बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सत्यको खोजी गरौं

सत्यको खोजी गरौं

शक्तिमा भएकाहरुको विरोध गर्न र स्वतन्त्र आवाज मुखरित गर्नको लागि सामाजिक सञ्जालको प्रयोग त भएको छ तर त्योभन्दा बढी यसको दुरुपयोग भएको छ । यो तथ्यप्रति बेलैमा सचेत हुनुपर्ने देखिएको छ ।


  • Dhorpatan News
  • पुष ३० २०८२, बुधबार

बूढापाका भन्थे, ‘कागले कान लग्यो भनेर कागको पछि नदौड, कान छाम ।’ यो वाक्यमा ठूलो दर्शन लुकेको छ । मिथ्या र तथ्यको फरक सुन्नु र देख्नुले मात्रै हैन कि, हेर्ने दृष्टिकोणले निर्धारण गर्छ । एउटै घटना वा बस्तुलाई कसरी हेर्ने दृष्टिकोण व्यक्तिपिच्छे फरक हुन्छ । दृष्टिकोण निर्माणको लागि स्वविवेक प्रयोग गरिनुपर्छ । स्वविवेकको लागि स्वअध्ययन जरुरी हुन्छ । वादको लगाममा बाँधिएका, आफन्तको मोहमा लहसिएका र गुदी हैन बोक्रो हेरेरै विचार बनाउनेहरुबाट स्वविकेक प्रयोग हुन्छ भन्ने कल्पना गर्न सकिँदैन । पछिल्लो समयमा अध्ययनको दायरा खुम्चिएको छ । परेर वा पढेर जानिन्छ भन्ने मान्यताबाट मान्छेहरु च्यूत हुँदै गएका छन् । अर्कोतर्फ सूचना प्रविधिसँग आममान्छेको सोझो पहुँच र सामाजिक सञ्जालको विकासले मान्छेलाई ‘हाइटेक’ बनाएको छ । सही सूचना केलाउने सामथ्र्य भएकाहरुको हकमा प्रविधिसम्मको पहुँचले अवसर सिर्जना गरेको छ तर सजिलो माध्यम प्रयोग गर्दै भड्काउ÷कपट र गलत सूचना संप्रेषण गर्ने लहर पनि उत्तिकै चलेको छ । यो मामिलामा राज्य, संगठित गिरोह एवं व्यक्तिहरु लागिरहेको विभिन्न अध्ययनहरुले प्रमाणित गरिसकेका छन् । सूचना प्रविधिको प्रयोगबाट भइरहेका अपराधको कुरालाई पर छाड्दा पनि सामाजिक सञ्जालहरु अभिव्यक्तिको स्वतन्त्रता माध्यममा मात्र सीमित नरहेर बहकाउपूर्ण अभिव्यक्तिहरु सार्वजनिक गर्ने, भ्रम छर्ने र तथ्यलाई तोडमोड गर्ने काममा पनि प्रयोग भइरहेका छन्÷हुने खतरा बढ्दो छ ।

यो तथ्यलाई आम नागरिकसहित कथित बौद्धिकहरुले पनि बुझेका छ्रैनन् । बौद्धिक भनाउँदाहरु पनि सधैं स्वतन्त्र हुन्छन् र सत्यको पक्षमा रहन्छन् भन्ने हुँदैन । उनीहरुबाटै पनि शक्तिकेन्द्रको पक्षपोषण भइरहेको छ । उनीहरुले सामाजिक सञ्जालमा अभिव्यक्त वा प्रसारित सामग्रीबाटै विचारको निर्माण गरिरहेका छन्÷अभिव्यक्त गरिहेका छन् । अर्को कोणबाट हेर्दा, आजकल विचार निर्माणकोको प्रक्रिया नै बदलिएको छ । सामाजिक सञ्जालमार्फत् विचारको निर्माण÷विनिर्माण हुन थालेको छ । आलोचनात्मक चेतसहितका असहमतिहरुबाटै चेतनाको झिल्को बल्छ । तर, सामाजिक सञ्जालहरुले ती आवाजहरुलाई लगाम लगाउने प्रपञ्च पनि भइरहेको छ । सामाजिक सञ्जालमा अभिव्यक्त वा प्रसारित विचारको बहकाउमा लागियो भने अह्मको हत्या हुन्छ, आफ्नोपन गुम्छ अनि मान्छे स्वयंमा खोक्रो माइक बन्नपुग्छ । यो तथ्यलाई सामाजिक सञ्जालको बोलबाला रहेको अहिलेको संसारले बिर्सिएको छ । बौद्धिक भनाउँदादेखि नेता र कार्यकर्ताहरु सामाजिक सञ्जाललाई नै बुद्धिविलास गर्ने थलो बनाउन उद्यत देखिन्छन् । शक्तिमा भएकाहरुको विरोध गर्न र स्वतन्त्र आवाज मुखरित गर्नको लागि सामाजिक सञ्जालको प्रयोग त भएको छ तर त्योभन्दा बढी यसको दुरुपयोग भएको छ । यो तथ्यप्रति बेलैमा सचेत हुनुपर्ने देखिएको छ । तटस्थस्ता र सत्यता खोज्नको लागि÷विचारको निर्माण÷विनिर्माण गर्नका लागि सत्य अनि भ्रमबीचको फरक छुट्याउने वातावरण निर्माण हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->