइदा पु¥याउँछ तर पाठेघर खसेको र हर्नियाको समस्या भएकाले दोस्रो चरण नगरी पहिलो र तेस्रो मात्र गर्नुपर्छ ।
७) विभिन्न ग्रन्थिहरूबाट निस्कने अन्तःस्रावी र बाह्यस्रावी हर्मोनहरूको सन्तुलन गराउँछ । हर्मोनहरूको कमी या बढीबाट पैदा हुने स्वास्थ्य समस्याहरूमा यो ध्यानले फाइदा पु¥याउँछ ।
८) पुनर्यौवनका लागि यसले चमत्कारिक काम गर्दछ । असमयमै रौं फुल्ने, झर्ने, मोटो र दह्रो हुने जस्ता रौंका समस्या अनुहार एवम् सम्पूर्ण शरीरमा कालो–सेतो दागहरू, छाला चाउरी पर्नु जस्ता समस्याहरूमा फाइदा पु¥याउँछ । लामो समय यो ध्यान गर्ने वृद्धहरूमा पनि युवामा जस्तै जोश–जाँगर र कान्ति पाइएको छ ।
९) शरीर र मनमा सङ्कलित विजातीय पदार्थको निष्कासन एवम् जीवनीशक्तिको वृद्धि गर्दछ जसले रोग र शोकबाट मुक्ति मिल्दछ ।
१०) स्मृति नाश हुने (भुल्ने) समस्यामा अत्यन्त राम्रो सुधार पाइएको छ । पढेका, सुनेका, देखेका आदि घटनाहरूलाई स्मृतिपटलमा व्यवस्थित र क्रमबद्ध रूपमा राख्ने क्षमतामा वृद्धि हुन्छ । उचित समयमा आवश्यक सूचना तत्काल स्मृतिमा आउने क्रममा पनि राम्रो लाभ पाइएको छ । अल्जाइमरका रोगीहरूमा पनि स्थिरता र सुधार देखिएको छ ।
११) चिन्ता, तनाव, हीनताबोध, उच्चताबोध, क्रोध, डर, अनिद्रा आदि मानसिक समस्या साथै हिंस्रक स्वभावबाट मुक्ति मिल्दछ ।
१२) जाँड–रक्सी, चुरोट–तमाखु, गाँजा–भाङ एवम् अन्य नशा या लागुपदार्थप्रति अनिच्छा पैदा हुने र क्रमशः छाड्दै जाने हुन्छ । यो ध्यान १ वर्षसम्म लगातार गर्दा लागुपदार्थ सेवन गर्नेहरूमा स्वभाव परिवर्तन भई यस्ता नशालु या लागु पदार्थ छाडेको पाइएको छ ।
१३) आलस्य हराएर स्फूर्ति बढ्छ । सानो–सानो कामले पनि छिटो–छिटो थाक्ने या विश्रामपछि पनि थकानका लक्षणहरू देखिइरहने छ भने यो ध्यानको अभ्यासले चामत्कारिक लाभ देखाउँछ ।
१४) कार्यकुशलता एवम् सिक्ने क्षमतामा अत्यन्त वृद्धि हुन्छ । श्रम, सीप, समय, सदाचार र साधनाको जीवनशैली विकसित देखिन्छ ।
१५) कोलेस्ट्रोल एवम् ट्राइग्लिसराइडलाई सन्तुलित राख्दछ । धमनी अवरोधजन्य हृदयरोगमा अवरोध घटाउन मद्दत गर्छ । उच्च रक्तचापलाई सन्तुलित एवम् स्थायी नियन्त्रण गर्छ ।
१६) टाउको दुख्ने र विशेषतः माइग्रेन एवम् तनावजन्य टाउको दुखाइमा फाइदा गर्छ ।
१७) मृगी र हिस्टेरियाका रोगीमा विशेष फाइदा गर्छ । यस्ता रोगीले गुरु या विशेषज्ञको सल्लाहमा तोकिएअनुसार अभ्यास गर्नुपर्छ ।
१८) शरीर र मनलाई मलरहित निर्मल बनाउनुका साथै जीवनी शक्तिलाई अत्यन्त बढाउने हुनाले एलर्जी, वंशाणुगत रोग, क्यान्सर,एचआइभी÷एड्स, हेपाटाइटिस–बी आदि स्वास्थ्य समस्यामा पनि फाइदा पु¥याउँछ ।
१९) सुस्त मनस्थिति र मानसिक अपाङ्गता भएकाहरूमा पनि क्रमिक अभ्यासले फाइदा पु¥याउँछ ।

निष्कर्ष
ध्यान एउटा अस्तव्यस्त दैनिकिका लागि राम्रो वरदान नै हो । मस्तिष्कलाई ऊर्जा दिने वा चार्ज गर्ने सबैभन्दा उत्तम विधि नै ध्यान भएको हुनाले यो अति व्यस्त व्यक्तिले दैनिक कम्तीमा १ घण्टा गर्ने र व्यस्त व्यक्तिले कम्तीमा आधा घण्टा गर्नुपर्छ । थप तनाव र दबाब भएमा मस्तिष्कलाई आराम राख्नको लागि ध्यानको मात्रा बढाउँदै लैजान सकिन्छ । ध्यानले मस्तिष्कलाई आराम दिनेमात्र नभइ व्यक्तिको अन्तरनिहित क्षमता प्रस्फुटन गराइदिन्छ, ज्ञानको तह बढाइदिन्छ, स्मरण क्षमता बढाइदिन्छ, मनमा आनन्दको अनुभूति ल्याइदिन्छ र तनावबाट मुक्त गर्दछ ।

ध्यानका विभिन्न विधिहरू संसारमा छन् तर यो निर्मल ध्यान विशुद्ध रूपमा नेपाली माटोमा जन्मिएर अनवरत संघर्ष र खोजबिन गर्दै विभिन्न कोणहरूबाट प्रमाणित र परिष्कृत गर्दै मानसाग्निबाट विकास गरिएको हो । यो ध्यान शारीरिक र मानसिक मलबाट मुक्त भई निर्मल बन्ने सरल मार्ग हो वा मलको मलिन मार्गबाट निर्मल सत्पथतर्फ बढाउने, बेहोसीबाट होसको यात्रामा लैजाने सरल र शक्तिशाली विधि–विज्ञान हो । हामी भित्रको ऐश्वर्यको खोज ध्यान विज्ञानद्वारा मात्र सम्भव छ । जससँग बाहिरी र भित्री दुवै ऐश्वर्यको सम्यक मेल छ ऊ मात्र संसारमा सुखी र आनन्दित हुन सक्दछ । अस्तु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->