पोखरा/गएको मंसिर २ गते पोखराको लालिगुराँस एसोसिएसन (एलजी) ले कास्कीका लागि नयाँ इतिहास बनायो । अखिल नेपाल फुटबल संघ एन्फाले हेटौंडामा आयोजना गरेको एन्फा प्रसिडेन्ट लिग २०२५ को उपाधि चुम्यो ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा फाइनल खेलमा काठमाडौँको चित्लाङलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै लालीगुराँसले उपाधि सहित नगद १० लाख रुपैयाँ प्राप्त ग¥यो । एन्फा फुटबल विकास कार्यक्रमअन्तर्गत एन्फामा आवद्ध जिल्ला लिग बाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको प्रतियोगितामा सहभागिता रहेको उक्त प्रतियोगिताको च्याम्पियनसंगै अब राष्ट्रिय लिगमा सहभागिता जनाउँदै छ ।
प्रसिडेन्ट लिगमै ५० लाख खर्च भएको एलजीका लागि अबको मुख्य चुनौती नै आर्थिक हो । सीमित स्रोत साधनबीच उपाधि नै चुमेको एलजीलाई पोखराले चिनेन् ।
गत अप्रिल २९ मा नेपाल सुपरलिग विजेता पोखरा थन्डर्सलाई पोखरा महानगरपालिकाले सम्मान ग¥यो । पोखराकै नाम जोडिएको फ्रेन्चाइ टोलीलाई सम्मान गरेको पोखरा महानगरले पोखराकै संस्थाले इतिहास रच्दासमेत वेवास्ता ग¥यो ।
एलजी एसोसिएसनका महासचिव ईश्वर बस्याल भन्छन्, ‘प्रेसिडन्ट कप खेल्ने अन्य मोफसलका सहरहरुलाई त्यहाँका स्थानीय सरकारले सम्मान पनि गरेछन् । हामीले यहाँ चिनाउन सकेनौं कि के भयो,हामीलाई महानगरपालिकाको साथ मिलेन ।’
उनका अनुसार अब राष्ट्रिय लिगका लागि टिमको खर्च करिब एक करोड रुपैयाँ खर्च लाग्नेछ । विदेशमा रहेका विभिन्न व्यक्तिहरुको सहयोगमै प्रेसिडेन्ट कप जितेको एलजीलाई अब विदेशी खेलाडीसमेत अनुबन्धन गर्नुपर्ने बाध्यता छ ।
‘अब राष्ट्रिय लिगमा सहभागिता जनाउदा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय खेलाडीहरुकोसमेत सहभागिता रहने भएकाले यो निकै स्तरीय हुनेछ,’ उनले भने, ‘यो सहभागिता केवल एउटा क्लबको यात्रा र प्रतिनिधित्वमात्र होइन, समग्र गण्डकी प्रदेशकै फुटबल संस्कृतिको प्रतिनिधित्व हो । हामीलाई अहिले आर्थिक सहयोगको खाँचो छ ।’
यस्तै क्लबका अध्यक्ष डम्मरजंग गुरुङले क्लबलाई संस्थागत सहयोगका लागि अपिल गरेका छन् । नेपाली फुटबलको विकासका लागि एन्फा, राखेप, प्रदेश सरकार र पोखरा महानगरपालिका समेत लाग्नुपर्नेमा उनको जोड छ । २०६९ सालमा स्थापित क्लबले विभिन्न बाधा–अवरोधको सामना गर्दै फुटबलसंगै सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आइरहेको छ ।
क्लबले फुटबलमा विभिन्न उपाधिसमेत जितेको छ । ‘हामीले एउटा छलाङ मार्दैछाँै । खेलाडीको आर्थिक सुरक्षा, क्लबको दिगोपन र दीर्घकालीन नीति निर्माणमा अब राज्यले समेत ध्यान दिनुपर्छ,’ अध्यक्ष गुरुङले भने, प्रदेशको गौरव, खेलाडीको भविष्य र पोखराको फुटबल विकासका लागि महानगरसँगै निजी क्षेत्रको समेत आवश्यक छ ।’





