शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१५ सय मिटर दौडमा नारायणी र सुजनलाई स्वर्ण

१५ सय मिटर दौडमा नारायणी र सुजनलाई स्वर्ण


  • ढोरपाटन संवाददाता
  • पुष १० २०८२, बिहिबार

पोखरा/पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको पहिलो दिन एथलेटिक्सतर्फ छोरेपाटन माविकी नारायणी भण्डारी र कालिका माविका सुजन नेपालीले स्वर्ण पदक जितेका छन् ।

एक हजार पाँच सय मिटरको छात्रातर्फ छारेपाटनकी भण्डारीले ५ मिनेट १४ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक हासिल गरिन् । छोरेपाटकै साधना परियारले ६ मिनेट ६ सेकेन्डलगाउँदै रजत र गौरी शंकर माविकी कविता मगरले ६ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक हासिल गरिन् ।

छात्रतर्फ नेपालीले ४ मिनेट ३० सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक हात पारेका हुन् । प्रथम, बालोदयका तेन्जोन रोका मगरले ४ मिनेट ३१ सेकेन्डमा दुरी कटाउँदै रजत हासिल गर्दा पश्चिमाञ्चल माविका रोशन पन्थले ४ मिनेट ४१ सेकेन्डमा दुरी कटाउँदै कास्य पदक जिते ।

त्यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे ।

राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर आचार्यले देश विभिन्न मुद्दामा विभाजित हुँदा पनि खेलकुदको माध्यमबाट एकजुट र एकताबद्ध बन्ने गरेको स्मरण गरे । उनले ग्रासरुटबाट खेलाडी उत्पादनको गर्नको लागि महानगरले ध्यान दिएको दावी गरे । त्यसको मुख्य थलो विद्यालय भएकोले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने उनको भनाइ थियो । यहीँबाट उत्पादन भएका विद्यार्थी जिल्ला, प्रदेश, राष्ट्रियस्तर हुँदै अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुग्ने बताउँदै त्यसैको आधार तयार गर्न यो प्रतियोगिता आयोजना गरिएको प्रष्ट पारे ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरका रुपमा रहेको पर्यटनको राजधानी सहर पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यसहित पोखरा महानगरले काम गरिरहेको बताइन् । विद्यालय तहका बालबालिकाहरूको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने भएकाले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन् ।

पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले व्यक्तिगत स्वास्थ्यमात्र नभई समाजलाई नैतिकवान्, मूल्यवान, सशक्त र एकताबद्ध बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए । उनले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई अनुशासित बनेर खेल्न आग्रह गरे ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको उनको भनाइ छ ।

उद्घाटन समारोहमा नयाँ खेलाडीमा उत्साह थप्न नेपालका नम्बर वान टेनिस खेलाडी प्रदिप खड्का सहित राष्ट्रिय महिला फुटबल खेलाडी अनिता बस्नेत र अञ्जना रानामगरको विशेष उपस्थिति रहेको थियो । बस्नेत र रानामगरसँग तस्बिर खिचाउन र अटोग्राफ लिन विद्यार्थीको भिड लागेको थियो । सो अवसरमा ४० वटा विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए । उसुको डेमोस्ट्रेसन, सांस्कृतिक नृत्य समेत उद्घाटन समारोहको आकर्षणको रुपमा रहेको थियो ।

समितिका अध्यक्ष दीपक बहादुर गोदारको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->