पोखरा/२२ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पुरुष एकलतर्फको उपाधि करण बहादुर थापाले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयुषमान हजुर घलेलाई २–१ को सेटमा हराउँदै करणले उपाधि चुमेका हुन् । उनले पहिलो सेट ६–० ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेट ४–६ ले गुमाएको करणले तेस्रो सेटमा पुनः खेलमा फर्कदै ६–३ को जित हासिल गरेका हुन् । उनले ८० हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरे । उपविजेता बनेका आयुषमानले ४० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
त्यसैगरि ३५ वर्ष माथिको पुरुष एकलको उपाधि जितेन्द्र परियारले जिते । फाइनलमा सन्तोष खत्रीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै उनले सो उपाधि आफ्नो नाम गराएका हुन् । जितसंगै जितेन्द्रले नगद ६० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे भने, दोश्रो स्थान हासिल गरेका सन्तोषले ३० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले एक समारोहका बिच पुरस्कार प्रदान गरे । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहका विच नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखरेली उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिलाउने सहमति पत्रमा हस्ताक्षर समेत गरिएको थियो । आयोजक समितिका प्रथम उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।





