स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका र खुमा अर्याल फाउन्डेसनले वडा नं —१ मा गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६३१ जनाले बिशेषज्ञ सहितको सेवा लिएका छन् ।
शिविरमा महिलाको पाठेघरको क्यान्सर परीक्षण, भिडियो एक्स–रे, मुटुको इको र ईसीजी, प्रयोगशाला सेवा लगायतका सुविधा उपलब्ध रहेको थियो भने उपचार गरेका र समस्या भएका बिरामीलाई निःशुल्क औषधी समेत उपलब्य गराइएको फाउण्डेशनका सचिब धु्रव शर्माले जानकारी दिए ।
गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा गरिएको शिविरमा मुटु रोगको ५२, बालरोग ३४, छाला रोग १०८, जनरल मेडिसीन ४६०, दन्त रोग ३६, रेडियोलोजी सेवा १२९, स्त्री तथा प्रसुतीरोग ४५, हाड जोर्नी तथा नसारोग ८५ र नाक, कान घाटी तथा आँखा रोगको दुई सय जनाले सेवा लिएका हुन् ।
उपचारका क्रममा विभिन्न रोगमा जटिल समस्या देखिएका १२० बिरामीलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ भने रिफर गरिएका बिरामीले औषधीमा पाँच प्रतिशत र उपचार सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले गाउँमै विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य सेवा दिदाँ नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताए ।
फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले गाउँ क्षेत्रका नागरिकलाई लक्षित गर्दै उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न यस्ता स्वास्थ्य सेवा अभियान निरन्तर सञ्चालन हुँदै आएको बताए ।
अर्जुन चौपारी गाउँपालिका —३ का ७७ बर्षीय दयाराम शर्माले काठमाडौँ पुगेर गर्ने मुटुको उपचार गाउँ मै गर्न पाएको र गाउँमै निःशुल्क उपचार पाउदाँ खर्च र समय बचेको बताए ।
यस्तै वडा नं —६ का ७५ बर्षीय छविलाल देवकोटाले ईसीजी सेवा गाउँमै पाएको र यस्तै शिविर बेला बेलामा गर्नुपर्ने बताए । उनले गाउँमै उपचार सेवा समयमै रोग पत्ता लागेको र अस्पताल धाउनुपर्ने झन्झट नहुँदा धेरै सहज भएको बताए ।
निःशुल्क शिविरमा अर्जुन चौपारी सहित पुतलीबजार नगरपालिका–१३, भीरकोट–७ र पर्वतको महाशीलाका विरामीले सेवा लिएका हुन् ।
शिविरमा मुटु रोग विशेषज्ञ चन्द्र बहादुर पुनको नेतृत्वमा नौ जना विशेषज्ञ डाक्टर, १५ अन्य डाक्टर, १० जना प्राविधिक सहिटको टोली गण्डकी मेडिकल कलेज र गाउँपालिकाका २१ जना स्वास्थ्यकर्मी गरेर ५५ जनाको टोलीले सेवा दिएको हो ।





