बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘लु’को जोखिम र प्राथमिक उपचार

‘लु’को जोखिम र प्राथमिक उपचार


  • कृष्णकुमार सैजु
  • पुष ११ २०८२, शुक्रबार

पछिल्ला केही वर्षयता नेपालमा शैक्षिक भ्रमण, घुमफिर, साहसिक यात्रा (एड्भेन्चर टुरिजम) तथा बिदा मनाउने उद्देश्यले दुर्गम तथा अग्ला हिमाली भेगहरू जस्तैः मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, खुम्बु, अपर मुस्ताङ र मुगु जाने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । सडक विस्तार, सामाजिक सञ्जालमा देखिने सुन्दर दृश्य र ‘एड्भेन्चर’ अनुभव गर्ने चाहनाले धेरैलाई यस्ता ठाउँतर्फ आकर्षित गरेको देखिन्छ ।

तर, प्राकृतिक सौन्दर्यले भरिएका यी क्षेत्रहरू स्वास्थ्यका दृष्टिले जोखिमयुक्त पनि छन् । विशेषगरी आवश्यक पूर्वतयारी र सावधानी नअपनाउँदा धेरै यात्रुहरू ‘लु’ लाग्ने (एक्युट माउण्टेन सिकनेस) समस्याबाट पीडित भएका छन् । कतिपय अवस्थामा समयमै उपचार नपाउँदा ज्यानसम्म गुमाएका दुखद घटनाहरू पनि सार्वजनिक भएका छन् । त्यसैले उच्च हिमाली भेगमा यात्रा गर्नु अघि ‘लु’ लाग्ने समस्या के हो, कसलाई बढी जोखिम हुन्छ, कसरी रोकथाम गर्ने र आपतकालीन अवस्थामा के गर्ने भन्ने विषयमा जानकार हुनु अत्यन्त आवश्यक छ ।

१. ‘लु’ लाग्नु भनेको के हो ?
‘लु’ लाग्नु भन्नाले अग्लो ठाउँमा जाँदा शरीरले त्यहाँको कम अक्सिजनयुक्त वातावरणसँग समयमै अनुकूलन गर्न नसक्दा देखिने स्वास्थ्य समस्या हो । चिकित्सकीय भाषामा यसलाई एक्युट माउण्टेन सिकनेस भनिन्छ ।

समुद्री सतहबाट माथि जाँदै जाँदा हावामा अक्सिजनको मात्रा क्रमशः घट्दै जान्छ । सामान्यतया २,५०० मिटर (८,००० फिट) भन्दा माथि पुगेपछि धेरै मानिसमा ‘लु’ लाग्ने लक्षण देखिन सक्छ । शरीरले अक्सिजनको कमी पूरा गर्न समय माग्छ, तर छिटो उक्लिँदा वा पर्याप्त विश्राम नगर्दा शरीरले अनुकूलन गर्न नसक्दा समस्या उत्पन्न हुन्छ ।

‘लु’ लाग्दा देखिने सामान्य लक्षणहरू
–लगातार टाउको दुख्नु
–वाकवाकी लाग्नु वा बान्ता हुनु
–चक्कर लाग्नु
–अत्यधिक थकान महसुस हुनु
–भोक नलाग्नु
–सास फेर्न गाह्रो हुनु
–निद्रा नलाग्नु
–मुटु छिटो–छिटो धड्किनु
गम्भीर अवस्थामा ‘लु’ लागेमा फोक्सो वा मस्तिष्कमा पानी जम्नेजस्ता जटिल समस्या देखिन सक्छ, जुन ज्यानका लागि अत्यन्त खतरनाक हुन्छ ।

२. कस्ता व्यक्तिलाई, कस्तो ठाउँमा ‘लु’ लाग्ने सम्भावना बढी हुन्छ ?
(क) जोखिममा पर्ने व्यक्तिहरू
–पहिलो पटक अग्लो हिमाली क्षेत्रमा जाने व्यक्ति
–शारीरिक रूपमा कमजोर वा दीर्घरोगी (दम, मुटु, उच्च रक्तचाप, मधुमेह आदि)
–धूम्रपान र मदिरा सेवन गर्नेहरू
–पर्याप्त पानी नपिउने व्यक्ति
–धेरै छिटो उचाइ बढाउने गर्नेहरू
–बालबालिका र वृद्धवृद्धा

(ख) जोखिमयुक्त स्थानहरू
–समुद्री सतहबाट २,५०० मिटरभन्दा माथिका क्षेत्र
–मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, खुम्बु, अपर मुस्ताङ
–एकैदिनमा धेरै उचाइ चढिने ठाउँहरू
–चिसो, हावाहुरी र अत्यधिक थकान हुने वातावरण

३. लु लाग्ने क्षेत्रमा जानु अघि गर्नुपर्ने पूर्वतयारीहरू
उच्च हिमाली क्षेत्रमा सुरक्षित यात्रा गर्न पूर्वतयारी नै सबैभन्दा ठूलो उपचार हो ।
(क) स्वास्थ्य परीक्षण
–यात्रा अघि सामान्य स्वास्थ्य जाँच गराउनु
–मुटु, फोक्सो, दम, रक्तचाप समस्या भए चिकित्सकको सल्लाह लिनु

(ख) यात्रा योजना
–एकैदिन धेरै उचाइ नचढ्ने
–प्रत्येक ३–४ दिनमा एक ‘एक्लिमाटाइजेसन डे’ राख्ने
–राती सुत्ने उचाइ बिस्तारै बढाउने

(ग) खानपान र बानी
–प्रशस्त पानी पिउने (दिनमा ३–४ लिटर)
–हल्का, पोषणयुक्त खाना खाने
–मदिरा र धूम्रपान पूर्ण रूपमा त्याग्ने

(घ) मानसिक र शारीरिक तयारी
–शरीरलाई बिस्तारै हिँड्ने बानी बसाल्ने
–अत्यधिक दौडधुप नगर्ने
–चिसोबाट जोगिने लुगा व्यवस्था गर्ने

४. सम्भावित ‘लु’ लाग्ने क्षेत्रमा जाँदा बोक्नुपर्ने औषधि र उपकरण
उच्च हिमाली क्षेत्रमा स्वास्थ्य संस्था टाढा हुने भएकाले प्राथमिक उपचार सामग्री अत्यन्त आवश्यक हुन्छ ।
(क) औषधिहरू
लु लाग्ने जोखिम कम गर्न : एक्टाजोलामाइड
–टाउको दुखाइका लागि पेनकिलर : प्यारासिटामोल
–बान्ता रोक्ने औषधि
–ORS (जलीय पदार्थको सन्तुलनका लागि : ओआरएस
–चिसो, ज्वरो र रुघाखोकीका औषधि

(ख) उपकरणहरू

–बोक्न मिल्ने सानो अक्सिजन सिडिल्डर
पल्स अक्सीमिटर
थर्मस फ्लास्क
–प्राथमिक उपचार बाकस
–आपतकालीन सम्पर्क नम्बरहरू

५. ‘लु’ लागेमा तत्काल गर्न सकिने प्राथमिक उपचार
यदि ‘लु’ लागेको शंका लागेमा ढिला नगरी तलका उपाय अपनाउनु आवश्यक हुन्छ ।
–तुरुन्तै उचाइ नबढाउने
–सम्भव भए तलको उचाइमा झार्ने
–बिरामीलाई आराम गराउने
–प्रशस्त न्यानो पानी वा झोल पदार्थ खुवाउने
–अक्सिजन उपलब्ध भए प्रयोग गराउने
–लक्षण गम्भीर भएमा तुरुन्त उद्धारको व्यवस्था गर्ने

६ ? सीपीआर भनेको के हो ?
सीपीआर भनेको मुटु र सास दुवै बन्द भएको अवस्थामा जीवन बचाउन गरिने आपतकालीन प्राथमिक उपचार हो । ‘लु’ लागेर गम्भीर अवस्थामा पुगेका बिरामीमा सास वा मुटुको धड्कन बन्द हुन सक्छ, यस्तो बेला जीवनरक्षक हुन सक्छ ।

७. ‘लु’ लागेको बिरामीलाई सीपीआर कसरी दिने ?
चरणहरूः
–बिरामीलाई समथर ठाउँमा सिधा सुताउने
–सास चलेको छ कि छैन जाँच्ने
–मुटु नधड्किएको देखिएमा
–छातीको बीच भागमा हात राखी
–प्रति मिनेट १००–१२० पटक थिच्ने
–सम्भव भए मुख–मुख सास दिने
–मेडिकल सहयोग नआएसम्म निरन्तर सीपीआ जारी राख्ने

उच्च हिमाली भेगको यात्रा रमाइलो र जीवनमा अविस्मरणीय अनुभव दिन सक्छ, तर आवश्यक ज्ञान र सावधानी नअपनाएमा यही यात्रा ज्यानकै जोखिम बन्न सक्छ । ‘लु’ लाग्ने समस्या सामान्य ठानेर बेवास्ता गर्नु घातक हुन सक्छ । त्यसैले यात्रा अघि पर्याप्त पूर्वतयारी, सही जानकारी, औषधि र प्राथमिक उपचारको ज्ञान अनिवार्य रूपमा लिनुपर्छ । सचेत यात्रा नै सुरक्षित यात्रा हो । हिमाल हेर्न जाँदा जीवन जोगाउने तयारी पनि सँगै लैजानु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->